Logo

२०८०, चैत्र १६ गते शुक्रवार

२०८०, चैत्र १६ गते शुक्रवार

स्थानीय निर्वाचन २०७९ का केही अनुभूति

स्थानीय निर्वाचन २०७९ का केही अनुभूति

  • 901
    SHARES
  • स्थानीय निर्वाचन २०७९ का केही अनुभूति

    २०७९ साल वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनका लागि खटिएका हामी दुईवटा बुथका १० जना कर्मचारी २७ गते नै मतदान केन्द्रमा पुग्यौँ ।हामी पुग्नुभन्दा अघि नै म्यादी प्रहरीहरू मतदान केन्द्रमा पुगिसकेका रहेछन् । हामी पुगेको केही समयपछि जनप्रतिनिधिहरू र केही व्यक्तिहरू आए ।

    images

    उनीहरूसॅंग एकछिन कुराकानी गर्यौँ । साँझ परेपछि उनीहरू फर्किए । १० जना म्यादी प्रहरी र ५ जना प्रहरीसहित हामी २५ जनाले साँझ ८ बजेतिर पालैपालो खाना खायौँ  । म्यादी प्रहरी र प्रहरीहरू आ–आफ्नो ड्यूटी गर्न थाले । नौजना कर्मचारी पुरुष र एकजना म मात्र महिला भएकोले केन्द्रमा मलाई एक्लै राती बस्न मन लागेन ।

    अरू केन्द्रमै सुत्ने व्यवस्था गर्नतिर लागे भने अधिकृतसॅंग निवेदनसहितको अनुमति मागेर म केन्द्र नजिकै रहेको साथीको कोठामा गएँ । भोलिपल्ट बिहान ८ बजे हामी कर्मचारी र सर्वदलीयको बैठक बस्यो । अधिकृतले बैठक पुस्तिकामा बैठकमा उठेका प्रस्ताव र भएका निर्णयहरू लेख्नको लागि मलाई अह्राउनु भयो ।

    मैले बैठकमा उठेका सातवटा प्रस्ताव र ती प्रस्तावका निर्णयहरू लेखेँ । छ वटा प्रस्ताव निर्णय गर्नको लागि खासै समय लागेन तर एउटा प्रस्तावले भने झण्डै एक घण्टाको समय लियो । केहीबेर दलका उम्मेदवार र प्रतिनिधिहरूका अनुहार राताराता भए । निकैबेर निर्णय हुन नसकेको प्रस्ताव थियो– आफैंले मत सङ्केत गर्न नसक्ने अशक्त मतदाताको सम्बन्धमा ।

    केहीले एकै घरका परिवारका सदस्यले त्यस्ता अशक्तको मत हालिदिन पाउने भन्न थाले भने केहीले त्यसो भनेर कहाँ हुन्छ ? अशक्त व्यक्तिको विचार र परिवारका अरू सदस्यको विचार एउटै नहुन सक्छ । त्यहाँ अशक्त व्यक्तिले छानेको व्यक्तिलाई उसको परिवारको सदस्यले मत नहाल्न सक्छन् । त्यसैले अशक्त व्यक्तिले जसलाई छान्यो त्यसले उसको मत सङ्केत गर्न पाउनुपर्छ भन्दै बोल्न थाले ।

    छोराहरूले वृद्ध बाबुआमाको मत हाल्दिन पाउनुपर्छ नि ! सम्पत्ति जसले खान्छ उसैले मत हाल्न पनि पाउॅंछ भन्दै अर्को चर्को अवाजले बोल्न थाल्यो ।अधिकृतले स्थानीय तह निर्वाचन ऐन, २०७३ मा अशक्त मतदाताको सम्बन्धमा लेखिएको दफा ३८ “कुनै मतदाताले दृष्टिविहीन वा शारीरिक अशक्तता वा अरू कुनै कारणवश आफैं मत सङ्केत गर्न नसक्ने भई मत सङ्केत गर्ने काममा सहयोग पुर्‍याउन आफ्नो एकाघरको परिवारको सदस्यलाई साथमा लैजान अनुमति मागेमा वा मत सङ्केत गर्ने काममा सहयोग पुर्‍याउन मतदान अधिकृतलाई अनुरोध गरेमा र मतदान अधिकृतलाई सो कुरा उपयुक्त लागेमा परिवारको त्यस्तो सदस्यलाई मतदाताको साथमा मत सङ्केत गर्ने स्थानमा प्रवेश गर्न अनुमति दिन वा मतदान अधिकृतले मतदाताको इच्छाअनुसार निजको मतपत्रमा मत सङ्केत गरिदिन सक्नेछ ।” पढेर सुनाउनुभयो ।

    ऐनमा भएको कुरा सुनाउॅंदा पनि सबैको चित्त नबुझेपछि पुनः छलफल गरियो । अन्त्यमा अशक्त मतदाताले जसलाई इच्छाउॅंछ त्यसैले नै मत सङ्केतमा सहायता गर्न पाउॅंछ भन्ने कुरामा निर्णय गरियो । बैठकपछि खाना खाएर दिउॅंसो मतदाता परिचय पत्र बाँड्ने काम गरियो । २९ गते सबैजना मिलेर मतदान केन्द्रलाई दुई बुथमा विभाजन गरी पाल हाल्ने, डोरी टाँग्नेलगायतका मतदान गर्नको लागि गर्नुपर्ने सम्पूर्ण तयारी गरियो । सो तयारीको लागि सर्वदलको भूमिका महत्त्वपूर्ण रह्यो ।

    बिहान ७ बजेबाट साँझ ७ बजेसम्म बाँकी रहेको मतदाता परिचय पत्र बाँड्ने, सबै दलका प्रतिनिधिहरू छान्ने कामसमेत त्यसै दिन सक्यौँ । ३० गतेअर्थात निर्वाचनको दिन बिहान सबै तयारीसहित हामीले ७ बजेबाट मतदानको सुरु गर्यौँ । मतदानको क्रममा मलाई केही मतदाताका कुराले धेरै छोयो । जुन कुरा लेख्न मन लाग्यो ।

    म मतदाताको परिचय पत्र रुजु गराउॅंदै थिएँ । एकजना महिला साथमा एउटी केटीसॅंग आउनुभएको थियो । मैले उहाँलाई साथमा कसलाई ल्याउनुभएको भनेर सोधेँ । उहाँले मेरी छोरी हो भन्नुभयो । ती छोरीको परिचय पत्र मागेँ । ती महिलाको थर सुनार थियो भने केटीको थर कोइराला । यसो हेर्दा आफ्नै आमाछोरी हुन् जस्तो लागेन । परबाट मत हाल्न लाइन बसेका एक जनाले यी आमाको छोराछोरी छन् । किन अर्कैलाई ल्याएको ? भन्दै बोले ।

    “भोट हाल्ने मेरो अधिकार हो । मेरो हात काम्छ । त्यसैले यो छोरीलाई ल्याएको । अरू कसैलाई बोलायौ भने म त भोटै दिन्नॅं । तिनीहरूले मैले भनेको ठाउॅंमा भोट दिॅंदैनन् ।” आमाको कुराले म छक्क परेँ । सॅंगै आउने नानीको मुहार उज्यालो थियो । मेरो मन पनि खुसी भयो । जे होस् थोरै भए पनि हाम्रो समाज परिवर्तन भएको छ भन्ने लाग्यो । छुन हुन्न भनेर पन्छ्याउने जातले आमा भनेर सॅंगै ल्याएको देख्दा को खुसी हुन्न हैन र ? मैले चुपचाप रुजु गराएर ती महिलालाई पठाएँ । रगतले भन्दा बढी भावनाले पो विश्वास जित्दो रहेछ । सम्बन्धको डोरी कागजमा भन्दा मनमा बलियो हुनुपर्दो रहेछ । मेरो मनमा यी कुराहरू केहीबेर खेले ।

    अर्को कुरा सम्झॅंदा हाँसो उठ्छ । एकजना पढेलेखे जस्तो देखिने महिला मास्क लगाएर आएकी थिइन् । उनी परिचय पत्र रुजु गराउन दिइन् । त्यस परिचय पत्रमा जन्ममिति २०५२ साल लेखिएको थियो । तर ती महिलाको उमेर झण्डै ५२ वर्ष भएजस्तै देखिन्थ्यो । मैले मास्क खोल्नुस् त भनेँ उनले मानिनन् ।

    नजिकैको उनको छिमेकीले यो त छोरीको फोटोजस्तो छ भनेपछि मेरो हातको परिचय पत्र थुतेर भाग्नुभयो । हामी सबै हेरेको हेर्यै भयौँ । “त्यत्रो जान्नेसुन्ने मान्छेले के लाजमर्दो काम गरेको होला, हेर हेर आफ्नै बिजेत गरिन्, विदेशमा भएको छोरीको परिचयपत्र पो ल्याकी रैछिन्‘हा..हा” भिडले अरू पनि के के भन्दै थियो । उनी लाज मान्दै त्यहाँबाट अलप भइन् ।

    मतदान केन्द्र ‘क’ मा ठिक ५ बजे र ‘ख’ मा ५:३० मा मतदान कार्य सम्पन्न भयो । २०२८ मतदातामध्ये ३५ जना मतदाता परिचय पत्र लिन आएनन् । दुई वटा बुथमा १५५४ मत खसेको थियो । बाँकी मतदाता मतदान गर्न आएनन् । मतदान कार्य सम्पन्नपछिका कागजी प्रक्रियाका कामहरू र मत पेटिका सिलबन्दीका कामहरू सकेर अधिकृतहरूसॅंग बिदा भई हामी आ–आफ्नो घरतिर लाग्यौँ ।

    अन्यमा, व्यक्ति सशक्त र अशक्त जेजस्तो भए तापनि उसको मतचाहिॅं शक्तिशाली हुने रहेछ । हाम्रो समाजले बनाएको जातीय ट्याग, आरक्षणको माला फरक–फरक भए पनि मत भनेको जसले हाले पनि एउटै रहेछ । मत हाल्न जाने लाइन, मत हालेका मतदाता चिनिन प्रयोग गरिने मसी, मतदाताले प्रयोग गर्ने स्वस्तिक छाप, मतपत्र खसाल्ने मतपेटिका सबै एउटै त हुने रहेछन् । भोटको महत्त्व हुनु भनेको मानिसको महत्त्व हुनू रहेछ ।

    सशक्त होस् या अशक्त, गरिब होस् या धनी, उॅंचो जात होस् या निचो जात, जो जे जे भए पनि सबै मानिस नै हुन् । आशा गरौँ, व्यक्ति व्यक्तिबिचको दूरी बढाउने खाडलहरू पूर्ण रूपमा पुरिउन् । नारामा मात्र सीमित रहेका मन दुखाउने अनेकौँ पर्खालहरू अझै बाँकी छन्,ती भत्किॅंदै जाउन् । स्थानीय निर्वाचनमा चुनिएका उम्मेद्वारहरूले मेरो र तेरो नभनी शिक्षा, स्वास्थ्यलगायतका महत्त्वपूर्ण विषयमा ध्यान दिउन् । मतदान गर्नु आफ्नो स्वैच्छिक अधिकार हो । सो अधिकार प्रयोग गर्ने सबैलाई धन्यवाद । सफल हुने सम्पूर्ण उम्मेदवारलाई हार्दिक शुभकामना ।

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology