वेबटिभी खबर
दाङ । तुलसीपुर बजारका सडकमा दाँया-बाँया राखिएका बत्ती बल्न छोडेको तीन वर्ष पुग्नै लाग्यो । २०७३ सालमा सडक बत्ती जडान गर्ने सम्झौता भएपछि २०७४ सालतिर जडान भए ।
यसपछि ती सौर्य सडक बत्तीको टिकाउ भनेको एक वर्ष भयो, भने केही बत्ती बढीमा डेढ वर्ष टिके । यसपछि सबै सडक बत्ती बल्न छोडे । रातिमा बल्नुपर्ने बत्ती बल्न छाडेपछि पैदलयात्रु , व्यवसायीलाई समस्या हुने गरेको छ ।
‘सडक बत्ती नाम मात्रैका भए, बल्न छोडेको धेरै वर्ष भयो’, तुलसीपुरका सुनचाँदी व्यवसायी तुलसीराम सुनारले भने, ‘हाम्रा पसलमा सीसी क्यामेरा त छन्, तर बत्ती नै नभएपछि त्यो पनि देखिन समस्या हुने गरेको छ ।’
तुलसीपुरका विभिन्न ठाउँका पसलमा चोरी भएपनि चोरी गर्ने व्यक्तिलाई पत्ता लगाउन निकै समस्या हुने गरेको जनाइएको छ । सडक बत्ती नबल्दा सीसी क्यामेराले अनुहार चिन्न गाह्रो हुने गरेको व्यापीहरू बताउछन् ।
बत्ती बल्न छोडेको लामो समय भइसक्दा पनि मर्मतका लागि कुनै पहल भएको देखिँदैन । अहिले सौर्य सडक बत्ती बल्न छोडेपछि सम्बन्धित टोल विकास संस्था र स्थानीयको सहकार्यमा बत्ती जडान गरेर बाल्ने गरेका छन् ।
सौर्य बत्तीमा अन्य बत्ती जडान गरेर काम चलाउने गरेको तुलसीपुर-५ स्थित प्रतिभा टोल विकास संस्थाका अध्यक्ष प्रेम योगीले बताए । ‘हाम्रो टोलमा १५ वटा यस्ता बत्ती जडान गरिएको हो । ती एक वर्षसम्म मात्रै बले’, उनले भने ।
‘खासमा पाँच वर्ष ग्यारेन्टी भनेर हामीलाई भने पनि सबैको मिलाएर पाँच वर्ष रहेछ, ब्याट्री त दुई वर्षको मात्रै रहेछ, यो कुरा पछि ब्याट्री बिग्रिएपछि आएका इन्जिनियरले भनेपछि मात्रै हामीले थाहा पायौं ।’
यी बत्ती मर्मत गरिदिने भनी पटक/पटक आश्वासन दिने गरेपनि मर्मत गर्न कसैले ध्यान नदिएको उनको गुनासो छ । अहिले कसैले चासो नदिएपछि आफैंले बत्ती राखेर सडकमा बत्ती बाल्ने गरेको उनले बताए । बजारमा मात्रै होइन, अन्य स्थानमा पनि सौर्य बत्ती जडान गरिएको थियो ।
तुलसीपुर-१९ छिल्लीकोटको मालिका मन्दिरमा पनि बत्ती जडान गरिएको थियो तर, त्यो बत्ती पनि बिग्रिएको लामो समय भएको स्थानीय अगुवा प्रविर पुनले बताए । ‘हामीले पटक-पटक जानकारी गरायौं’, उनले भने, ‘तर, त्यो बत्ती बिग्रिएको लामो समय कसैले पनि चासो देखाएनन् ।’
तुलसीपुरका विभिन्न स्थानमा १२५ सौर्य बत्ती जडान गरिएको छ । तीन चरणमा बत्ती जडान गरिएको थियो । पहिलो चरणमा ३५ बत्ती जडान गर्दा ती बत्तीमा ३६ लाख ३६ हजार लगानी लागेको थियो । त्यस्तै दोस्रो चरणमा ७० लाख बजेट र १० प्रतिशत स्थानीयको सहभागितामा सडक बत्ती जडान गरिएको हो ।
साथै, तेस्रो चरणमा विभिन्न सार्वजनिकस्थल, बाटो, टोल, शवदाहगृह लगायतका स्थानमा बत्ती जडान गरिएको इन्जिनियर पवनकुमार योगीले बताए । ‘हामीले तीन चरणमा सडक बत्ती जडान गरेका हौं, यहाँ विभिन्न ठाउँमा १२५ वटा सडकबत्ती जडान गरिएको छ’, उनले भने, ‘तर अहिले केही स्थानमा बत्ती जडान गरिएको छ ।’
उनका अनुसार ब्याट्रीको पाँच वर्ष, प्यानलको १५ वर्ष ग्यारेन्टी रहेको छ । प्यानलमा धुलो लाग्दा बत्ती नबल्ने समस्या रहने उनको भनाइ छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij