वेबटिभी खबर
उदयपुर । त्रियुगा नगरपालिका क्षेत्रमा किसानलाई आत्मनिर्भर बनाउन नगरपालिकाले जेठको दोस्रो हप्तादेखि आधुनिक धानको बीउ अनुदानमा वितरण गर्दै आएको छ ।
नगरपालिकाको कृषि विकास शाखाले विभिन्न वडाका किसानलाई ५० प्रतिशत अनुदानमा आधुनिक धानको बीउ उपलब्ध गराएको हो । शाखाका प्रमुख माधव राउतका अनुसार अहिलेसम्म झण्डै आठ टन धानको बीउ वितरण गरिसकिएको र अझै पनि वितरण गर्ने कार्य जारी रहेको छ ।
किसानलाई वितरण गरिएकाे बीउमा राधा, सवरसव, रञ्जीत, रातो बासमती, रामधानलगायत आधुनिक धानको बीउ रहेको उनले जानकारी दिए । आधुनिक धानको बीउ हरेक वर्ष वितरण गरिँदै आइएकाले नगरका किसानले धान उत्पादन पनि वृद्धि गर्दै लगेका छन् ।
नगरपालिकाको असारी, पोर्ताहा, जोगिदह र लक्ष्मीपुर क्षेत्रमा बढी लल्काबासमती र रामधान उत्पादन हुने गरेको कारण आफूहरूले सोही धान बढी लगाउने गरेको पोर्ताहका किसानले बताए ।
नगरको चुहाडे, राजाबास, गैरुन, गाईघाट, भुल्के र बगाहा, श्रीपुर क्षेत्रमा बढी मात्रमा रञ्जीत धान र रामधान तथा बासमती धान उत्पादन भएको त्यस क्षेत्रका किसानले जानकारी दिए ।
आधुनिक धानको बीउ अनुदानमा वितरण गर्दै आएकाले झण्डै २५ प्रतिशत धान उत्पादन बढेको किसान हरेराम चौधरी र कर्णबहादुर खड्काले बताए ।
उनले भने, ‘दुई वर्षअघि आफूहरूले दश-दशकठ्ठा जग्गामा परीक्षणकोरूपमा राम धान र रञ्जीत धान लगायौं, प्रतिकठ्ठा तीन मनसम्म धान उत्पादन हुने जग्गामा नयाँ बीउ लगाएपछि प्रतिकठ्ठा चार मनदेखि पाँच मनसम्म धान उत्पादन हुन थाल्यो ।’
आधुनिक धानको बीउ प्रयोगसँगै किसानले धान उत्पादनमा वृद्धि गर्न थालेपछि किसानबाटै आधुनिक धानका बीउको माग पनि बढ्दै जान थालेको कृषि शाखाले जनाएको छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij