वेबटिभी खबर
म्याग्दी । म्याग्दीको बेनी नगरपालिका-१ अर्जमलाई बंगुरको साना व्यावसायिक कृषि उत्पादन केन्द्र (पकेट) बनाइएको छ ।
परम्परागतरूपमा सुँगुर र बंगुर पालन गर्दै आएका त्यहाँका कृषकलाई व्यावसायिक बनाउन नगरपालिकाले चालू आर्थिक वर्षदेखि पकेट क्षेत्र घोषणा गरेको हो ।
नगरपालिकाको पशु सेवा शाखाका प्रमुख जनाश्रित श्रेष्ठले प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत अर्जम पशुपालन तथा बहुउद्देश्यीय कृषक समूहमार्फत बंगुर पकेट क्षेत्र घोषणा गरिएको जानकारी दिए ।
उक्त कार्यक्रमका लागि चालू आर्थिक वर्षमा १० लाख विनियोजन भएकामा समूहमा आबद्ध कृषकलाई बंगुरकाे खोर निर्माण र पाठापाठी खरिदमा अनुदान दिइएको छ । नगरपालिकाको ५० प्रतिशत अनुदानमा २२ कृषकले बंगुरको सुधारिएको खोर बनाएका समूहका अध्यक्ष नरबहादुर थापाले बताए ।
‘बाइस जनालाई दुई/दुई वटाका दरले पाख्रीबास जातको बंगुरका पाठापाठी उपलब्ध गराएका छौं’, उनले भने, ‘पानी पर्दा ओत लाग्ने र खुला ठाउँमा बस्ने, उमेर समूहअनुसार पोथी र भालेलाई छुट्टाछुट्टै राख्न मिल्ने आधुनिक खोर बनाएका छौं ।’
खोर निर्माणका लागि प्रति कृषक ३५ हजारका दरले अनुदान दिइएको अध्यक्ष थापाले बताए । एउटा खोरमा १० भन्दा बढी बङ्गुर पाल्न सकिन्छ । करिब ३०० घरधुरी रहेको अर्जमका अधिकांशका घरमा धराने कालो जातको सुँगुर पालेका छन् ।
यसअघि परम्परागत शैलीका खोरमा बंगुर पालिएको थियो । घरायसी उपभोगका लागि बंगुर, सुँगुर पाल्दै आएका अर्जमका कृषकको आयआर्जन सुधारका लागि पकेट क्षेत्र सञ्चालन गरिएको वडासदस्य ताराप्रसाद थापामगरले जानकारी दिए ।
पाठापाठी र मासुका लागि बंगुर सुँगुरको माग बढेको छ । बाग्लुङ, बेनीलगायत बजार क्षेत्रबाट सुँगुरको माग आउने गरेको छ । धेरै पाठापाठी जन्माउने, छिटो हुर्कने, घरमा फालिएको खानेकुराको सदुपयोग आम्दानी हुने भएकाले त्यहाँका बासिन्दाले बंगुरपालनलाई व्यावसायिक बनाउन थालेका छन् ।
प्रतिकिलो ५०० को हाराहारीमा बंगुर बिक्री हुन्छ । एउटै बङ्गुरलाई एक वर्ष पालेमा ५० हजारभन्दा बढी मूल्य पार्न सकिने कृषकको भनाइ छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij