Logo

२०८१, बैशाख ४ गते मंगलवार

२०८१, बैशाख ४ गते मंगलवार

दोस्रो अन्तरदेशीय प्रसारण लाइन निर्माणका लागि वैदेशिक लगानी स्वीकृति

दोस्रो अन्तरदेशीय प्रसारण लाइन निर्माणका लागि वैदेशिक लगानी स्वीकृति

  • 624
    SHARES
  • दोस्रो अन्तरदेशीय प्रसारण लाइन निर्माणका लागि वैदेशिक लगानी स्वीकृति

    काठमाडौं । नेपाल र भारतबीच विद्युत् आदानप्रदानका लागि निर्माण हुन लागेको दोस्रो अन्तरदेशीय प्रसारण लाइन निर्माणका लागि आवश्यक प्रक्रिया अगाडि बढेको छ ।

    images

    नेपाल विद्युत् प्राधिकरणले नेपाल र भारतबीच विद्युत् व्यापारका लागि प्रस्तावित न्यू बुटवल-गोरखपुर ४०० केभी दोस्रो अन्तरदेशीय प्रसारण लाइन निर्माण गर्न स्थापना हुने कम्पनीमा वैदेशिक लगानी गर्न स्वीकृति पाएको छ ।

    भारत सरकारले प्रसारण लाइन आयोजनाअन्तर्गत भारततर्फको खण्ड निर्माण गर्न भारतमा स्थापना हुने बुटवल-गोरखपुर अन्तरदेशीय प्रसारण लाइन कम्पनीमा वैदेशिक लगानी गर्न प्राधिकरणले स्वीकृति दिएको छ ।

    न्यू बुटवल-गोरखपुर ४०० केभी प्रसारण लाइनअन्तर्गत भारततर्फ पर्ने लाइन निर्माण गर्न विद्युत् प्राधिकरण र भारत सरकारको स्वामित्वको पावर ग्रिड कर्पोरेशन अफ इन्डिया को ५०/५० प्रतिशत शेयर स्वामित्व (इक्विटी) रहने गरी संयुक्त कम्पनी स्थापना हुने छ ।

    नेपालतर्फको प्रसारण लाइन भने प्राधिकरण आफैंले गर्ने छ । नवलपरासीको सुनवल नगरपालिका-१३ स्थिति न्यू बुटवल सवस्टेसनबाट सुरु भई भारतको गोरखपुर सवस्टेसनसम्म पुग्ने ४०० केभी डबल सर्किट प्रसारण लाइनको लम्बाइ करिब १२० किलोमिटर छ ।

    त्यसमध्ये नेपालतर्फ करिब २० किलोमिटर र बाँकी भारततर्फ पर्दछ । कम्पनीको ५० प्रतिशत इक्विटीको हुन आउने ४६ करोड भारतीय रूपैयाँ ( ७३ करोड ६० लाख) रकम भारतमा स्थापना हुने संयुक्त कम्पनीमा वैदेशिक लगानी गर्न प्राधिकरणले स्वीकृति पाएको हो ।

    कम्पनीमा पावर ग्रिडको पनि प्राधिकरणको बराबर लगानी रहने छ । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले प्राधिकरणले वैदेशिक लगानीको स्वीकृति पाएसँगै आयोजना निर्माणका लागि प्राधिकरण र पावर ग्रिडको लगानीमा भारतमा संयुक्त कम्पनी संस्थापनाको बाटो खुलेको जानकारी दिए ।

    ‘कम्पनी संस्थापनाका लागि प्रबन्धपत्र र नियमावली तयारी अवस्थामा छन्, अब प्राधिकरणले भारतबाट वैदेशिक लगानीको स्वीकृति पाएसँगै कम्पनी संस्थापनाको प्रक्रिया अगाडि बढ्छ’, उनले भने ।

    नेपाल-भारत ऊर्जा सचिव तथा सहसचिवस्तरीय संयन्त्रको २७-२८ असोज २०७६ मा भएको सातौं बैठकले प्रसारण लाइन निर्माणको लगानी स्वरूपलाई टुंगो लगाएको थियो । अनुमानित लागत करिब ४ अर्ब ६२ करोड भारु (७ अर्ब ३९ करोड) रहेको आयोजनाको वित्तीय व्यवस्थापन ८० प्रतिशत ऋण र २० प्रतिशत इक्विटीबाट जुटाइने छ ।

    कार्यकारी निर्देशक घिसिङले भने, ‘प्रसारण लाइन निर्माणका लागि ठेकेदार छनोटका लागि बोलपत्र डकुमेण्ट बनाउने काम भइरहेको छ, तीन वर्षभित्रमा निर्माण सक्ने लक्ष्यका साथ निर्माण प्रक्रिया अगाडि बढाएका छौं ।’

    प्राधिकरण र पावर ग्रिडबीच भदौ २०७८ मा कम्पनी स्थापनाका लागि संयुक्त लगानी तथा लगानीकर्ता सम्झौतामा हस्ताक्षर भएको थियो ।

    मन्त्रिपरिषद्को १९ साउन २०७८ को बैठकले बुटवल-गोरखपुर अन्तरदेशीय प्रसारण लाइनको भारततर्फको खण्ड निर्माणका लागि स्थापना गरिने कम्पनीमा ५० प्रतिशत शेयर लगानी गर्न प्राधिकरणलाई स्वीकृति दिएको थियो ।

    नेपाल खण्डको प्रसारण लाइन नेपाल आफैंले र भारतर्फको प्राधिकरण र पावर ग्रिडको ५०/५० प्रतिशत शेयर स्वामित्वमा स्थापना हुने कम्पनीले निर्माण गर्ने छन् । करिब २ हजार मेगावाट विद्युत् प्रवाह गर्नसक्ने क्षमताको प्रसारण लाइन निर्माण गर्न लागिएको हो ।

    हाल सञ्चालनमा रहेको ढल्केबर-मुजफ्फरपुर पहिलो अन्तरदेशीय ४०० केभी प्रसारण लाइन भन्दा बुटवल-गोरखपुर प्रसारण लाइनले झण्डै डबल क्षमतामा विद्युत् प्रवाह गर्न सक्ने छ ।

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology