Logo

२०८३, कार्तिक २९ गते शनिवार

२०८३, कार्तिक २९ गते शनिवार

कार्यपालिका सदस्य चयनका लागि कैलालीमा निर्वाचन प्रक्रिया सुरु

कार्यपालिका सदस्य चयनका लागि कैलालीमा निर्वाचन प्रक्रिया सुरु

  • 363
    SHARES
  • कार्यपालिका सदस्य चयनका लागि कैलालीमा निर्वाचन प्रक्रिया सुरु

    कैलाली । कैलालीका पालिकामा स्थानीय तह निर्वाचनअन्तर्गत कार्यपालिका सदस्य चयनका लागि निर्वाचन प्रक्रिया सुरु भएका छन् । निर्वाचनका लागि पालिकामा मतदाता नामावली प्रकाशन, अन्तिम नामावली प्रकाशन, मनोनयन दर्ताजस्ता कार्य सुरु भएका हुन् ।

    निर्वाचन आयोगले १५ दिनभित्र कार्यपालिका सदस्यको निर्वाचन गरी सक्न निर्देशन दिएपछि निर्वाचन अधिकृतका कार्यालयले निर्वाचनका गतिविधि सुरु गरेका छन् ।

    कैलालीको टीकापुरमा ८ जना कार्यपालिका सदस्य चयन गर्न १८ गते निर्वाचन हुने भएको छ । टीकापुर नगरपालिका कार्यपालिका सदस्यका लागि ११ जनाको उम्मेदवारी परेको सहायक निर्वाचन अधिकृत लक्ष्मी ओडले जानकारी दिइन् ।

    ‘तीन पार्टीबाट ११ जनाको उम्मेदवारी परेको छ । अल्पसंख्यकमा कुनै पार्टीबाट उम्मेदवारी परेको छैन्’, ओडले भनिन्, ‘स्थानीय तहको निर्वाचनमा विजेता बनेका पाँच जना र बाहिरबाट तीन जना हुने गरी हुने आठ जना कार्यपालिका सदस्य चुनिनेछन् ।’

    कार्यपालिका सदस्यका लागि नागरिक उन्मुक्ति पार्टीबाट पाँच जनाको उम्मेदवारी परेको छ । नागरिक उन्मुक्ति पार्टीले तीन महिला सदस्यका लागि कैलाशपति चौधरी, रुपमति डगौरा थारु र सरस्वती तिरुवा र दुई दलित सदस्यका लागि दीपकबहादुर निसानी र मञ्जु विकलाई उम्मेदवार बनाएको छ ।

    त्यस्तै नेपाली कांग्रेसले दुई महिला सदस्यमा टंक वली कार्की र राजारानी चौधरीको नाम दर्ता गरेको छ । दलित सदस्यमा रामबहादुर नगार्जीको उम्मेदवारी परेको छ । नेकपा माओवादी केन्द्रले दुई दलित सदस्य दिलु कामी र चन्द्र नेपाली तथा एक महिला सदस्यमा लबरी चौधरीलाई उम्मेदवार बनाएको छ ।

    जानकी गाउँपालिकामा पनि कार्यपालिका सदस्य चयनका लागि मतदाता नामावली प्रकाशन भएको छ । जानकीमा ६ जना कार्यपालिका सदस्य चयनका लागि १५ गते निर्वाचन गरिने निर्वाचन अधिकृतको कार्यालयका निर्वाचन अधिकृत विश्वदीप बेसाराले बताए ।

    ‘मतदाता नामावली प्रकाशन गरेका छौं’, बेसाराले भने, ‘अब दाबी विरोध, मनोनयन दर्तालगायका कार्य हुनेछन् । अनि १८ गते निर्वाचनको तयारी छ ।’ कैलालीको जोशीपुर गाउँपालिकामा पनि १८ गते निर्वाचन हुने निर्वाचन अधिकृत शिवराज भट्टले जानकारी दिए ।

    भजनीमा कार्यपालिका सदस्य चयनका लागि १७ गते निर्वाचन हुने भएको छ । भजनीमा आठ सदस्य चयनका लागि १३ जनाको उम्मेदवारी परेको छ । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij