Logo

२०८१, बैशाख ८ गते शनिवार

२०८१, बैशाख ८ गते शनिवार

सुदूरपश्चिमका तीन जिल्लामा कांग्रेस, एमाले र माओवादी शून्य

सुदूरपश्चिमका तीन जिल्लामा कांग्रेस, एमाले र माओवादी शून्य

  • 450
    SHARES
  • सुदूरपश्चिमका तीन जिल्लामा कांग्रेस, एमाले र माओवादी शून्य

    धनगढी । स्थानीय तहको निर्वाचनको अन्तिम मतपरिणाम सार्वजनिक भएका मध्ये सुदूरपश्चिमका तीन जिल्लामा प्रमुख ३ दल शून्यमा झरेका छन् ।

    images

    नेपाली कांग्रेस दार्चुलामा, नेकपा एमाले डडेल्धुरा र नेकपा माओवादी केन्द्र बाजुरामा शून्य भएका हुन् । ९ पालिका रहेको दार्चुलामा नेकपा एमालले ५ र नेकपा माओवादी केन्द्रले ४ पालिका प्रमुख जितेको छ । दार्चुलामा नेपाली कांग्रेसले ३ उपप्रमुख पद जितेको छ ।

    दार्चुलामा नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेस बीच चुनावी तालमेल भएको थियो । नेपाली कांग्रेसले २०७४ मा जितेको दार्चुला सदरमुकाम रहेको महाकाली नगरपालिकामा यस पटक नेकपा एमालेले जित हासिल गरेको छ । दार्चुलामा महाकाली नगरपालिकासहित दुहुँ गाउँपालिका, ब्यास गाउँपालिका, मालिकार्जुन गाउँपालिका र शैल्यशिखर नगरपालिकामा नेकपा एमालले जित हासिल गरेको छ । यसैगरी नेकपा माओवादी केन्द्रले दार्चुलाको लेकम गाउँपालिका, मार्मा गाउँपालिका, नौगाढ गाउँपालिका र अपिहिमाल गाउँपालिकामा जित हात पारेको छ । दार्चुला नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा उद्योग बाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्र बडुको गृह जिल्ला हो । 

    यसैगरी नेकपा एमाले डडेल्धुरामा शून्य भएको छ । २०७४ को निर्वाचनमा डडेल्धुरा सदरमुकामसमेत रहेको अमरगढी नगरपालिका र नवदुर्गा गाउँपालिकामा नेकपा एमाले विजयी भएको थियो । तर यस पटक भने डडेल्धुरामा एमाले केही वडामा मात्रै चित्त बुझाउनु परेको छ । डडेल्धुराका ७ पालिका मध्य ५ मा नेपाली कांग्रेस र २ पालिकामा नेकपा माओवादी केन्द्र विजयी भएको छ । डडेल्धुरा जिल्ला प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाको गृह जिल्ला हो । 

    जहाँ सदरमुकाम रहेको अमरगढी नगरपालिकासहित गन्यापधुरा गाउँपालिका, नवदुर्गा गाउँपालिका, पर्शुराम नगरपालिका र  भागेश्वर गाउँपालिकामा कांग्रेस विजयी भएको छ । डडेल्धुराको अजयमेरु गाउँपालिका र आलिताल गाउँपालिकामा भने नेकपा माओवादी केन्द्रका उम्मेदवार विजयी भएका छन् । 

    सुदूरपश्चिमको पहाडी जिल्ला बाजुरामा नेकपा माओवादी केन्द्र शून्यमा झरेको छ । ९ पालिका रहेको बाजुरामा अहिलेसम्म ७ पालिकाको अन्तिम मत परिणाम आएको छ । ती मध्ये ४ मा नेकपा एमाले र ३ पालिकामा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् । ७ वटा पालिकाको अन्तिम मत परिणाम सार्वजनिक हुँदा माओवादी केन्द्रले उप प्रमुख समेत जित्न सकेको छैन ।

    बाजुरामा अन्तिम मतपरिणाम आएका मध्ये ४ पालिकामा एमाले विजयी भएको छ । गौमुल गाउँपालिका, खप्तड छेडेदह गाउँपालिका, जगन्नाथ गाउँपालिका र बडिमालिका नगरपालिकामा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन् । 

    त्यसैगरी बाजुराका ३ पालिकामा नेपाली कांग्रेसले नेतृत्व हात पारेको छ । कांग्रेसले हिमाली गाउँपालिका, स्वामिकार्तिक खापर गाउँपाकिा र त्रिवेणि नगरपालिकामा जित हात पारेको छ । 

    बाजुराका बाँकी २ पालिका मध्ये अहिले बुढीनन्दा नगरपालिकामा मतगणना जारी रहेको छ । सो पालिकामा एमाले र कांग्रेस बीचनै प्रतिष्पर्धा छ । त्यसैगरी बुढिगंगा नगरपालिकामा विबादका कारण मतदान नै हुन सकेको छैन । बुढिगंगा नगरपालिकामा पनि नेकपा माओवादी केन्द्र कमजोर अवस्थामा छ । सो पालिकामा २०७४ को निर्वाचनमा नेपाली कांग्रेस विजयी भएको थियो ।

    एमालेबाट विभाजन भएर गठन भएको नेकपा एकीकृत समाजवादी पार्टीले भने दार्चुला, बैतडी, डडेल्धुरा, डोटी, बाजुरा र अछाममा खाता खोल्न सकेको छैन । कैलाली, कञ्चनपुर र बझाङका केही पालिकामा भने मतगणना जारी छ । नेकपा एसले बझाङ र कैलाली एकरएक पालिकामा अग्रता लिएको छ ।
     

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology