वेबटिभी खबर
काठमाडौं । सर्वसाधारणमा शेयर जारी नगरेका बीमा कम्पनीहरू मर्जरमा जान सक्ने भएका छन् । पछिल्लो समय बीमा कम्पनीहरूलाई मर्जरमा जान समितिले दबाब दिइरहेको र फोर्स मर्जरमा जानका लागि विभिन्न किसिमका सुविधाहरू दिइरहेको छ ।
यसैका लागि हालै गाभिने तथा प्राप्ति गर्ने सम्बन्धी थप व्यवस्थासहित परिपत्र जारी गरेको छ । जसमा सर्वसाधारणमा शेयर जारी गरिसकेका वा गरिनसकेका इजाजतपत्र प्राप्त बिमकहरू एक आपमा मर्जरमा जान मिल्ने समितिले जनाएको छ ।
तर मर्जरमा गएका बीमा कम्पनीको कुल जारी पुँजीको कम्तीमा ३० प्रतिशत शेयर सर्वसाधारणमा बिक्री वितरण नभएको अवस्थामा त्यस्तो नपुग अंश सर्वसाधारणमा जारी गर्ने व्यवस्थासम्बन्धित् बीमा कम्पनीले गर्नुपर्ने परिपत्रमा उल्लेख छ ।
त्यस्तै बीमा समितिबाट तोकेको बीमा कोष र अनिवार्य जगेडा कोषको अनुपात पुगेका वा नपुगेको कम्पनीहरू मर्जरका योग्य हुनेछन् । तर उक्त कम्पनीहरू मर्जरमा गएपछि बीमा कोष र अनिवार्य जगेडा कोषको अनुपात तोकिए बमोजिम कायम गर्नुपर्ने व्यवस्था छ ।
मर्जरका लागि सैद्धान्तिक सहमति प्राप्त गरेका बिमकहरूले गाभिने वा प्राप्ति प्रक्रियालाई मनासिव कारणसहित बीमा समितिको स्वीकृति नलिई आफूखुसी भंग गरि त्यस्तो प्रक्रियाबाट अलग भएको निर्णय गर्न नपाइने समितिले जनाएको छ ।

Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij