वेबटिभी खबर
काठमाडौं । राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको मध्यपहाडी लोकमार्गअन्तर्गत बाग्लुङको हटिया-बुर्तिबाङ खण्डमा अधुरो कालोपत्र भएको छ ।
निर्माण कम्पनीले कालोपत्रे गरेर सडक नबुझाउँदै सडकमा खाल्डा परेको, मापदण्डअनुसार कालोपत्र नसकेको र आवश्यक पूर्वाधार सम्पन्न नगरेको भन्दै मध्येपहाडी राजमार्ग आयोजना कार्यालय पर्वतले ठेकेदार कम्पनीलाई सात दिने स्पष्टीकरण सोधेको हो ।
मध्येपहाडी राजमार्ग आयोजना कार्यालय पर्वतले निर्माण व्यवसायीका नाममा आज एक सूचना प्रकाशित गर्दै सात दिनभित्र कार्यालयमा आई लिखित स्पष्टीकरण पेश गर्न भनेको छ ।
मध्येपहाडी राजमार्गमा काम सन्तोषजनक नभएपछि निर्माणको जिम्मा पाएको स्वच्छन्द-शंकरमाली जेभीलाई स्पष्टीकरण सोधेको हो । हटिया-बुर्तिवाङ खण्ड निर्माणको प्रगति सन्तोषजनक नभएको भन्दै आयोजनाले सात दिनभित्र स्पष्टीकरण बुझाउन भनेको हो ।
स्वच्छन्द-शंकरमाली जेभीका आधिकारिक प्रतिनिधि इ हेमराज गुभाजुका नाममा आयोजनाले सात दिनभित्र आधिकारिक प्रतिनिधि स्वयं कार्यालयमा उपस्थित भई स्पष्टीकरण पेश गर्न र सडक मर्मत तथा निर्माणको काम चाँडो सम्पन्न गर्न सूचना जारी गरिएको छ ।
कालोपत्र भएको सडकसमेत खाल्डा परेको, फिनिसिङ नगरेको र सम्झौताअनुसारको पूर्वाधार नबनाएको तथा पटक-पटक आयोजनाको निर्देशनलाई अटेरी गरेकाले स्पष्टकीकरण सोधेको मध्यपहाडी राजमार्ग आयोजना कार्यालयका प्रमुख नारायणदत्त भण्डारीले जानकारी दिए ।
सात दिनभित्र निर्माण कम्पनी कार्यालयमा आएर उचित जवाफ नदिए प्रचलित कानुन एवम् ठेक्का सम्झौताका शर्तबमोजिम कारबाही प्रक्रिया अघि बढाउने आयोजनाले चेतावनीसमेत दिएको छ ।
ठेक्काअन्तर्गत सडक मर्मत तथा निर्माणको काम सन्तोषजनक नभएपछि र लामो समय व्यतित हुँदा पनि कार्य प्रगति सुधार नभएपछि आयोजनाले स्वच्छन्द-शंकरमाली जेभीलाई पटक-पटक मौखिक तथा लिखित निर्देशन दिएको थियो ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij