वेबटिभी खबर
काठमाडौं । आजदेखि लागू भएको निषेधाज्ञा पूर्णरुपमा कार्यान्वयन भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
निषेधाज्ञाको पहिलो दिन कार्यालय समयमा केहि भीड देखिएपनि समग्रमा निषेधाज्ञा पूर्ण रुपमा कार्यान्वयन भएको प्रशासन कार्यालयले जनाएको हो ।
पहिलो दिनको निषेधाज्ञा उलंघन गरेको भन्दै प्रहरीले धेरै सवारी साधन र व्यक्तिलाई होल्ड गरेको थियो ।
काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले राजमार्गमा होल्डमा परेका यात्रुहरुलाई सहजीकरण गर्दै गन्तव्य स्थलमा पुराइसकिएको जानकारी दिए । कतै पनि अलपत्र यात्रु नभएको र अलपत्र अवस्थामा पाइए उद्धार गरिने उनले बताए ।
त्यस्तै प्रशासन कार्यालयमा विभिन्न कामका लागि पास लिन आउनेको भीड बढेकोले अत्यावश्यक कामका लागि प्रहरीले सहजीकरण गर्ने बताए । ‘पासका लागि प्रशासन आउनु पर्दैन,’ उनले भने ।
कोरोना संक्रमितको संख्या बढेपछि सरकारले आजदेखि बैशाख मसान्तसम्म उपत्यकामा निषेधाज्ञा लागू गरेको छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij