Logo

२०८३, कार्तिक २४ गते सोमवार

२०८३, कार्तिक २४ गते सोमवार

मधेसमा पाँचौबाट दोस्रो दल बन्दै एमाले

मधेसमा पाँचौबाट दोस्रो दल बन्दै एमाले

  • 433
    SHARES
  • मधेसमा पाँचौबाट दोस्रो दल बन्दै एमाले

    काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गत ८ चैतमा मधेसका विभिन्‍न दल त्याग गरेका नेताहरूलाई भित्र्याउँदै भनेका थिए । ‘एमाले नै जय मधेसवाला पार्टी हो ।’

    मधेस प्रदेशको विकास र समृद्धिको वाहक एमाले हुन्छ भन्‍ने अर्थमा ओलीले यसो भनेका हुन् । ओलीको यो अभिव्यक्ति मधेसका मतदातालाई एमालेतर्फ प्रभावित पार्न लक्षित थियो ।

    ठीक एक महिनापछि ९ वैशाखमा स्थानीय तह निर्वाचनको घोषणापत्र सार्वजनिक गर्दै एमाले मधेसमा शक्तिशाली दल भएर उदाउने र त्यसले राजनीतिक शक्ति सन्तुलनमा फेरबदल हुने बताएका थिए । 

    ओलीको उक्त अभिव्यक्तिलाई स्थानीय तह निर्वाचनको परिणामले केहीहदसम्म सत्य सावित गरिदिएको छ । किनभने केही स्थानीय तहको मतगणना बाँकी हुँदै गर्दा मधेस प्रदेशमा एमालेले दोस्रो दल बन्‍ने छनक देखाएको छ ।

    यसअघि २०७४ सालको निर्वाचनले एमाले १८ स्थानीय तहमा जित निकाल्दै पाँचौं दलको हैसियतमा खुम्चिएको थियो । निर्वाचन आयोगले सार्वजनिक गरेको शनिबार बिहान ११ बजेसम्मको विवरणलाई आधार मान्दा एमालेले अघिल्लो पटकभन्दा दुई वटा स्थानीय तह बढी जितेर २० वटा पुर्‍याएको छ ।

    त्यस्तै नौ वटा स्थानीय तहमा भने अग्रता छ । अग्रता भएकामा पनि जित भए मधेस प्रदेशमा एमालेको २९ स्थानीय तहमा जित हुनेछ । जनता समाजवादी पार्टीको पनि जित भएको स्थानीय तह २० वटा नै हो । तर, अग्रता सात वटा स्थानीय तहमा मात्र छ ।

    सोही कारण एमाले दोस्रो दल हुने सम्भावना बढेको हो । जबकी, एमाले विभाजित अवस्थामा निर्वाचनमा गएको हो । प्रदेश संसद्‍मा एमाले फुटेर बनेको दल नेकपा एकीकृत समाजवादी पार्टीभन्दा सानो छ ।

    तर २६ स्थानीय तह जितेर २०७४ सालमा दोस्रो दल बनेको जनता समाजवादी पार्टीलाई पछि पार्ने अवस्थामा एमाले पुगेको छ । नेकपा माओवादी केन्द्रले त अघिल्लो पटक २१ स्थानीय तह जितेकोमा यसपटक १० स्थानीय तह जितेको छ ।

    माओवादी आधा सङ्ख्यामै खुम्चिनु परेको छ । मधेसमा माओवादी नेता प्रभु साह एमालेमा गएपछि माओवादी खुम्चिएको कतिपयको विश्लेषण छ । अघिल्लो निर्वाचनमा चौँथो बनेको दल लोकतान्त्रिक समाजवादी पार्टी तत्कालीन राष्ट्रिय जनता पार्टी पनि पहिलेकै सङ्ख्यामा जित निकाल्ने अवस्थामा देखिएको छैन ।

    यद्यपि एमाले भने निर्वाचनबाट मधेसमा शक्तिशाली दलको रूपमा उदय भएको छ । कांग्रेसको प्रतिस्पर्धी दल बन्‍ने देखिएको छ । मधेसमा एमालेको चुनावी कमान्ड सम्हालेका पार्टी केन्द्रीय सचिव रघुवीर महासेठले एमाले शक्तिशाली पार्टीको रूपमा देखिनुमा मधेसी नागरिकको एमालेप्रति छुट्टै खालको आकर्षण रहेको बताए ।

    उनले भने, ‘मधेसमा एमालेलाई शक्तिशाली दल हुनबाट कसैले रोक्न सक्दैन । जुन कुरा यो निर्वाचनले पुष्टि गरिदियो ।’ मधेसी नागरिकको विश्‍वास एमालेमाथि रहेको र एमाले मधेसहित सिङ्‍गो देशको विकास गर्ने पार्टी भएको उनको भनाइ छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij