एजेन्सी । महिला र बालबालिकामाथि हुने यौन शोषणका घटनामा तीव्र वृद्धिपछि पाकिस्तानको पञ्जाब प्रान्तले आपतकाल घोषणा गर्ने निर्णय गरेको छ । एक पत्रकार सम्मेलनमा बोल्दै पञ्जाबका गृहमन्त्री अत्ता तरारले यस्ता घटनामा वृद्धि हुनु समाज र सरकारी अधिकारीका लागि गम्भीर समस्या भएको बताए ।
‘पञ्जाबमा दैनिक चारदेखि पाँचवटा बलात्कारका घटनाहरू रिपोर्ट भइरहेका छन् जसका कारण सरकारले यौन उत्पीडन, दुर्व्यवहार र जबरजस्तीका घटनाहरू समाधान गर्न विशेष उपायहरू विचार गरिरहेको छ । उनको भनाई उद्धृत गर्दै जियो न्युजले उल्लेख गरेको छ ।
उनले भने, ‘बलात्कारका घटनालाई सम्बोधन गर्न प्रशासनले आपतकाल घोषणा गरेको छ ।’ यस विषयमा नागरिक समाज, महिला अधिकारकर्मी संगठन, शिक्षक र वकिलसँग परामर्श लिइने मन्त्रीले बताए ।
उनले अभिभावकलाई आफ्ना बालबालिकालाई सुरक्षाको महत्व सिकाउनसमेत आग्रह गरेका छन् । विभिन्न घटनाका आरोपितलाई थुनामा राखिएको र बलात्कारविरूद्धको अभियान चलाएको मन्त्री तरारले बताए ।
विद्यालयमा विद्यार्थीमाथि हुने दुर्व्यबहारबारे सचेत गराइनेसमेत उनले बताए । गृहमन्त्रीले अब अभिभावकले आफ्ना छोराछोरीलाई कसरी जोगाउने भनेर सिक्नुपर्ने बेला आएको बताए ।
उनले सरकारले फास्ट ट्र्याकका आधारमा डीएनए नमूनाको संख्या बढाउने बताए ।
Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology