Logo

२०८३, कार्तिक २२ गते शनिवार

२०८३, कार्तिक २२ गते शनिवार

स्थानीय तह निर्वाचन : कुन दलका कति जनप्रतिनिधि ?

स्थानीय तह निर्वाचन : कुन दलका कति जनप्रतिनिधि ?

  • 536
    SHARES
  • स्थानीय तह निर्वाचन : कुन दलका कति जनप्रतिनिधि ?

    काठमाडौं । गत वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनको मतगणनाको अन्तिम परिणाम लगभग आइसकेको छ । बाजुराको बूढीगङ्गा नगरपालिकामा मतदान हुन बाँकी छ भने उदयपुरको त्रियुगा नगरपालिकामा मतगणना जारी छ ।

    नेपालको संविधान २०७२ जारी भएपछिको यो दोस्रो स्थानीय तह निर्वाचनमा प्राप्त मतपरिणामका आधारमा खासगरी राष्ट्रिय राजनीतिक दलको अवस्थाको मूल्यांकन भइरहेको छ ।

    नेपालको संघीय र प्रादेशिक संसद्को समयावधि पनि आगामी मंसिरसम्म रहेको र अबको बढीमा सात महिनामा संसद्कै निर्वाचन हुने भएकाले पनि प्राप्त स्थानीय निर्वाचनको जोड घटाउको चर्चा चुलिएको हो ।

    यस निर्वाचनमा राष्ट्रिय राजनीतिक दलभन्दा बाहिरबाट काठमाडौं महानगरलगायत कतिपय ठूला नगरमा स्वतन्त्र उम्मेदवारको उदयले पनि निर्वाचन परिणामलाई रोचक बनाइदिएको छ ।

    स्थानीय तह निर्वाचनमा मतदाताले युवा र अघिल्लो निर्वाचनको काम गरी विशेषतः दुई मान्यता स्थापित गर्न खोजेको देखियो ।

    राजधानी काठमाडौंमा अवस्थित नेपालको सबैभन्दा पुरानो र ठूलो महानगरपालिका काठमाडौं महानगरपालिकामा पहिलो पटक मतदाताले राष्ट्रिय राजनीतिक दलभन्दा बाहिरबाट स्वतन्त्र उम्मेदवार बालेन्द्र साहलाई निर्वाचित गराएका छन् ।

    काठमाडौं महानगरसँगै जोडिएको ललितपुर महानगरपालिकामा भने मतदाताले ६५ वर्षीय चिरिबाबु महर्जनलाई पुनः चुनेका छन् । राजधानी बाहिर धरान र धनगढी उपमहानगरपालिकामा पनि मतदाताले परम्परागत दल बाहिरबाटै युवा नेतृत्वको चयन गरेका छन् ।

     

    यसरी सम्पन्न स्थानीय निर्वाचनमा मतदाताले दलभन्दा पनि कामलाई प्राथमिकता दिएको सन्देशका रुपमा लिन सकिन्छ । हालसम्म प्राप्त मतपरिणामअनुसार कांग्रेस पहिलो स्थानमा छ ।

    कांग्रेस सबैभन्दा बढी प्रमुख, उपप्रमुख, अध्यक्ष, उपाध्यक्ष, वडाध्यक्ष, महिला सदस्य, दलित महिला सदस्य र वडा सदस्यमा विजयी भएको छ । कांग्रेसबाट १३ हजार ७३७ जनप्रतिनिधि निर्वाचित भएका छन् ।

    त्यस्तै नेकपा एमालेबाट ११ हजार ८७२, नेकपा माओवादी केन्द्रबाट पाँच हजार ४४ र अन्य दल तथा स्वतन्त्र गरी चार हजार ४८ जनप्रतिनिधि निर्वाचित भएको निर्वाचन आयोगले जनाएको छ ।

    २०७४ सालमा तीन चरणमा सम्पन्न स्थानीय तह निर्वाचनमा कांग्रेसबाट ११ हजार ४५६, एमालेबाट १४ हजार १०० र माओवादी केन्द्रबाट पाँच हजार ४४० जनप्रतिनिधि निर्वाचित भएका थिए ।

    गत वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनमा कांग्रेसबाट १४० प्रमुख, ११० उपप्रमुख, १८८ अध्यक्ष, १९० उपाध्यक्ष, दुई हजार ६६१ वडाध्यक्ष, दुई हजार ६०० महिला सदस्य, दुई हजार ५४७ दलित महिला र वडा सदस्य पाँच हजार ३०१ निर्वाचित भएका छन् ।

    एमालेबाट ८२ प्रमुख, ११३ उपप्रमुख, १२३ अध्यक्ष, १२६ उपाध्यक्ष, दुई हजार १२७ वडाध्यक्ष, दुई हजार ३४० महिला सदस्य, दुई हजार २८५ दलित महिला सदस्य र चार हजार ६७६ वडा सदस्य निर्वाचित भएका छन् ।

    कूल निर्वाचित जनप्रतिनिधिका आधारमा माओवादी केन्द्र तेस्रो स्थानमा छ । माओवादीबाट नगर प्रमुखमा २५, उपप्रमुखमा ३३, पालिका अध्यक्षमा ९६, उपाध्यक्षमा ९५, वडाध्यक्षमा एक हजार ५३, महिला सदस्यमा ९६३, दलित महिला सदस्य ९७३ र वडा सदस्यमा एक हजार ८०६ निर्वाचित भएका छन् ।

    नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी (जसपा) नेपाल, लोकतान्त्रिक समाजवादी पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी र स्वतन्त्रबाट चार हजार ३४८ निर्वाचित भएको आयोगले जनाएको छ ।

    त्यस्तै ६ महानगरका प्रमुख र उपप्रमुख, ११ उपमहानगरका प्रमुख र उपप्रमुख, २७६ नगरपालिकाका प्रमुख र उपप्रमुख, ४६० गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष, ६ हजार ७४३ वडाध्यक्ष, सोही संख्यामा महिला सदस्य र दलित महिला सदस्य तथा १३ हजार ४८६ वडा सदस्य गरि कूल ३५ हजार २२१ पदका लागि निर्वाचन भएको थियो । निर्वाचनमा करिब एक लाख ४५ हजारले उम्मेदवारी दिएका थिए ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij