वेबटिभी खबर
काठमाडौं । मुगुको मुगुम कार्मारोङ्ग गाउँपालिका-२ स्थित जनजागृति प्राथमिक विद्यालयमा अध्यनरत विद्यार्थीको भविष्य अन्योलमा परेको छ । कक्षा ५ सम्म पढाई हुने यस विद्यालयमा दुई जना शिक्षकको दरबन्दी भएपनि एक जना शिक्षकले मात्र पढाईरहेका छन् ।
२०२८ सालमा स्थापना भएको यस विद्यालय २७ जना विद्यार्थीहरू अध्ययनरत छन् । करिब चार सय घरधुरी रहेको मुगुम गाउँमा लामा, तामाङ र दलित समुदायको बसोबास छ । त्यहाँ एउटा मात्र प्राथमिक विद्यालय छ ।
निम्न आयका भएका परिवारका बालबालिका अध्ययन गर्ने सो विद्यालयमा अध्यापन गराउन शिक्षक नियमित नबस्ने भएकाले पठनपाठनमा समस्या भएको अभिभावकको गुनासो छ । शिक्षक नियमित नबस्ने भएकाले बालबालिकालाई घोडा, चौंरी, गोठालो पठाउनु परेको अभिवावक उगिर्न कामीले बताए ।
हिमाली बस्ती भएको कारण ६ महिना पढाई हुने गरेको विद्यालयले जनाएको छ । अहिले यार्सा संकलन गर्ने सिजन भएको हुँदा केही विद्यार्थी यार्सा संकलनमा गएको र शिरानिचौरमा गाउँपालिकासँग सहकार्य गरेर पढाउने गरेको जनजाग्रती प्राथामिक विद्यालयका प्रधानध्यापक पासाङ लामाले बताए ।
अब आउँदा दिनहरूमा मुगु गाँउमा रहेको विद्यालय र चितैमा रहेको विद्यालयमा अध्यायन गर्ने वालबालिकाहरुको लागि भविष्य सुधारको लागि केही नयाँ स्वरुपले जनप्रतिनिधिहरूसँग सहकार्य गरेर जाने गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत सुवासचन्द्र रावलले जानकारी दिए ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij