Logo

२०८३, कार्तिक २३ गते आइतवार

२०८३, कार्तिक २३ गते आइतवार

बर्खा नलाग्दै धान रोपन्न सुरु

बर्खा नलाग्दै धान रोपन्न सुरु

  • 465
    SHARES
  • बर्खा नलाग्दै धान रोपन्न सुरु

    लमजुङ । पहाडी जिल्ला लमजुङमा बर्खा नलाग्दै बर्खे धान रोपन्न सुरु भएको छ । जिल्लामा मकै बाली भित्र्याएसँगै केही दिन अघिबाट उच्च पहाडी क्षेत्र एक हजार ६०० मिटर उचाइमा धान रोप्न सुरु गरिएको हो ।

    चाँडै मकै पाकेको ठाउँ र पानी पर्याप्त भइसकेको ठाउँहरूमा धान रोप्न सुरु भइसकेको कृषि ज्ञान केन्द्रका सूचना अधिकारी मदन रेग्मीले बताए ।

    उनले भने, ‘यस वर्ष पानी परिरहेकाले अब केही दिनपछि त जिल्लाका अधिकांश ठाउँहरूमा रोपाइँ हुनेछ । मर्स्याङ्दी गाउँपालिका-५ घेर्मुफाँटमा यतिबेला धमाधम धान रोपाइँ भइरहेको छ । यहाँ किसानले समूह बनाएर धान रोपाइँ गरिरहेका छन् । स्थानीयवासीले घेर्मुफाँटमा जौधान, मार्सी, झिनुवा, एक्ले जातको धान लगाउने गरेका छन् ।’

    मध्यनेपाल नगरपालिकाका किसान संगीत नेपालीका अनुसार मध्यनेपालका रिस्ती, भोर्लेटार फाँटलगायत पानी भएको ठाउँहरूमा रोपाइँ सुरु भएको छ । जिल्लाका केही ठाउँहरूमा रोपाइँका लागि तीव्र तयारी भइरहेको छ ।

    बेंसीसहर नगरपालिका-११ रामचोकबेंसीमा रोपाइँका लागि आली ताँस्ने, भित्ता सफा गर्ने, बाजो जमिन जोत्नेलगायत कार्य भइरहेको स्थानीयवासी ईश्वर सेढाईंले बताए ।

    मर्स्याङ्दी गाउँपालिका-८ घाम्राङका बासिन्दा गमप्रसाद गुरुङले भने, ‘पानी परिरहेको र अब आउने बिहीबारदेखि यहाँका स्थानीयवासीले रोपाइँ सुरु गर्न लागेका छन् ।’

    जिल्लामा ठूला-ठूला फाँटहरू रामचोकबेंसी, राइनासटार, धमिलिकुवाँ, चक्रतीर्थ, भलाखर्क, भोर्लेटार, दुईपिप्ले, सोतिपसल, परेवाडाँडा, सत्रसय, सुन्दरबजारलगायत स्थानमा चाँडै गहुँ, जौ तथा मकै पाक्ने ठाउँमा चाँडै रोपाइँ सुरु भएको उक्त केन्द्रले जनाएको छ ।

    जिल्लाका ४५ हजार ५० हेक्टर खेतीयोग्य जमिनमध्ये १५ हजार हेक्टरभन्दा बढी क्षेत्रफलमा धानखेती हुँदै आएको छ । जिल्लाका किसानले सावित्री, जेठोबुढो, रामधान, सुनौलो सुगन्ध, लोकतन्त्र, एक्लेजस्ता  उन्नत जातका धानलगायत  मकवानपुर, गोरखनाथ, लोकनाथ, मनसुली, युएस ३१२, उपज, वर्षे तीन हजार चारलगायत हाइब्रिड जातको धान लगाउँदै आएका छन् ।

    त्यस्तै कम पानी हुने ठाउँमा सुक्खा-१, सुक्खा-२ र सुक्खा-३ जातका धान लगाउने गरेका छन् । गत  वर्ष १४ हजार २६० हेक्टर क्षेत्रफलमा लगाइएको धान खेतीबाट ४४ हजार ७७६ मेट्रिक टन धान उत्पादन भएको थियो ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij