वेबटिभी खबर
बाग्लुङ । गण्डकी प्रदेश सरकारले बाग्लुङमा केही योजनाहरूलाई प्राथमिकताका साथ अघि सारेको छ ।
गण्डकी प्रदेश सरकारले आफ्नो नीति तथा कार्यक्रममा बेलढुंगा हुँदै पञ्चकोट पुग्ने पदमार्ग, ढोरपाटनको गुरुयोजना बनाएर विकास गर्ने र ताराखोला र ढोरपाटनको आलु पकेट क्षेत्रलाई विशेष क्षेत्र घोषणा गरेर आलु उत्पादन बढाउने भएको हो ।
गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङद्वारा मंगलबार जारी सरकारको आगामी आर्थिक वर्ष २०७९/८० को वार्षिक नीति तथा कार्यक्रममा बाग्लुङको बेलढुंगादेखि पञ्चकोटसम्मको पर्यटकीय पदमार्ग निर्माणलाई अघि बढाउने, नेपालकै एक मात्र सिकार आरक्ष क्षेत्र रहेको ढोरपाटन उपत्यकाको गुरुयोजना बनाएर पर्यटकीय पूर्वाधार निर्माण गर्ने लगायतका कार्यक्रम समावेश गरिएको छ ।
यस्तै बाग्लुङको ढोरपाटन र ताराखोलामा रहेको आलु पकेट क्षेत्रलाई विशेष क्षेत्रका रुपमा विकास गरेर आलु उत्पादन बढाउनका लागि आवश्यक बजेटको व्यवस्थापन गर्ने सार्वजनिक गण्डकी प्रदेशको नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।
बेलढुंगा हुँदै पञ्चकोट आउने पर्यटकीय पदमार्ग निर्माण दुई वर्षअघि देखि सुरु भएको थियो । पदमार्गमा ताराखोलाको ढुंगा छापेर साइकलसमेत चलाउन मिल्ने बनाइएको थियो । अहिलेसम्म झन्डै एक किलोमिटर पक्की र एक किलोमिटर कच्ची पदमार्ग निर्माण गरिएको पदमार्गले सार्थकता पाउन झन्डै २ करोड बजेट लाग्नेछ ।
समुन्द्री सतहदेखि २ हजार ५०० मिटरमा साइकल ल्यान्ड सहितको पदमार्ग निर्माण थाले पनि चालु आर्थिक वर्षमा बजेट नआउँदा रोकिएको थियो । अहिले गण्डकी प्रदेश सरकारले उक्त बेलढुंगा हुँदै पञ्चकोट जोड्ने पदमार्गलाई प्राथमिकतामा राखेको छ ।
यस्तै ढोरपाटन उपत्यका क्षेत्रमा पर्यटकीय पूर्वाधार निर्माणका लागि प्रदेश सरकारले गुरुयोजना बनाउने भएको छ । प्रस्तुत नीति तथा कार्यक्रममा ढोरपाटनको गुरुयोजना बनाउन बजेट व्यवस्थापन गर्ने बताइएको छ । ढोरपाटन आफैंमा सुन्दर र चर्चित पर्यटकीय गन्तव्य भए पनि पर्यटकीय पूर्वाधारको समेत अभाव रहेको छ ।
नेपालमा निकै लोकप्रिय रहेको ढोरपाटन र ताराखोलाको आलु उत्पादनलाई बढाउने प्रदेश सरकारले नीति तथा कार्यक्रममार्फत चासो देखाएको छ । आलु उत्पादनका लागि बाग्लुङको ताराखोला, ढोरपाटन, कास्कीको हेम्जा, गोरखाको धार्जे लगायतको आलु पकेट क्षेत्रलाई विशेष क्षेत्रकारूपमा घोषणा गरेर अनुदान दिने र आलु उत्पादन बढाउले गण्डकी प्रदेश सरकारले लक्ष्य लिएको छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij