Logo

२०८१, बैशाख ७ गते शुक्रवार

२०८१, बैशाख ७ गते शुक्रवार

नयाँ मतदाताको आकर्षण र गठबन्धनभित्रको किचलोले एमालेको जित सुनिश्चित : युवराज ज्ञवाली [अन्तर्वार्ता]

नयाँ मतदाताको आकर्षण र गठबन्धनभित्रको किचलोले एमालेको जित सुनिश्चित : युवराज ज्ञवाली [अन्तर्वार्ता]

  • 551
    SHARES
  • नयाँ मतदाताको आकर्षण र गठबन्धनभित्रको किचलोले एमालेको जित सुनिश्चित : युवराज ज्ञवाली [अन्तर्वार्ता]

    काठमाडौं । देश संघीय प्रणालीमा गएपछिको दोस्रो स्थानीय तह निर्वाचन यही वैशाख ३० गते हुँदै छ । निर्वाचनमा अघिल्लो पटक पहिलो दल बनेको नेकपा एमालेविरूद्ध कांग्रेस नेतृत्वको सत्तागठबन्धनमा रहेका पाँच दलले स्थानीय निर्वाचनमा पनि चुनावी तालमेल गर्ने निर्णय गरिसकेका छन् ।

    images

    कांग्रेससहितका पाँच दलले केन्द्रबाट स्थानीय औचित्य र आवश्यकताको आधारमा चुनावी तालमेल गर्ने अधिकार स्थानीय तहलाई दिएपछि केही पालिकामा चुनावी तालमेल भएको छ भने कही स्थानमा त्यो सम्भव देखिएन ।

    स्थानीय निर्वाचनका लागि केही साना दलहरूसँग चुनावी तालमेल गरेका नेकपा एमालले गठबन्धनलाई पराजित गर्ने दाबी गर्दै आएको छ । एमालले जित्ने आधारहरूमा ५० देखि ६० प्रतिशत नयाँ मतदाता एमाले अध्यक्ष केपी शर्मा ओलीका कारण एमालेप्रति आकर्षित भएको, गठबन्धनको नेतृत्वदायी दल कांग्रेसमा बागीको बिगबिगी भएको र गठबन्धन दलहरूबीच अन्तरविरोध कायमै रहेका विषयलाई जित्ने आधारको रूपमा लिने गरेको छ ।

    सत्ता गठबन्धन दलमा माथि उल्लेखित समस्या र विवादले एमालेलाई निर्वाचन जित्न सहज हुने एमालेका उपाध्यक्ष युवराज ज्ञवालीकाे तर्क छ ।

    स्थानीय तह निर्वाचनमा एमालेले जित्न सक्ने सम्भावना भएका स्थानीय तहको संख्या, जित्ने आधार, १० बुँदे सहमतिपछि पार्टीमा जोडिएका नेताहरूको स्थानीय निर्वाचनमा उपेक्षालगायत विषयमा केन्द्रित रहेर उनै उपाध्यक्ष ज्ञावालीसँग गरिएको कुराकानीको अंश :-

    नेकपा एमालेविरूद्ध पाँच दलीय गठबन्धन खडा छ । कति स्थानीय तहमा जित्ने अपेक्षा राख्नु भएको छ ?

    एमाले विभाजित भए पनि देशको सबैभन्दा ठूलो दल हो । संसद्को ठूलो दल हो । धेरै प्रदेशमा एमाले ठूलो दल छ । स्थानीय तहमा पनि ठूलो दल एमाले नै हो । एमालेबाट अगल भएर नेता माधवकुमार नेपालले भिन्नै पार्टी बनाए पनि पूर्वमाओवादीबाट वडादेखि केन्द्रसम्मै महत्वपूर्ण पंक्ति एमालेमा समाहित भएको छ ।

    कार्यकर्ता र मतदाताको पनि ठूलो पंक्ति एमालेमा थपिएको छ । यही बीचमा मेची–महाकालीसम्मै एमाले प्रवेशको लहर पनि चल्यो । अझै पनि त्यो जारी छ । महत्वपूर्ण नेता, ठूलो संख्यामा कार्यकर्ता र मतदाताको ओइरो लागेको छ ।

    समग्रमा एमालेको जनमत बलियो छ । निर्वाचनको प्रचारमा जाँदा र मेची-महाकाली निर्वाचनमा अभियानमा खटिएका साथीहरूको रिपोर्ट सुन्दा उत्साहपूर्ण वातावरण रहेका छ । पाँच दलीय गठबन्धनभित्र नै अन्तरविरोध चर्केकाले चुनावमा हामीलाई नै फाइदा हुन्छ ।

    कांग्रेसमा बागीको बिगबिगी छ । गठबन्धनमा व्यापक असन्तुष्टि छ । ठिक उल्टो एमालेमा यसपटक गुटबन्दी छैन । पार्टी ‘हाई कमाण्ड’को निर्णय मान्ने बफादार र इमान्दार नेता कार्यकर्ता छन् । अन्तर्घात गर्ने र असन्तुष्ट हुने पक्ष नै छैन एमालेमा । यसलाई गठबन्धन पराजित गर्ने एमालेको राजनीतिक क्षमताको रूपमा बुझिनुपर्छ ।

    कति स्थानीय तहमा एमालेले जित्छ ?

    यति नै पालिका जित्न सकिएला भन्ने ठ्याक्कै विश्लेषण हाम्रो छैन । तर, स्थानीय तहमा हाम्रो बहुमत आउने सुनिश्चित छ । त्यो बहुमत कति अंकले बढी हुन्छ भन्ने एउटा कुरा हो । अहिले जति नयाँ मतदाता थपिएका छन् । त्यो मतदाता कता जान्छ भनेर हामीले सर्वेक्षण गरेका पनि छौं ।

    सर्वेक्षण गर्दा नयाँ मतदाता कता बढी जाने पाउनुभयो ?

    निर्वाचनमा पुराना मतदाता त प्रायः दलका स्थायी मतदाता भइसकेका हुन्छन् । नयाँ मतदाताको आकर्षण कता छ ? भनेर आमसभा, खुला सभादेखि, भेला र स–साना कार्यक्रम गरेर सर्वेक्षण गर्दा एमालेमा आकर्षण देखियो ।

    उनीहरूमा देशको विकास नेकपा एमालेले गर्छ भन्ने बुझाइ पायौं । पाँच दलीय गठबन्धनप्रति आकर्षण देखिँदैन । नयाँ मतदाताको आकर्षण नेपाली कांग्रेसको मुख्य नेता शेरबहादुर देउवाप्रति नभएर एमाले अध्यक्ष केपी शर्मा ओलीप्रति छ । हामीले थपिएका नयाँ मतदातामा ५० देखि ६० प्रतिशत एमालेमा आए भन्ने विश्लेषण गरेका छौं ।

    नयाँ मतदाता थपिएको आधारमा बहुमत ल्याउँछौँ भन्नु विश्वासयोग्य तर्क हो र ?

    कांग्रेस दोस्रो दल भएपनि एमालेकोभन्दा जनमत धेरै कम छ । अन्य दलको त त्यति पनि जनमत छैन । अहिले पाँच दलीय गठबन्धनबाट प्रधानमन्त्री हुनुभएको देउवाजी, रामचन्द्रजी, प्रचण्डजीलगायत नेताहरू नै भन्दै हुनुहुन्छ कि एमालेलाई एक्लाएक्लै जित्न सकिँदैन । यो मैले बोलेको कुरा होइन । त्यही भएर गठबन्धन बनाउनु परेको भनिरहनु भएको छ । यसले एमाले ठूलो छ, बलियो छ, एक्लै जित्न सकिदैँन भन्ने पुष्टि गर्छ ।

    एमाले ठूलो दल हुँदा गैरसंवैधानिक ढंगले संसद् विघटन गर्दो रहेछ भन्ने आरोप छ नि एमालेलाई ?

    यतिबेला देशवासी अग्रगमन चाहन्छन् । प्रगति चाहन्छन् । विकास चाहन्छन् । अग्रगमन भन्नाले आमूल परिवर्तन हो । त्यो भनेको समाजवाद हो । समाजको आर्थिक–सामाजिक–सांस्कृतिक क्षेत्रमा नेपाली जनता परिवर्तन चाहन्छन् । यद्यपि, राजनीतिक रूपमा ठूलो परिवर्तन भयो । क्रान्ति भयो ।

    त्यो राजनीतिक क्रान्ति भए पनि आर्थिक–राजनीतिक–सांस्कृतिक क्रान्ति हुन बाँकी छ । त्यसो भएको हुनाले लोकतान्त्रिक प्रणालीको आधारमा यो परिवर्तन गर्न चाहन्छौँ । जनताबाट अभिमत ल्याएर परिवर्तन सम्भव छ ।

    समाजलाई समाजवादमा पुर्याउन चाहन्छौँ । जतिबेला सामाजिक न्यायसहितको समाज र समतामूलक समाज निर्माण हुन्छ । समुन्नति र समृद्धि पनिसँगसँगै हुन्छ । यसका लागि एमाले ठूलो दल बन्नुपर्छ ।

    तर हामी पहिले सरकारमा छँदा आन्तरिक द्वन्द्व व्यस्थापन गर्न सकेनौं । त्यसकै कारणले अन्ततः संसद् विघटनको स्थिति निम्तियो । यद्यपि नयाँ जनादेशका लागि जनतामा जाने कुरा प्रतिगमन होइन ।
    त्यसबेला आन्तरिक द्वन्द्वले सरकार संकटमा पर्ने स्थिति थियो । त्यसलाई फेरि नकोट्याउँ । कति कोट्याउने । जहिल्यै कोट्याएर एमालेलाई प्रतिगामी भनिरहने ? संसद् पुनःस्थापना भइ सकेन र ?

    १० बुँदे सहमति गरेर पार्टी एकता प्रक्रियामा जोडिएका तपाईंलगायत नेताहरू स्थानीय तह निर्वाचनको बेला टिकट वितरण प्रक्रियामा छेउ लाग्नु भएको हो ?

    हामीले उम्मेदवारका लागि पार्टीको तल्ला कमिटीबाट नाम मागेका थियौं । न्युनतम एक महिलासहित तीन जनाको नाम माग्यौँ । सोहीअनुसार वडा, पालिका र जिल्ला कमिटीबाट नाम आयो । त्यसमै टेकेर उम्मेदवार छनोट भएको हो ।

    दाङको सन्दर्भमा तुलसीपुरको मेयरमा टीकाराम खड्का उम्मेदवार हुनुभएको छ । जो हिजो १० बुँदे सहमति गरेर आउने मध्येका एक नेता हुनुहुन्छ । अन्य ठाउँमा पनि १० बुँदेपछि पार्टी एकता प्रक्रियामा जोडिएका नेताहरू उम्मेवदार भएका छन् । यस आधारमा तपाईंले भन्नु भएको कुरा गलत हो ।

    ६ महानगरपालिकामध्ये एमालेको स्थिति कहाँ कस्तो छ ?

    सबै महानगरपालिकामा नेकपा एमालेको जित हुन्छ । यसकापछि केही आधार छन् । जस्तै, भरतपुर महानगरपालिकामा अघिल्लो पटक हाम्रो उम्मेदवार झिनो मतान्तरले पराजित हुनुभएको थियो । यसपटक हाम्रो जित निश्चित जस्तै देखिन्छ ।

    जगन्नाथ पौडेलजी स्वतन्त्र उम्मेदवार हुनुभएको छ । उहाँले गठबन्धनको भोट धेरै काट्न सक्नुहुन्छ । उहाँले भोट काट्नेबित्तिकै हाम्रो जित हुन्छ । काठमाडौंमा केशव स्थापितजीको प्रतिस्पर्धी नै नभए जस्तो देखिन्छ । स्थापितजी काठमाडौं सहर व्यवस्थित र विकसित बनाउने राम्रो ‘भिजन’ भएको नेता हो ।

    माइतीघर क्षेत्रदेखि काठमाडौंका साँघुरा सडक विस्तार गर्ने नेता हुनुहुन्छ । उहाँ २०५४ सालमै परीक्षण भएको नेता हुनुुहुन्छ । उहाँ धेरै बलियो प्रतिस्पर्धी हो । पोखराको कृष्ण थापाजी पनि यसअघि नै पोखराबासीबाट परीक्षण भइसक्नु भएको छ ।

    त्यहाँ २०७४ सालको निर्वाचनमा हाम्रो मतान्तर नै १४ हजार बढी थियो । ललितपुर, विराटनगर र वीरगञ्ज पनि हामीले निर्वाचन जित्न मुस्किल छैन । त्यहाँ पनि हाम्रो जित सुनिश्चित छ ।

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology