Logo

२०८३, कार्तिक २२ गते शनिवार

२०८३, कार्तिक २२ गते शनिवार

७० हजार बालबालिकालाई कोभिडविरूद्धको खोप लगाइँदै

७० हजार बालबालिकालाई कोभिडविरूद्धको खोप लगाइँदै

  • 392
    SHARES
  • ७० हजार बालबालिकालाई कोभिडविरूद्धको खोप लगाइँदै

    चितवन । चितवन जिल्लामा रहेका पाँच वर्षदेखि १२ वर्ष उमेर समूहका बालबालिकालाई कोरोनाविरूद्धको खोप सुरु गरिने भएको छ । यही असार ९ गतेबाट बालबालिकालाई खोप दिन लागिएको स्वास्थ्य कार्यालय चितवनले जनाएको छ ।

    कार्यालयले आज अन्तरक्रिया कार्यक्रमको आयोजना गरी खोप अभियान सुरु गर्न लागिएको जनाएको हो । असार ९ देखि १८ गतेसम्म चल्ने सो अभियान दुई चरणमा विभाजन गरिएको छ ।

    रत्ननगर, कालिका, खैरहनी र राप्ती नगरपालिकामा असार ९ देखि १४ गतेसम्म खोप अभियान सञ्चालन गर्न लागिएको कार्यालयका निमित्त प्रमुख राम केसीले जानकारी दिए ।

    केसीका अनुसार भरतपुर महानगरपालिका, माडी नगरपालिका र इच्छाकामना गाउँपालिकामा असार १४ गते देखि १८ गते सम्म अभियान सञ्चालन हुनेछ । जिल्लामा रहेका ७० हजार ३८२ बालबालिकालाई फाइजर-बायोएनटेक खोप दिइने उनले बताए ।

    जस अन्तर्गत भरतपुर महानगरपालिकामा ३१ हजार ४१२, रत्ननगर नगरपालिकामा ८ हजार ३७१, खैरहनी नगरपालिकामा ७ हजार ३५० बालबालिकालाई खोप दिइँदैछ ।

    यस्तै कालिका नगरपालिकामा ४ हजार १९२, राप्ती नगरपालिकामा ८ हजार ९१४, माडी नगरपालिकामा ५ हजार ३६३ र इच्छाकामना गाउँपालिकामा ४ हजार ७८० जना बालबालिकालाई खोप लगाउन लागिएको कार्यालयले जनाएको छ ।

    केसीका अनुसार अभियानका लागि ७६ हजार ८०० डोज खोप जिल्लामा आइसकेको छ । जिल्लामा रहेका ५४० खोप केन्द्रमार्फत बालबालिकालाई खोप लगाइने उनले जानकारी दिए । खोप अभियानमा ९४४ स्वास्थ्यकर्मी र १ हजार ३९४ स्वयंसेवीका परिचालन हुने छन् ।

    भरतपुर महानगरपालिकामा २१४, रत्ननगर नगरपालिकामा ५८, खैरहनी नगरपालिकामा ६२, राप्ती नगरपालिकामा ६४, कालिका नगरपालिकामा ५३ वटा खोप केन्द्रबाट खोप लगाइँदै छ ।

    माडी नगरपालिकामा ४१ र इच्छाकामना गाउँपालिकामा ४८ वटा खोप केन्द्रबाट बालबालिकालाई खोप दिन लागिएको केसीले जानकारी दिए । हरेक विद्यालयलाई खोप केन्द्रकोरूपमा परिचालन गरिने उनले बताए । सामुदायिक र संस्थागत विद्यालयमा खोप खेन्द्र बनाइने छ ।

    २ सय बालबालिकाका लागि एकजना स्वास्थ्यकर्मी परिचालन गरिने उनले जानकारी दिए । खोप लगाएपछि सामान्य ज्वरो आउने, टाउको दुख्ने, जीउ दुख्ने लगायतका लक्षण देखिएमा आत्तिनु पर्ने अवस्था नरहेको कार्यालयले जनाएको छ ।

    गम्भीर प्रकृतिका बिरामी र उच्च ज्वरो आएका बिरामी बालबाललिकालाई यो खोप दिन नहुने सो अवसरमा जानकारी दिइएको थियो । पहिलो पटक खोप लगाएको २१ दिन पछि अर्थात साउन २ गतेबाट दोस्रो डोजको खोप अभियान सुरु गरिने केसीले बताए ।

    जिल्लामा हालसम्म ५ लाख २८ हजार ९२५ जनाले कोभिड १९ विरूद्धको पहिलो मात्रा खोप लगाएका छन् । यस्तै ४ लाख ७० हजार ५७ जनाले दोस्रो मात्रा खोप लगाएको कार्यालयकी जनस्वास्थ्य अधिकृत गीताञ्जली ढकालले जानकारी दिइन् ।

    उनका अनुसार ९३ हजार ४७० जनाले बुष्टर डोज खोप लगाएका छन् । १२ वर्ष देखि माथि १७ वर्ष उमेर समूहका बालबालिका ६० हजारले खोप लगाएको उनले बताइन् ।

    जिल्लामा हालसम्म ३३ हजार ५५४ मा कोरोना संक्रमण पुष्टि भएको छ । जसमध्ये ३३ हजार १०५ जना निको भएर घर फर्किसकेका छन् भने ४४९ जनाको कोरोनाका कारण मृत्यु भइसकेको छ । अहिले संक्रमितको संख्या शून्य रहेको छ । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij