वेबटिभी खबर
चितवन । विज्ञहरूले उमेर नपुगी जन्मिएका शिशुको आँखा परीक्षण गराउनुपर्नेमा जोड दिएका छन् । अन्य शारीरिक बनावटसँगै आँखाको विकास पनि राम्रोसँग भइनसकेका कारण आँखा परीक्षण गराउनुपर्ने विज्ञहरूले सुझाएका हुन् ।
रेटिना विज्ञ डा.संयम बजिमयले सात/आठ महिनामा एक दशमलव पाँच किलोग्रामभन्दा कम तौल भएका शिशुको अनिवार्य आँखा परीक्षण गराउनुपर्ने बताए । त्यस्ता शिशुको समयमा आँखाको परीक्षण नभएमा अन्धो पनि हुन सक्ने उनको भनाइ छ ।
डा.बजिमयले भने ‘समयमा उपचार पायो भने कोही पनि अन्धो हुँदैन ।’ समय पुगेर जन्मिएका शिशुको पनि छ महिनभित्र आँखा परीक्षण गराउनुपर्ने उनले बताए । नवजात शिशुमा बंशाणुगत रोग हुनसक्ने भन्दै डा.बजिमयले समयमै उपचार पाएमा समस्या नहुने जानकारी दिए ।
पहिले-पहिले कम तौलका शिशुहरुको उपचार कठिन थियो तर अहिले प्रविधिको विकास र जनशक्तिको व्यवस्थाले कम तौलका शिशुलाई बचाउन सकिएको छ ।
भरतपुर अस्पतालको बाल सघन उपचार कक्ष (एनआईसियु)का प्रमुख तथा बरिष्ठ बाल रोग विशेषज्ञ डा.ओमकृष्ण पाठकले अहिले कम तौलका शिशुलाई पनि उपचार गरेर बचाउन सकिएको बताए । त्यस्ता शिशुको शरीरका अंग कमजोर हुने जानकारी दिँदै उनले भने, ‘रेटिनोप्याथी अफ प्रिम्याच्युरिटी प्रमुख समस्या हुने गरेको छ ।’
बालसघन उपचार कक्षमा राखेर अक्सिजन दिइएका, संक्रमण भएका, जन्मदा कृत्रिम श्वासप्रश्वास दिनुपरेका, लामो समय सिप्याप र भेन्टिलेटरमा राखेर उपचार गरिएका शिशुलाई आँखामा समस्या आउने डा.पाठकको भनाइ छ ।
सकेसम्म यसरी उपचार गर्नुपर्दा कम अक्सिजन दिने प्रयास गरिने भन्दै उनले आँखा स्क्रिनिङ गर्न सुझाव दिए । शिशुको आँखाको समयमा उपचार हुन नसकेमा अन्धोपन हुन सक्ने र त्यस्ता शिशुलाई तीन चार हप्तामा आँखाको परीक्षण गराउन डा.पाठकले बताए ।
चितवन मेडिकल कलेजमा क्रिटिकल केयर हेर्दै आएका बाल रोग विशेषज्ञ डा.विराज पराजुली ३७ हप्ता अघि जन्मिएका शिशुको शरीरले पूर्णता नपाउने बताए । त्यस्ता शिशुको आँखाको रेटिना विकास नहुँदै अक्सिजन दिनुपर्ने अवस्था आयो भने र संक्रमण भयो भने आँखामा समस्या आउने उनको भनाइ छ ।
सैतिस हप्ताभन्दा कम समयमा जन्मिएका र ३० दिनभित्रै अक्सिन दिनुपर्ने र संक्रमण भएका शिशुको आँखामा जोखिम बढी हुनसक्छ । भरतपुर आँखा अस्पतालका बाल नेत्ररोग विशेषज्ञ डा.मनिषा श्रेष्ठ कम उमेरमा जन्मिएका शिशुको कम तौल हुने र उनीहरूमा विशेष प्रकारको समस्या आउने बताइन् ।
आँखाको पर्दामा असर देखिने भन्दै उनले रेटिनोप्याथी अफ प्रिम्याच्युरिटीको सम्भावना धेरै हुने बताइन् । डा.श्रेष्ठले भनिन्, ‘समयमा उपचार पाएमा उनीहरू अन्धो हुनबाट जोगिन्छन् ।’ बाल सघन उपचार कक्षमा रहेर अक्सिजन प्रयोग गरिएका बिरामी शिशुको अनिवार्य आँखा परीक्षण गराउन उनले सुझाव दिइन् ।
भरतपुर आँखा अस्पतालमा यसप्रकारको समस्या लिएर प्रत्येक महिना पाँच जनाको हाराहारीमा बिरामी आउने गरेका छन् । दैनिक बहिरंग सेवामा एक सय हाराहारी शिशु उपचारका लागि आउने गर्दछन् ।
तीमध्ये पाँच जनालाई समस्या नै हुने गरेको छ । भरतपुर आँखा अस्पताल र यसका सेवा केन्द्रमा आँखाको उपचार हुने भएकाले यस्ता शिशुलाई समयमै उपचार गर्न उनले सुझाव दिइन् ।
सुरुको समयमा सामान्य परीक्षण गरेमा निको हुने भए पनि समय-समयमा उपचार नगर्दा जटिल समस्या आउने भएकाले चिकित्सक तथा स्वास्थ्यकर्मीले अभिभावकलाई आँखाको परीक्षण गराउनुपर्छ भन्ने विषयमा सचेतना जगाउने गरी काम गर्नुपर्ने र अन्य बालबालिकाको पनि समय समयमा आँखाको परीक्षण गराउनु पर्नेमा चिकित्सकको भनाइ छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij