काठमाडौं । नेपाली कांग्रेसका सांसद डा अमरेशकुमार सिंहले संसदमा सरकारको चर्को आलोचना गरेका छन्। उनले आफ्नै पार्टी नेतृत्वको सरकारको आलोचना गरेका हुन्। बुधबार प्रतिनिधिसभाको बैठकमा बोल्ने क्रममा संसाद सिंहले सरकार गुटले चलाएको आरोप लगाए।
उनले सरकार प्रेतात्मा जस्तो भएको, सांसदहरू बँधुवा मजदुर भएको बताउँदै सरकार बिचौलिया र गुटतन्त्रले चलाएकोबताए।
‘संसद केवल सरकार बनाउन चाहिएको छ। सरकार बनेपछि संसद चाहिँदैन, जनताको आवाज चाहिँदै,’ उनले भने, ‘बहुदल आएको तीस वर्षमा अर्को बुढानीलकण्ठ स्कुल किन बन्न सकेनरु अर्को प्रसूति गृह किन बन्न सकेन? धरानको जस्तै अर्को मेडिकल कलेज किन बन्न सकेन?।’
सिंहले बजेटका प्राथमिकतामाथि संसदमा छलफल गर्ने काम कर्मकाण्डीमात्रै रहेको बताए। उनलाई सरकारलाई प्रेतात्माको संज्ञा दिँदै भने, ‘जसरी श्राद्धमा पिण्ड दान गरे पनि प्रेतात्मामा पुग्दैन त्यसरी नै सांसदले बोले पनि यो प्रेतात्मा सरकारमा केही पनि पुग्दैन। हामी बँधुवा मजदुर छौँ, सांसदलाई सोधिँदैन तपाईंको प्रायोरिटी के हो। विचरा निमुखा सांसदहरूको क्षेत्रमा त भाग्यले दुईचार लाख कनिका छरेको हुन्छ। प्रधानमन्त्री र मन्त्रीको क्षेत्रमा बजेट जान्छ।’
उनले बजेटको यस्तो वितरणकै कारण देशको विकास र गरिबी उन्मूलन हुन नसक्ने बताउँदै उनले सबै ठूला नेता र ठूला कर्मचारीका घरमा सिसी टिभी राख्न र मनिटर टुँडीखेलमा राख्न सरकारलाई सुझाब दिए। यसो गर्न सकेमात्रै भ्रष्टाचार नियन्त्रण हुने उनले बताए। सिंहले सांसदले मन्त्री र प्रधानमन्त्री भेट्न खोज्दा तीन महिना पनि समय नपाएको बताए।
Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology