Logo

२०८३, कार्तिक २५ गते मंगलवार

२०८३, कार्तिक २५ गते मंगलवार

विमानस्थल निर्माणका लागि सम्भावित स्थानको अध्ययन सुरु

विमानस्थल निर्माणका लागि सम्भावित स्थानको अध्ययन सुरु

  • 702
    SHARES
  • विमानस्थल निर्माणका लागि सम्भावित स्थानको अध्ययन सुरु

    काठमाडौं । विमानस्थल निर्माणका लागि नागरिक उड्डयन प्राधिकरणले आइतबार स्याङ्जा र पाल्पाका सम्भावित स्थानको अवलोकन तथा निरीक्षण गरेको छ ।

    स्याङ्जाको चापाकोट नगरपालिका र पाल्पाको रामपुर नगरपालिकाका जनप्रतिनिधि विमानस्थल निर्माणका लागि मन्त्रालयमा डेलिगेशन गएसँगै प्राधिकरणबाट इञ्जिनियरसहितको टोलीले यहाँका सम्भावित स्थानको अध्ययन अवलोकन गरेको हो ।

    स्थानीय जनप्रतिनिधि तथा प्राविधिकको टोलीले स्याङ्जाको चापाकोट-८ स्थित मचेडाँडा, पाल्पाको रामपुर-६ को बिट्टार र १० को कुमाल गाउँको स्थलगत अवलोकन गरेको प्राधिकरणका इञ्जिनियर पुष्प न्यौपानेले जानकारी दिए ।

    ‘यहाँका जनप्रतिनिधि स्याङ्जाको चापाकोट तथा पाल्पाको रामपुरमध्ये उपयुक्त हुने जुनसुकै स्थानमा विमानस्थल बनाउनका लागि पहल गरिदिन मन्त्रालयमा डेलिगेशन जानुभएको थियो’, उनले भने ।

    ‘जनप्रतिनिधि र प्राविधिकको टोलीले रामपुर र चापाकोटका सम्भावित स्थानको स्थलगत अवलोकन गरेका छौं, प्राविधिक हिसाबले जुन उपयुक्त हुन्छ सोही रिपोर्ट मन्त्रालयमा पेश गर्ने र त्योसँगै आगामी प्रक्रिया सुरु हुनेछ ।’

    सम्भावित स्थानको आधारभूत तथ्यांक संकलन गरिएको उनले बताए । तीन वटा ठाउँमध्ये अहिले नै यही स्थान उपयुक्त छ भन्न नसकिने भएकाले यस पछाडि विस्तृत अध्ययन प्रतिवेदन तयार पारिने उनले जानकारी दिए ।

    ‘प्राविधिक दृष्टिले कुन स्थान उपयुक्त हुन्छ त्यो प्रतिवेदन आएपछि मात्रै अर्को चरणको काम सुरु हुनेछ’, उनले भने, ‘त्यसका लागि स्थानीय स्तरबाट निर्माण कार्यका लागि राजी छौं भनेर आएमा मन्त्रालयको सैद्धान्तिक सहमतिमा विस्तृत अध्ययन प्रतिवेदन तयार गर्ने, वातावरणीय प्रभाव मूल्यांकनका काम अगाडि बढ्नेछ ।’

    स्याङ्जाको दक्षिणी भेग, पाल्पाको पूर्वी भेग र तनहुँको पश्चिमी भेगका नागरिकको सहजता र मागका आधारमा यहाँ पटकपटक विमानस्थल निर्माणको चर्चा हुँदै आइरहेको छ ।

    रामपुर र चापाकोटका सम्भावित स्थानको अध्ययन अवलोकनका लागि प्राविधिकको टोली आएसँगै धेरै लामो समयदेखि यहाँका नागरिकले उठाएको मागलाई सम्बोधन हुने विश्वासमा स्थानीय छन् ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij