Logo

२०८३, कार्तिक २५ गते मंगलवार

२०८३, कार्तिक २५ गते मंगलवार

पर्यटन प्रवर्द्धन गर्न हाइटेकदेखि अन्तर्राष्ट्रिय सम्मेलनसम्म

पर्यटन प्रवर्द्धन गर्न हाइटेकदेखि अन्तर्राष्ट्रिय सम्मेलनसम्म

  • 457
    SHARES
  • पर्यटन प्रवर्द्धन गर्न हाइटेकदेखि अन्तर्राष्ट्रिय सम्मेलनसम्म

    काठमाडौं । कोरोना माहामारीका कारण संकटमा परेको नेपालको पर्यटन क्षेत्रलाई पुनः जागृत गराउन आगामी आर्थिक वर्षको बजेटमा प्रवर्द्धनका लागि मात्रै थप १९ करोड ६० लाख बराबरको बजेट व्यवस्था गर्न सिफारिस गरिएको छ ।

    राष्ट्रिय तथा अन्तर्राष्ट्रियरूपमा नेपालको पर्यटन प्रवर्द्धन, प्रचारप्रसार र नेपाल खुला छ, भन्ने सन्देश प्रवाहका लागि थप बजेटको माग गरिएको राष्ट्रिय पर्यटन पुनरुत्थान समितिले जनाएको छ ।

    संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम ओलेको अध्यक्षतामा गठन भएको सो समिति मातहतको प्राविधिक समितिले सम्वद्व सरोकारवालासँगको  छलफलका आधारमा कठिन समयमा नेपालको प्रचारप्रसार गरेर बढी भन्दा बढी पर्यटक भित्र्याउनुपर्ने सुझाव दिएको छ ।

    प्राविधिक समितिका संयोजक राजाराम गिरीका अनुसार परम्परागत तवरले भन्दा पनि सिर्जनात्मक ढंगले प्रचार गर्नुपर्नेमा जोड दिइएका छन् । सोही लक्ष्य हासिल गर्न आगामी सेप्टेम्बरमा अन्तर्राष्ट्रिय पर्यटन शिखर सम्मेलन आयोजना गरिएको छ ।

    सम्मेलनमा २० भन्दा बढी देशका उच्चस्तरीय प्रतिनिधिमण्डललाई सहभागी गराउने तयारी रहेको छ । त्यसमा नेपालमा सबैभन्दा बढी पर्यटक आउने देशका पर्यटनमन्त्रीलाई आमन्त्रण गरिनेछ । दक्षिण एशियाली मुलुकका पर्यटनमन्त्री तथा पर्यटन क्षेत्रमा काम गरिरहेका विज्ञ तथा जानकारलाई सम्मेलनमा सहभागिताका लागि आमन्त्रण गरिनेछ ।

     नेपाललाई माया गर्ने अन्तर्राष्ट्रिय पर्वतारोही, पदयात्री तथा नेपालको पर्यटनका क्षेत्रमा योगदान पुर्‍याएका व्यक्तित्वलाई सम्मेलनमा सहभागी गराई, उनीहरूको सुझाव तथा सल्लाह लिन लागिएको संयोजक गिरीको भनाइ छ ।

    सम्मेलनले विश्वव्यापी रूपमा नेपाल खुल्ला छ, पर्यटनमैत्री छ, ‘आउनुस, नेपालको भ्रमण गर्नुस्’ भन्ने सन्देश विश्वव्यापीरूपमा प्रवाह गर्ने समितिले विश्वास लिएको छ । विश्वका प्रख्यात सेलीब्रेटीलाई आमन्त्रण गर्ने क्रम सुरु भएको छ ।

    टर्कीका प्रख्यात सेलीब्रेटी कास्की पुगेका छन । यस्तै, अन्य देशका कलाकार, खेलाडी तथा पर्वतारोहीलाई आमन्त्रण गरेर नेपालका बारेमा विश्वव्यापीरूपमा चर्चा परिचर्चाको केन्द्रमा पुर्‍याउने समितिले लक्ष्य तय गरेको छ ।

    समितिले नेपालको हरेक पर्यटकीय क्षेत्रको जानकारी रहने गरी ‘टुरिजम डिजिटल म्याप’ बनाउने भएको छ । ‘एक गाउँ एक पर्यटन क्षेत्र’ को अभियानलाई पनि सोही डिजिटल नक्शामा समावेश गर्ने लक्ष्य छ । सो काम नेपाल पर्यटन बोर्डले गर्नेछ ।

    नयाँ पर्यटकीय गन्तव्यदेखि पुराना गन्तव्य पनि त्यसमा जोडिनेछन् । पर्यटकले उक्त नक्शा हेर्ने वित्तिकै नेपालका पर्यटकीय क्षेत्रको बारेमा थाहा पाउनेछन् । सो कार्यका लागि ५० लाख बराबरको खर्च गर्ने तयारी गरिएको संयोजक गिरीको भनाइ छ ।

    पर्यटनसँग जोडिएका संघसंस्थाको समन्वयमा केही साहसिक खेल तथा पदयात्रा प्रवर्द्धनको कार्यक्रम पनि अगाडि बढाइनेछ । त्यसका लागी २० लाख बराबरको खर्च गर्ने लक्ष्य छ ।

    विदेशबाट आमन्त्रित पत्रकार, सञ्चारमाध्यम र यात्रासँग जोडिएर समाचार संकलन गरिरहेका, ब्लगर, लेखकलाई नेपाल घुमाउने र उनीहरूको लेख, अन्तरवार्ता गर्ने गराउने कार्यक्रम तय गरिएको छ । त्यसका लागि १ करोड बराबरको खर्च गर्ने लक्ष्य राखिएको छ ।

    सम्पदास्थलका अन्तर्राष्ट्रियस्तरको शौचालय, पर्यटक सूचना केन्द्र, विश्रामस्थल तथा अन्य जानकारी प्रदान गर्ने स्थलको निर्माण सञ्चालन, व्यवस्थापन गरिनेछ । सो कार्य स्थानीय तहले कार्यान्वयन गर्ने र प्रदेश सरकारले सहयोग गर्ने गरी तय गरिएको छ ।

    मुख्य पर्यटकीय गन्तव्य, सहरको सौन्दर्यीकरण र मानकीकरण गर्ने काम पनि समितिको प्राथमिकतामा छ । २५ लाख खर्च गरेर दोहोरो अन्तरक्रिया गर्न मिल्ने खालको पर्यटकमा समर्पित बेवसाइट, एप निर्माण तथा सञ्चालन गरिनेछ ।

    त्यस्ता बेवसाइट र एपमा नेपालको पर्यटकीय क्षेत्रको बारेमा जानकारी दिने छोटाछोटा श्रव्यदृश्य सामग्री विभिन्न अन्तर्राष्ट्रिय भाषामा उपलब्ध गराइनेछ । नेपाल आउन चाहने पर्यटकले त्यसैबाट आवश्यक जानकारी लिन सक्नेछ ।

    आवश्यक जिज्ञासा र चासो राख्न सक्नेछ । सामाजिक सञ्जालको अत्याधिक प्रयोग गर्ने र आवश्यक प्रवर्द्धन गर्ने कार्यक्रम पनि समितिको प्राथमिकतामा रहेको छ । ७ वटै प्रदेशले पर्यटन क्षेत्रका आउन चाहने नयाँ जनशक्तिको खोज, पहिचान, तालिम प्रदान गर्नका लागि आवश्यक व्यवसथा गरिएको छ ।

    कोरोनाका कारण पर्यटन क्षेत्रमा प्रत्यक्ष रूपमा जोडिएका १० लाख मध्ये ७ लाख कामदार बेरोजगार भएका छन् । उनीहरूलाई पुनः यस क्षेत्रमा फिर्ता ल्याउने र नयाँ जनशक्ति तयार पार्ने लक्ष्य राखिएको छ ।

    पर्यटकीय क्षेत्रमध्ये प्रमुख १० स्थानमा निःशुल्क रूपमा उच्च गतिको वाइफाइ सेवा, डिजिटल माध्यमबाट सूचना उपलब्ध गराउने र सम्पदास्थलको बारेमा बुझाइनेछ । यस्तै, अन्तर्राष्ट्रियस्तरमा नेपालको बारेमा जानकारी गराउने पर्यटक विज्ञ, सूचनादाता तथा स्वयमसेवक परिचालन गर्ने गरी कार्यक्रम तय भएको संयोजक गिरीले जानकारी दिए । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij