मिलन दाहाल
काठमाडौं । नेपाली कांग्रेसले स्थानीय निर्वाचन लक्षित सभाहरू देशका विभिन्न ठाउँमा गर्दैछ । त्यसमा सहभागी हुन पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा, रामचन्द्र पौडेललगायत शीर्ष नेताहरू जाँदैछन् ।
विराटनगरमा बुधबार यस्तै सभा भयो । बिहीबार चितवनको भरतपुरमा सभा आयोजना हुँदैछ । उक्त सभामा भाग लिन पार्टी सभापति एवं प्रधानमन्त्री देउवा र नेता पौडेल बुधबार राति नै चितवन पुगिसके ।
यस्ता सभामा यस पटक महामन्त्री गगन थापा भने कमैमात्र देखिने छन् । चुनावी सभामा मूलतः सबैभन्दा बढी सुनिनेमा पर्छन गगन । तर उनी नै किन गएनन् यस्ता सभामा ? यो प्रश्न स्वभाविक रूपमा उठ्छ ।
स्रोतका अनुसार गगनले गठबन्धनका नाममा अन्य पार्टीका उम्मेदवारलाई सघाइएको ठाउँमा आफू नजाने योजना बनाएका छन् । उनी सुरु देखि नै स्थानीय चुनावमा कांग्रेसले गठबन्धन गर्न हुँदैन भन्ने पक्षमा थिए ।
त्यसैले गठबन्धन गरिएका ठाउँमा समेत हुने सभामा गगन नजाने भएका हुन् । उनलाई सभाहरूमा सहभागी हुन सभापति देउवाले नै आग्रह गरेका थिए तर उनले नमानेको उनी निकट स्रोतले बतायो ।
पार्टीको बैठकमा सत्ता गठबन्धनका दलसँग स्थानीय चुनावमा तालमेल नगर्ने पक्षमा उभिएका थापा अहिले पनि त्यो अडानमा यथावत् छन् । उनले पार्टी निर्णय स्वीकारे पनि गठबन्धनका नाममा अन्य पार्टीका उम्मेदवारको पक्षमा भोट माग्न नजाने अडान राखेका हुन् ।
‘उहाँ (गगन थापा) कांग्रेसले एकल उम्मेदवारी दिएका ठाउँमा मात्र जाने तयारीमा हुनुहुन्छ,’ गगन निकट स्रोतले भन्यो, ‘गठबन्धनका नाममा अन्य पार्टीलाई टिकट दिइएको ठाउँमा उहाँ जानुहुन्न ।’
थापा केही ठाउँमा भने जाँदैछन् । उनले रोजेका ठाउँहरू कांग्रेसको एकल उम्मेदवारी भएको पालिकाहरू मात्र भएको बताइएको छ । कांग्रेसले गठबन्धनमा जाने निर्णय गरे पनि देशभरका नेता कार्यकर्ताले त्यसमा विरोध जनाएका थिए । धेरै ठाउँमा गठबन्धनविरूद्ध बागी उम्मेदवारी परेको छ ।
स्थानीय चुनावमा एक्लै लड्नुपर्ने आवाज पार्टीभित्र प्रवल देखिए पनि सभापति देउवाले गठबन्धनकै पक्षमा जाने निर्णय गराए । कांग्रेसका केन्द्रीय सदस्य अजयबाबु शिवाकोटी गठबन्धन भएका ठाउँमा चुनाव जित्न सहज भएको र गठबन्धन नभएका ठाउँहरूमा पनि कांग्रेसका उम्मेदवारहरूलाई जिताउनुपर्ने जरूरी भएकोले महामन्त्री थापाले त्यस्ता ठाउँमा जान खोजेको बताए ।
‘अन्य ठाउँमा पार्टी सभापति सहितको टिम लागि रहेकाले पनि गठबन्धन नभएका ठाउँमा महामन्त्री गगन थापा जानु हुन्छ,’ उनले भने, ‘केन्द्रीय समितिको निर्णयमा नै स्थानीय अवस्था र आवश्यकताको आधारमा सिंगल उम्मेदवारी दिने पनि हाम्रो निर्णय हो । ती स्थानमा पनि कांग्रेसले जित्नुपर्छ ।’
कांग्रेसले सिंगल लडेका ठाउँमा पनि नेतृत्वले 'पार्टी तपाईंहरूको साथमा छ' भन्ने विश्वास दिलाउन शीर्ष नेताहरू जानु आवश्यक रहेको शिवाकोटी औंल्याउँछन् । ‘त्यसका लागि पनि महान्त्री थापाले कांग्रेस एक्लै चुनाव लडेका ठाउँमा जाने कामलाई प्राथमिकतामा राख्नु भएको हो,’ उनले भने ।
स्थानीय चुनावमा पार्टीले गठबन्धन गर्ने निर्णय जबर्जस्ती लादेको भन्दै धेरै नेता तथा कार्यकर्ता नेतृत्वसँग रूष्ट छन् ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij