वेबटिभी खबर
सर्लाही । चुनावी प्रचार गर्ने अन्तिम दिन मंगलबार नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई भ्याइनभ्याइ थियो । उनी रौतहट, सर्लाही, महोत्तरी, धनुषा, बारालगायतका जिल्लामा आयोजित सभामा सहभागी हुन हेलिकाेप्टरमा निस्केका थिए ।
त्यस्तो भ्यानभ्याइ व्यस्ततामा निस्केका प्रचण्ड सर्लाहीको लालबन्दीमा भने दुईपटक पुगे । सर्लाहीको चक्रघट्टामा आयोजित सभा सकेर लालबन्दी पुगेका प्रचण्ड त्यहाँ कार्यक्रम हुन ढिलो हुने भएपछि खाना खाएर सर्लाहीकै धनकौलतर्फ लागे । धनकौलका उनको पूर्वनिर्धारित कार्यक्रम नभए पनि लालबन्दीमा ढिला हुने भएकाले उता गएका थिए ।
धनकौलको कार्यक्रम सकेपछि केही घण्टाको अन्तरमा पुनः लालबन्दी आएका प्रचण्डले आफ्ना उम्मेदवारको पक्षमा मत मागेका थिए । चक्रघट्टा गाउँपालिका, धनकौल गाउँपालिका र लालबन्दी नगरपालिकामा आयोजित चुनावी सभामा सम्बाेधन गर्दे उनले आफ्ना उम्मेदवारको पक्षमा मत मागे ।
लालबन्दीमा आयोजित सभामा प्रचण्डले गठबन्धनले लालबन्दीमा माओवादी केन्द्रको उम्मेदवारलाई सघाउने निर्णय गरेको भन्दै सोहीअनुसार सहयोग गर्न आग्रह गरे ।
लालबन्दीको सम्बन्धमा गठबन्धनको केन्द्रबाट माओवादीलाई सघाउने निर्णय भइसकेर सोहीअनुसार कांग्रेसले आफ्नो उम्मेदवार फिर्ता लिने पत्र निर्वाचन कार्यालयमा पठाएको बताए ।
केन्द्रबाट कांग्रेसले पत्र पठाए पनि फिर्ता लिने समयावधि नाघेर आएकाले त्यो कार्यान्वयन भने हुन पाएन । प्रचण्डले केन्द्रबाट समयमै पत्र पठाएको उल्लेख गर्दै कसैको बद्मासीका कारण पत्र ढिलो पुगेको दाबी गरे । ‘उम्मेदवारी फिर्ता लिने निर्णय भएर केन्द्रबाट समयमै पत्र पठाइएको हो’ उनले भने, ‘बीचमा कसैको बद्मासीले त्यो पत्र ढिलागरी आइपुगेको हो ।’
उनले गठबन्धनबाट मेयरको उम्मेदवार बनेका माओवादी केन्द्रका प्रल्हाद बुढाथोकी, उपमेयरमा नेकपा एकीकृतका गोविन्द अधिकारीको पक्षमा मत मागे । अहिलेको सत्ता गठबन्धन अग्रगामी र नेकपा एमालेले गरेको गठबन्धन प्रतिगामी भएको उल्लेख गर्दै उनले यसको मर्म बुझिदिन आग्रह गरे ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij