वेबटिभी खबर
काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) अन्तर्गतको राष्ट्रिय खेलाडी कल्याणकारी कोषले स्वास्थ्य उपचार गराइ रहेका विभिन्न पाँच खेलका ६ खेलाडीलाई आर्थिक सहयोग प्रदान गरेको छ । ६ खेलाडीलाई पाँच लाख ५६ हजार ८४३ रूपैयाँ हस्तान्तरण गरिएको हो ।
नेपाललाई पहिलो अन्तर्राष्ट्रिय पदक जिताएका एथलेटिक्सका जितबहादुर केसी र करातेका विष्णु नेपालीलाई समान एक लाख २५ हजार रूपैयाँ सहयाेग प्रदान गरिएकाे छ । यस्तै भलिबल खेलाडी रिया कुँवरलाई ६३ हजार ९२९, आईटीएफ तेक्वान्दोका दीपक गौतमलाई ८७ हजार ९१४, कराँतेक खेलाडी कोपिला विष्टलाई ७५ हजार र ब्याडमिन्टनक खेलाडी सीमा राजवंशीलाई ८० हजार रूपैयाँ प्रदान गरिएकाे छ ।
केसीलाई हातमा चोट, विष्णुलाई पक्षघात, रिया, सीमा र कोपिलालाई घुँडामा चोट तथा दीपकलाई काँधको समस्या छ । कोषका अध्यष समेत रहेका राखेपका सदस्य-सचिव टंकलाल घिसिङले खेलाडीलाई उक्त रकम बराबरको चेक हस्तान्तरण गरेका हुन् ।
कोषका सदस्य-सचिव समेत रहेका नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका अध्यक्ष दीपक श्रेष्ठलगायतका पदाधिकारीको उपस्थितिमा सहयोग वितरण गरिएको थियो । सदस्य-सचिव घिसिङले सानो सहयोगले पनि ठूलो अर्थ राख्ने बताउँदै कोषको आयतन बढाउनु पर्नेमा जोड दिए ।
उनले भने,‘सानो सहयोगले पनि ठूलो अर्थ राख्छ । राष्ट्रको प्रतिष्ठा र गौरव बढाउने खेलाडीको सहयोगका लागि अन्य निकायको पनि सहयोग खाँचो छ ।’
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij