वेबटिभी खबर
हेटौंडा । मकवानपुरको भीमफेदी-कुलेखानी सडकखण्डमा पर्ने सिस्नेरी–दक्षिणकाली–काठमाडौं जोड्ने सडक आज बिहानैदेखि काठमाडौं–हेटौंडातर्फको यातायात सञ्चालनमा रोक लगाइएको वाग्मती प्रदेश यातायात पूर्वाधार निर्देशनालयले हेटौंडाले जनाएको छ ।
भीमफेदी-कुलेखानी हुँदै काठमाडौं जाने यातायत अवरुद्ध हुँदा आज बिहानैदेखि त्रिभुवन राजपथबाट हेटौंडा-काठमाडौंतर्फको हलुका यातायात सेवा सञ्चालनमा ल्याइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक जयश्वर रिमालले जानकारी दिए ।
उनले निजी कार, जिप र मोटरसाइकललाई मात्र कान्तिराजपथ हुँदै काठमाडौंतर्फ जाने रुटलाई अनुमति दिइएको र आज बिहानैदेखि ती क्षेत्रबाट सामान्य यातायात काठमाडौंतर्फ प्रस्थान गरेको उल्लेख गरे ।
मदन भण्डारी राजमार्गअन्तर्गत रहेको सिस्नेरी सडकखण्डको काठमाडौंको छैमलेबाट मकवानपुरको हेबीसम्म निर्माणाधीन सडकमा अहिले कालोपत्र गर्नुपरेका कारण काठमाडौं-हेटौंडातर्फ दैनिक यातायात सेवालाई आजदेखि आगामी जेठ २५ गतेसम्म सञ्चालनमा रोक लगाइएको वाग्मती प्रदेश यातायात पूर्वाधार निर्देशनालयका प्रमुख डा सहदेव भण्डारीले बताए ।
उनका अनुसार भीमफेदी–कुलेखानी सडकखण्डको फाखेल सडकको ढल निर्माण, सडकमा कालोपत्र गर्ने क्रममा केही हप्ताअघिदेखि फाखेल सडकखण्डबाट काठमाडौंतर्फको यातायात सेवालाई एक महिनासम्मका लागि रोक लगाइएको थियो ।
वाग्मती प्रदेश, भौतिक पूर्वाधार तथा विकास मन्त्रालयले भीमफेदीबाट चिसापानीगढी र हेबीसम्मको सडक विस्तार र कालोपत्र गर्न दुई चरणमा गरी रु ३४ करोड रकम विनियोजित गरिएको सो मन्त्रालयका प्रशासकीय अधिकृत हरिप्रसाद उप्रेतीले बताएका छन् ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij