वेबटिभी खबर
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले संयुक्त राज्य अमेरिकासँगको स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी) सम्झौता गरेको तथ्य सार्वजनिक भएको छ । ओली नेतृत्वको सरकारले नेपाली सेनाको माध्यमबाट अमेरिकासँग एसपीपी स्थापना गर्न माग गर्दै पत्राचार गरेको खुलेको छ ।
२७ अक्टोबर २०१५ (कात्तिक २०७२) मा तत्कालीन अमेरिकी राजदूत अलाइना बि.तेप्लिजलाई पत्राचार गर्दै नेपालमा एसपीपी कार्यान्वयन गर्न पाउनु नेपालका लागि सम्मानको विषय भएको उल्लेख गर्दै पत्राचार गरेको थियो ।
‘नेपाल सरकारले निर्देशन दिए बमोजिम निकट भविष्यमा नेशनल गार्ड स्टेट पार्टनरसिप प्रोग्राम नेपालमा पनि स्थापना गर्न आधिकारिक रूपमा आग्रह गर्दछौं,’ नेपाली सेनाले २७ अक्टोबर, २०१५ मा अमेरिकी दुतावसलाई पठाएको पत्रमा लेखिएको छ । सो पत्रमा रक्षा मन्त्रालय तथा परराष्ट्र मन्त्रालयलाई पनि बोधार्थ दिइएको छ ।
पत्र लेखिएको समयमा एमाले अध्यक्ष ओली पहिलो कार्यकालका लागि नेपालको प्रधानमन्त्री भएका थिए । अमेरिकी दुतावासलाई पत्र पठाउँदा रक्षा मन्त्रालयको जिम्मेवारी पनि ओलीले नै सम्हालेका थिए । उनले कात्तिक १९ गतेमात्र रक्षा मन्त्री नियुक्त गरेका थिए ।
प्रमुख प्रतिपक्षी दल एमालेले एसपीपी प्रकरणमा लगातार संसदमा कुरा उठाउँदै आएको छ । बिहीबारको प्रतिनिधि सभा बैठकमा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले एमालेले सम्झौता गरेको प्रमाण भए सार्वजनिक गर्न चुनौती दिएका थिए ।

ओली सरकारको बेला एसपीपी सम्झौता भएको पुष्टि गर्न ईश्वर पोखरेलको चुनौती
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij