वेबटिभी खबर
पाल्पा । पाल्पाको बगनासकाली गाउँपालिकाको खानीगाउँका मगर युवाहरू नौमती बाजा संरक्षणमा लागिपरेका छन् । गाम्रीण तथा सहरी क्षेत्रमा नेपाली परम्परागत बाजा नौमतीको धुन गुञ्जिन छाडेपछि चाड पर्वलगायत शुभ कार्यका बेला सुनसान जस्तो बन्दै आएको थियो ।
पछिल्ला वर्षहरूमा यहाँका मगर जातिका युवाको अग्रसरताले नौमती बाजाको धुन सुनिन थालेको हो । रानीमहल पञ्चेबाजा मगर समूहका उपाध्यक्ष टीकाबहादुर बाह्रघरेले गाउँ तथा सहरमा समेत बाजा बजाउने माग आइरहेको बताए ।
पुर्खाको कला र सीप संरक्षणका लागि आफूहरूले चासो दिएको र यो पेसाको संरक्षणले नेपाली समाजलाई फाइदा पुगेको बाह्रघरेकाे भनाइ छ । गाउँमा पञ्चेबाजाको धुन गुञ्जिन छाडेको वर्षौंपछि पहिला सीप सिकेका केही युवा जुरमुराए अनि समूह बनाएर पञ्चेबाजा बजाउन थालेका हुन् ।
पञ्चेबाजा देवीदेवताको मन्दिरमा बजाइन्छ भने नौमती बाजा रमाइलोका लागि बजाइने गरिन्छ । अहिले नौमतीको धुनसँगै विवाह, व्रतबन्ध मात्र नभएर विभिन्न सामाजिक र सांस्कृतिक कार्यक्रम, पर्वमा पनि नौमतीको माग हुन थालेपछि समूहसँगै व्यक्तिगत रूपमा पनि उनीहरूको आय बढेको छ ।
पारिश्रमिकको केही भाग बाजा मर्मत तथा संरक्षणका लागि कोषमा राख्ने गरिएको समूहका सदस्य भेषबहादुर बाह्रघरेले जानकारी दिए । मगर युवाले परियार जातिका मानिसलाई गाउँमा बोलाई बाजा बजाउन सिकेका थिए । एक महिनामै बाजा बजाउन सिकेपछि शुभकार्य तथा मनोरञ्जनका लागि उनीहरू बाजा बजाउन व्यस्त हुन थालेका छन् ।
मगर जातिका युवाले बाजा बजाई दर्शकलाई पनि नचाउन थालेपछि स्थानीय बासिन्दा पनि दंग परेका छन् । परियार जातिका युवाले बाजा बजाउन छाडेपछि शुभकार्य पनि सुनसान जस्तै हुन थालेको थियो । यहाँका मगर जातिका युवाले २०६२ मा रानीमहल पञ्चेबाजा मगर समूह स्थापना गरी नौमती बाजाको संरक्षणमा जुटेका हुन् ।
सामाजिक विभेद र आर्थिक संकटका कारण दलित समुदायका परम्परागत पेसा बिस्तारै लोप हुन लागेकाले यसको संरक्षणका लागि राज्यको चासो बढाउन आवश्यक रहेको दलित अधिकारकर्मीको भनाइ छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij