वेबटिभी खबर
सर्लाही । भर्खरै सम्पन्न स्थानीय तहको चुनावमा सर्लाहीको ब्रम्हपुरी गाउँपालिका अध्यक्षमा चुनिएका रामपदारथ साह तेली देशरभरकै सबैभन्दा जेष्ठ पालिका प्रमुख हुन् । उनी ८० वर्ष पुगे ।
देशभरमै धेरै पालिका (२० वटा) भएको सर्लाहीले सबैभन्दा बढी उमेरका साहलाई पालिका अध्यक्षकाे रूपमा पाएर नयाँ रेकर्ड बनाएको छ ।
जिल्ला निर्वाचन कार्यालय सर्लाहीले आफ्नो फेसबुक पेजमार्फत देशभरकै पालिका प्रमुख/अध्यक्ष मध्ये साह जेष्ठ भएकाे भन्दै बधाई दिएको छ ।
२०७४ सालको निर्वाचनमा पनि साह चुनाव लडेर पराजित भएका थिए । अघिल्लो पटक राप्रपाबाट चुनाव लडेका साह यस पटककाे निर्वाचनमा भने कांग्रेसबाट चुनाव लडेका हुन् । उनी राप्रपा नेता सुनिलबहादुर थापासँगै कांग्रेस प्रवेश गरेका थिए ।
जिल्ला निर्वाचन कार्यालयका प्रमुख दिवाकर भुजेलले देशभरकै पालिका प्रमुख/अध्यक्ष मध्ये जेष्ठ प्रमुखमा साह चुनिएको बताए । उनका अनुसार चुनिएका पालिका प्रमुख मध्ये ८० वर्ष उमेरका साहबाहेक अरू कोही छैनन् ।

नेतृत्वमा युवा आउने पर्ने आवाज देशव्यापी बनेका बेला ८० वर्षीय उम्मेदवारले पालिका प्रमुखमा सहज जित्नु अनौठो मानिएको छ । रामपदारथले निवर्तमान पालिका अध्यक्ष ४३ वर्षीय विनोदकुमार साहलाई पराजित गरेका थिए । अघिल्लो चुनावमा विनोदले जित्दा निकटतम प्रतिस्पर्धी रामपदारथ नै थिए । यसपटक पार्टी परिवर्तन गरेर आफूभन्दा झण्डै आधा उमेरका युवालाई पराजित गर्दै देशभरमै सबैभन्दा जेठो पालिका प्रमुखको रेकर्ड रामपदारथले राखेका हुन् ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij