मिलन दाहाल
काठमाडौं । भर्खरै सम्पन्न स्थानीय तह निर्वाचनमा संघीय राजधानीसमेत रहेको काठमाडौं महानगरपालिका प्रमुखमा स्वतन्त्र उम्मेदवार बालेन्द्र साह (बालेन) निर्वाचित भएका छन् ।
निर्वाचित साहले ६१ हजार ७६७ मत प्राप्त गरि प्रतिस्पर्धी नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना सिंहलाई पराजित गरेका हुन् । काठमाडौंका मतदाताले उनको पक्षमा देखाएको समर्थनका कारण मतगणनाको सुरुवातदेखि अग्रता लिएर विजय यात्रा सम्पन्न गरे ।
मतदाताले उनलाई समर्थन मात्र गरेको नभइ उनीबाट धेरै अपेक्षा पनि राखेको पाइन्छ । उनले सार्वजनिक गरेका योजना कार्यान्वयन हुने आशा आम मतदाताको छ । जनताले उनलाई विश्वास गरेर दिएका मतलाई सम्मान गर्दै काम गरेर देखाउनु पर्ने दायित्व अब उनको काँधमा आएको छ ।
मतदाताले महानगर चलाउने जिम्मा दिएपछि साहसामु अब अवसर र चुनौती दुबै छ । आफ्नो कार्यकालको पाँच वर्षमा काठमाडौं महानगरलाई सुन्दर बनाउने निर्णय साहले गर्नुपर्ने हुन्छ ।
ठूलो जिम्मेवारी पाए पनि उनीसामु चुनौती धेरै छन् । देशकै ठूला राजनीतिक दल नेपाली कांग्रेस र एमालेका उम्मेदवारलाई उछिन्दै महानगर प्रमुखमा जिते पनि साह महानगरपालिकामा भने एक्ला छन् ।
महानगरका ३२ वटै वडामा विभिन्न पार्टीबाट विजयी वडा अध्यक्षसँग मिलेर र उनीहरूको सहयोग लिएर मेयरले काम गर्नुपर्ने हुन्छ । तर साह स्वतन्त्र लडेकाले जनताको अपार समर्थन भए पनि महानगर कार्यपालिकामा भने ‘एक्लो वृहस्पती’ जस्तो हुन पुगेका छन् ।
महानगरको नेतृत्वमा स्वतन्त्रबाट जितेर पुगेकाले साहको सामुन्ने चुनौतीका चाङ र अवसर दुवै रहेको विज्ञहरू बताउँछन् । विभिन्न पार्टीबाट निर्वाचित वडा अध्यक्षलाई विश्वासमा लिएर उनीहरूबाट काम लिनुपर्ने, चुनावी घोषणापत्रलाई कार्यान्वय गराउन उनीहरूको सर्मथन जुटाएर नगरवासीको हितमा काम गर्नुपर्ने लगायतका चुनौतीहरू साहसामु रहेको विज्ञहरूको भनाइ छ ।
चुनाव जितेका सबै जनप्रतिनिधिको जनताप्रतिको दायित्व समान रहेकाले विभिन्न विषयका जानकारहरूलाई साथमा लिएर महानगरवासीको हितमा काम गर्नसक्ने अवसर पनि साहलाई रहेको विज्ञहरू बताउँछन् । साहले राम्रो तयारी गरेर महानगरबासीको पक्षमा काम गर्न खोजे उनलाई सघाउन चाहनेको संख्या धेरै भएको पूर्वाधार विज्ञ सुरेशराज आचार्यको बुझाइ छ ।
वडा अध्यक्षलाई विश्वासमा लिने चुनौती
महानगरको मेयरमा स्वतन्त्रबाट निर्वाचित भएकाले बाहिरबाट झट्ट हेर्दा अहिलको अवस्थामा बालेनलाई अघि बढेर साथ दिने कोही छैन । महानगरका ३२ वडाका अध्यक्षहरू विभिन्न राजनीतिक दलहरूबाट निर्वाचित भएकाले आफ्ना योजना र चुनावी घोषणा पूरा गर्न उनीहरूलाई विश्वासमा लिनुपर्ने पहिलो चुनौती मेयर साहलाई छ ।
वडाबाट प्रवाह हुने सेवालाई सहज र सरल रूपमा सम्पन्न गर्न वडा अध्यक्षको भूमिका महत्त्वपूर्ण हुन्छ । त्यस्तै महानगरपालिकाले गर्ने विभिन्न काम तथा निर्णयहरू महानगरपालिका कार्यसमितिको बहुमतले पारित गर्नुपर्छ । त्यसका लागि पनि महानगर कार्यसमितिमा रहने वडा अध्यक्षहरूको सहयोग र समर्थन उनलाई चाहिन्छ । महानगरको बजेट र वार्षिक कार्यक्रम पनि वडा अध्यक्ष र वडा सदस्यहरू सहभागी हुने नगरसभाबाट पारित गर्नुपर्ने हुन्छ ।
महानगरले नागरिकालाई दिने सेवामा सहजता ल्याउन सक्नुपर्छ : सुरेश आचार्य पूर्वाधार विज्ञ
नगरवासीका लागि काठमाडौं महागनरपालिका र वडाबाट प्रवाह हुने सेवालाई सहज र सरल बनाउने कुरालाई नव निर्वाचित मेयर साहले प्राथमिकतामा राख्नुपर्ने पूर्वाधार विज्ञ सुरेशराज आचार्य बताउँछन् ।
शासन गर्ने मेयर नभएर नगरबासीलाई सेवाको अनुभूति गराउने मेयरले काममा सहजै मद्दत पाउने उनले बताए । अहिलेको अवस्थामा मेयर साह एक्लै भएकाले सत्य, तथ्य र विज्ञतामा आधारित एजेन्डा ल्याउन सके वडा अध्यक्षले पनि त्यसलाई खारेज गर्न नसक्ने उनको भनाइ छ ।
त्यसका लागि साहले विज्ञहरूको सहयोग लिनुपर्ने उनले बताए । साहसँग तत्काल राजनीतिक शक्ति नभए पनि सबैभन्दा ठूलो शक्ति जनताको पक्षमा उनले ल्याउने योजना र त्यसको कार्यान्वयन पक्ष भएको उनले बताए ।
महानगरलाई व्यवस्थित बनाउन उनले सम्बन्धित क्षेत्रका विज्ञहरूसँग समन्वय गरेर काम गर्नुपर्ने र वडा अध्यक्षहरूलाई राजनीतिक बलले नभएर ज्ञानले तह लगाउनुपर्ने चुनौती मेयर साह समक्ष रहेको उनले औंल्याए ।
राष्ट्रियस्तरमा स्थापित विज्ञहरूलाई जम्मा गरेर काठमाडौं महानगरमा गर्न सकिने एजेन्डा ल्याउन सके वडा अध्यक्षहरू पनि मेयर साहलाई साथ बाध्य हुने उनले बताए ।
उनले भने, ‘अबको मेयरले दीर्घकालीन व्यवस्थित शहरीकरणको लागि योजनाबद्ध तरिकाले काम गर्नसक्नुपर्छ । व्यवस्थित शहरीकरणको मापदण्डअनुसार काम गर्न सकिन्छ ।’
सबै टिमलाई साथमा लिन सके मात्र काम गर्न सक्छन् : श्याम श्रेष्ठ नागरिक अगुवा
मेयर साहले सबै टिमलाई साथ लिएर हिँड्न सके मात्र काम गर्न सक्ने नागरिक अगुवा श्याम श्रेष्ठ बताउँछन् । एक्लै अघि जान खोज्दा द्वन्द्व बढेर काममा असर गर्ने सम्भावना हुने भएकाले टिमको विश्वास जितेर काम गर्नुपर्ने उनको भनाइ छ ।
कुनै वडा अध्यक्षले काममा बाधा पुर्याउने काम गरे त्यसलाई सार्वजनिक गर्न सक्ने क्षमता पनि मेयरमा हुनुपर्ने उनले बताए । त्यसो गर्दा जनस्तरबाट दबाब बढ्ने र उनलाई काम गर्न सहज हुने उनी बताउँछन् ।
व्यक्तिगत इगो र स्वार्थ नराखी काम गर्न चाहे भने बालेनलाई साथ दिनेहरू अगाडि आउने उनको भनाइ छ । उदाहरणीय काम गरेका पालिका प्रमुखहरूबाट पनि कसरी काम गर्न सकिन्छ भन्ने कुराको ज्ञान लिन सक्ने उनले बताए ।
नेतृत्व क्षमताले सफल वा असफलता निर्धारण गर्छ : प्रा.डा लोकराज बराल, राजनीतिक विश्लेषक
नवनिर्वाचित मेयर साह सफल वा असफल हुने कुरा उनको नेतृत्व क्षमताले निर्धारण गर्ने राजनीतिक विश्लेषक प्रा.डा लोकराज बराल बताउँछन् । महानगर चलाउन वडा तहका जनप्रतिनिधिको सहयोग आवश्यक पर्ने भएकाले त्यसरी सहयोग जुटाउने वातावरण मेयरको नेतृत्व क्षमतामा निर्भर हुने उनको भनाइ छ ।
‘नेतृत्व गर्ने क्षमता कति छ भन्ने कुराले सफलता र असफलता निर्धारण गर्छ’ उनले भने, ‘वडा तहका जनप्रतिनिधिको सहयोग नरहे एक्लै काम गरेर सफल हुन कठिन हुन्छ ।’
साहले राम्रो काम गर्न सके सहयोग गर्न सबै बाध्य हुने उनी औंल्याउँछन् । राम्रो काम गरेका काठमाडौं महानगरका मेयरलाई राजनीतिक दलको नेतृत्व रहने संघीय र प्रदेश सरकारले असहयोग गर्ने सम्भावना पनि कम हुने उनले बताए ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij