वेबटिभी खबर
नयाँ दिल्ली । भारतमा दैनिक कोरोना संक्रमितको संख्या १२ हजारभन्दा बढी भेटिएको छ । भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयका अनुसार बिहीबार गरिएको कोरोना परीक्षणमा १२ हजार ८५६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । बुधबार पनि १२ हजार २१३ जनामा संक्रमण देखिएको थियो ।
संक्रमितको यो संख्या झण्डै चार महिना यताकै उच्च हो । कोरोनाको तेस्रो लहर कम भएसँगै भारतमा संक्रमित हुनेको संख्या निकै कम थियो । त्यसैगरी बिहीबार १४ जनाको संक्रमणकै कारण निधन भएको छ । त्यसैगरी सक्रिय संक्रमितको संख्या बढेर ६१ हजार ७०६ पुगेको छ ।
भारतमा कोरोना परीक्षण दर बढाएसँगै बढी संक्रमित भेटिएका हुन् । अहिले भारतमा दैनिक चार लाख जनाको नमुना परीक्षण भइरहेको छ । कोरोना संक्रमणको लहर उत्कर्षमा पुगेका बेला दैनिक २० लाखसम्म परीक्षण हुने गरेको थियो ।
भारतको महाराष्ट्र राज्यमा कोरोनाको प्रभाव सबैभन्दा बढी देखिएको छ । महाराष्ट्रमा मात्रै एकै दिन ४ हजार २५५ जना नयाँ संक्रमित भेटिएका थिए ।त्यसैगरी केरला राज्यमा पनि संक्रमणको प्रभाव बढी छ । त्यहाँ ३ हजार ४१९ जना संक्रमित पाइएका छन् ।
राजधानी नयाँ दिल्लीमा पनि संक्रमण बढ्दै गएको छ । पछिल्लो २४ घण्टामा एक हजार ३२३ जना नयाँ संक्रमित भेटिएका छन् । कर्नाटक राज्यमा पनि संक्रमण बढ्दै गएको भारतीय संचार माध्यमहरुले जनाएका छन् ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij