सर्लाही । सर्लाहीको बागमती नगरपालिकाको प्रमुख र उपप्रमुखमा माओवादी केन्द्रका उम्मेदवार फराकिलो मतान्तरले विजयी भएका छन् ।
मेयरमा विजयी भरतकुमार थापाले ११ हजार ३५७ मत ल्याए भने उपमेयरमा विजयी लिलाकुमारी मोक्तानले १० हजार ८७९ मत ल्याइन् ।
निकटतम प्रतिस्पर्धी एमालेबाट मेयरका उम्मेदवार टंकबहादुर बस्नेतले ७२६८ मत ल्याएका थिए । त्यसैगरी उपमेयरमा पनि एमालेकै उम्मेदवार सरिता घिसिङले ७७०५ मत ल्याएकी थिइन् ।
थापा र मोक्तान बागमतीको मेयर र उपमेयरमा दोहोरिएका हुन् । अघिल्लो स्थानीय चुनावमा पनि माओवादी केन्द्रबाट उम्मेदवार बनेका यी दुबैले जित हासिल गरेका थिए ।
बागमतीको १२ वटा वडामध्ये माओवादी केन्द्रले १० वटा वडामा जित निकालेको छ । त्यसैगरी एउटा वडामा एमाले र एउटामा नेपाली कांग्रेसले जित हात पारेको छ । अघिल्लो चुनावमा भने ९ वटा वडामा माओवादी र ३ वटा वडामा एमाले र कांग्रेस शून्य थियो ।
माओवादीले वडा बढाएको छ भने एमाले एउटैमा खुम्चिएको छ । त्यसैगरी कांग्रेसले पहिलो पटक बागमती नगरपालिकामा एउटा वडा जितेको छ ।
बागमतीमा १२१ विघामा फैलिएको मानव निर्मित ताल बनाएका कारण मेयर थापाको चर्चा भएको थियो ।
Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology