वेबटिभी खबर
वीरेन्द्रनगर । वीरेन्द्रनगरकी सिर्जना गुरुङले साँझ बिहान पेटभर खान पाइएला भनेर नसोचेकाे बताएकी छिन् । सानै उमेरमा विवाह गरेकी उनको आर्थिक अवस्था नाजुक रहनुका साथै मजदुरी गरेर ल्याएको पैसाले साँझ बिहानको गुजारा चलाउन समस्या थियो ।
‘अटो रिक्सा’ चलाउन थालेपछि अहिले उनको आर्थिक अवस्था सुधार हुँदै आएको छ । ‘अहिले भोकै बस्नुपरेको छैन’, सिर्जनाले भनिन्, ‘अटो चलाएपछि पेटभर खान पाएका छौं’, उनले दैनिक गुजारा गर्नाका साथै मनग्य आम्दानी गर्न सफल भएकी छिन् ।
अटो चलाएर मासिक ३० हजार बढी आम्दानी हुने गरेको सिर्जनाले बताइन् । सरकारी विद्यालयमा पढाउँदै आएका छोराछोरीलाई अहिले बोडिङ स्कुलमा पढाउने सोच भएको उनी बताउछिन् ।
वीरेन्द्रनगर नगरपालिकाले महिलालाई लक्षित गरेर एक महिनासम्म अटो रिक्सा चलाउने तालिम दिने कार्यक्रम ल्याएको थियो । उनले उक्त तालिम लिएर त्यसपछि नगरपालिकाबाट अटो किन्न २ लाख सहयोग पाएकी थिइन् ।
प्रदेशको राजधानी रहेको वीरेन्द्रनगरमा उपत्यकाभित्रको सार्वजनिक यातायात भनेकै अटो रिक्सा रहेकाे छ । वीरेन्द्रनगर नगरपालिकाका प्रमुख मोहनमाया ढकालका अनुसार महिला स्वरोजगार कार्यक्रममार्फत तालिम लिएका १५ जनाले अहिले अटो चलाउँदै आएका छन् ।
वीरेन्द्रनगरको झुप्रा खोलामा गिट्टी कुट्ने र बालुवा चाल्दै आएकी २८ वर्षीया पवित्रा रावतले अहिले अटो चलाउँदै आएकी छिन् । पहिले मजदुरी गरेर कमाएको पैसाले घरखर्च चलाउन कठिन भएकाे उनी अहिले अटो चलाउन थालेपछि मासिक ५० हजार देखि ६० हजारसम्म आम्दानी हुने गरेको बताउछिन् ।
नगरपालिकाले विपन्न महिलालाई अटो रिक्सा तालिम दिएपछि यहाँका महिलाको अटोतर्फ आर्कषण बढेको हो । अटोबाट राम्रो आम्दानी भएको देखेपछि अहिले छिमेकी महिला पनि अटो चलाउन थालेको अटो चालक मौसमी शाहीले बताइन् ।
‘मैले अटो रिक्सा तालिम लिने बेलामा छोरी मान्छेले पनि अटो चलाउने भन्ने दिदीबहिनी नै अहिले अटो चलाएर आम्दानी गर्न पाए हुन्थ्यो भनेर सोध्नुहुन्छ’, उनले भनिन्, ‘कतिपयले त अटो किनेर चलाउन सुरु पनि गर्नुभएको छ ।’
पुरुषको तुलनामा महिला चालकले ट्राफिक नियम पालना गर्ने भएकाले दुर्घटना पनि कम हुने गरेको ट्राफिक प्रहरी यज्ञबहादुर वलीले बताए । ‘महिला चालकले तीव्र गतिमा चलाउँदैनन् र दुर्घटना हुने सम्भावना कम हुन्छ’, उनले भने, ‘प्राय महिला चालकले लापर्बाही गर्दैनन् ।’
महिलाले संवेदनशील भएर अटो चलाउने गरेको ट्राफिक प्रहरी वलीको भनाइ छ । वीरेन्द्रनगर नगरपालिकाकी प्रमुख मोहनमाया ढकालले महिला आफ्नै खुट्टामा उभिनका लागि यो पेसा रोज्न थालेको बताउछन् ।
‘सुरुसुरुमा त हामीले खोलेको जति संख्यामा पनि आवेदन पाएनौं’, उनले भनिन्, ‘अटो चलाउने भनेपछि अर्कै सोचाइ हुन्थ्यो अब भने कार्यालयमै आएर हामी यो व्यवसाय गर्छौं तालिम कहिले खुल्छ भनेर सोध्नुहुन्छ ।’
नगरपालिकाको ‘महिला स्वरोजगार कार्यक्रम’ अन्तर्गत आर्थिक वर्ष ०७५/७७ बाट अटो रिक्सासम्बन्धी तालिम दिन थालेको हो नगरपालिकाका ६५ जनालाई अटो रिक्सा चलाउने तालिम प्रदान गरेको नगरप्रमुख ढकालको भनाइ छ ।
‘सुरूमा तालिम पूरा गरेका १४ महिलाले अटो किनेर पनि व्यवसाय गरिरहनुभएको छ’, उनले भने, ‘त्यो देखेपछि अरू महिला दिदीबहिनीको पनि अटोमा आकर्षण बढ्दै गयो, यो विपन्न महिलालाई लक्षित कार्यक्रमलाई हामी निरन्तर सञ्चालन गर्छौं ।’
‘जसले आफ्नो तर्फबाट धितो राखेर ऋण निकाल्न सक्दैन, त्यस्ता विपन्न परिवारका महिलालाई छनोट गरी तालिम प्रदान गर्यौं’, उनले भने, ‘लाइसेन्सको प्रक्रियामा गइसकेपछि उनीहरूलाई अटो किन्न १ लाख अनुदान दियौं, १ लाख बिना ब्याज एक वर्षभित्र तिर्ने गरी ऋण दियौं ।’
तालिम खर्च पनि नगरपालिकाले नै व्यवस्था गरेको छ । २ लाख नगरपालिकाका तर्फबाट पाएपछि उनीहरूलाई सुरूमा तिर्नुपर्ने रकम तिरेर आफैंले रोजेको कम्पनीको अटो रिक्सा किन्न दिने गरेको नगरप्रमुख ढकालले जानकारी दिए ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij