वेबटिभी खबर
बाँके । अहिले बाघ देखिने मौसम रहेकाले बर्दिया राष्ट्रिय निकुञ्ज घुम्न आउने पर्यटकको संख्या बढ्दै गएको छ । यो मौसममा निकुञ्ज घुम्दा बाघ देखिने सम्भावना बढी हुने भएपछि बाघ हेर्न आउने पर्यटनको संख्या बढेको हो ।
विदेशी पाहुनाले निकुञ्ज घुम्ने क्रममा बाघ देखेर फर्केका कारण खुसी देखिएको नेचर गाइड अनुराम चौधरीले बताए । ‘यो मौसममा प्रायः पर्यटकको जंगली जनावर हेर्ने इच्छा पूरा हुन्छ’, चौधरीले भने ।
बाघकै कारण पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा बर्दिया राष्ट्रिय निकुञ्ज परेको छ । निकुञ्जको मुख्य क्षेत्रमा घुम्ने तथा जंगल हिँड्ने पर्यटकको संख्यामा वृद्धि भएको बर्दिया राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत विष्णुप्रसाद श्रेष्ठले बताए ।
‘चालू आर्थिक वर्षको हालसम्म ९ हजार बढी पर्यटकले निकुञ्ज घुमिसकेका छन्’, प्रमुख संरक्षण अधिकृत श्रेष्ठले भने, ‘जसमध्ये सात देशका पर्यटकले निकुञ्ज घुमेका छन् ।’ यहाँ आन्तरिक पर्यटकको संख्या पनि बढेको छ ।
कोभिड-१९ महामारीका कारण गत आर्थिक वर्षमा ८ हजार पर्यटकले निकुञ्ज घुमेका थिए । चालू आवको चैत महिनासम्म १० हजारभन्दा बढी पर्यटकले निकुञ्ज घुमेका छन् । ‘यो संख्या हाम्रा लागि सुखद रहेको छ’, प्रमुख संरक्षण अधिकृतले भने, ‘अहिले बाघ देखिने मौसम भएकाले पर्यटकको संख्या बढ्ने विश्वास छ ।’
निकुञ्जमा पाटे बाघ, एक सिंगे गैंडा, चितुवा, घोडगधा, जरायो, चित्तल, लगुना, बाह्रसिङ्गा र जंगली हात्ती लगायत ५६ प्रजातिका स्तनधारी वन्यजन्तु यसनिकुञ्जमा पाइन्छन् । जलचरहरूमा घडियाल गोही, मगर गोही, सोंस र विभिन्न किसिमका माछा पाइन्छन् ।
यस निकुञ्जमा हालसम्म ४३८ थरी रैथाने र बसाई सरी आउने चराहरूको अभिलेख गरिएको छ । पर्यटनको प्रचुर सम्भावना रहेको यस निकुञ्जमा वर्षेनी पर्यटकको संस्था बढिरहेको छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij