Logo

२०७९, आषाढ २१ गते मंगलवार

२०७९, आषाढ २१ गते मंगलवार

सुदूरपश्चिमको बजेटमा सत्तापक्षकै सदस्यको आपत्ति, बुधबार बोलाइएको बैठक स्थगित

सुदूरपश्चिमको बजेटमा सत्तापक्षकै सदस्यको आपत्ति, बुधबार बोलाइएको बैठक स्थगित

  • आषाढ ८, २०७९ बुधवार २०:२५ बजे
  • 92
    SHARES
  • सुदूरपश्चिमको बजेटमा सत्तापक्षकै सदस्यको आपत्ति, बुधबार बोलाइएको बैठक स्थगित

    धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले यही असार १ गते ल्याएको बजेटप्रति प्रदेशसभा सदस्यहरूले चर्को आलोचना गरेका छन् । विगतमा जस्तै बजेटमा टुक्रे योजना राखिएको, बजेट भाषणमै नभएका योजना रातो किताबमा समावेश गरिएको, व्यक्तिलाई फाइदा पुग्ने योजना ल्याइएको, मन्त्रीको क्षेत्रमा मात्रै बजेट परेको भन्दै सत्ता पक्ष र प्रतिपक्ष दलका प्रदेशसभा सदस्यले सरकारले ल्याएको बजेटको चर्को आलोचना गरेका हुन् ।

    प्रदेशसभा सदस्यहरूको चर्को आलोचनाका कारण बुधवारका लागि आह्वान गरिएको प्रदेशसभा बैठक समेत स्थगित गरिएको छ । बुधबार प्रदेशसभा बैठक बस्नुअघि प्रदेशका सभामुख अर्जुनबहादुर थापाले कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका थिए । 

    कार्यव्यवस्था परामर्श समितिको बैठकमा सत्तापक्ष र प्रतिपक्ष दलका प्रदेशसभा सदस्यहरूले वार्षिक विकास कार्यक्रम पुस्तिका ‘रातो किताब’मा समावेश गरिएका योजनाको आलोचना गर्दै प्रदेशसभा बैठक सञ्चालन हुन नदिने चेतावनी दिएका थिए । 

    प्रदेशसभा सदस्यहरूले रातो किताबमाथि विमति जनाएपछि सभामुख थापाले बुधवारका लागि आह्वान गरिएको प्रदेशसभा बैठक स्थगित गरेर असार १२ गते दिउसो ३ बजेका लागि बैठक आह्वान गरेका हुन् ।

    ‘आगामी वर्षको बजेट यस अघिका बजेट कार्यक्रम भन्दा पनि हलुका टुक्रे योजनाले भरिएर आएको छ,’ नेकपा एमाले संसदीय दलका उपनेता तथा पूर्व भौतिक पूर्वाधार विकास मन्त्री पठानसिंह बोहराले भने, ‘प्रदेशका दीर्घकालीन महत्त्व बोकेका योजनमा यथेष्ट बजेट नै समावेश गरिएको देखिएन, जसका कारण सबै प्रदेशसभा सदस्यहरूले योजना सच्याएर ल्याउन माग गरेका छन् ।’

    प्रदेश सरकारले विगतका कमिकमजोरी सच्याएर यो बजेटलाई गरिबी अन्त्य हुने, रोजगारीका अवसर सिर्जना गर्ने गरी ल्याउनु पर्ने भए पनि निहित व्यक्तिलाई फाइदा पुग्ने, कमिसन बढी पाइने योजना मात्रै ल्याइएको बोहराको आरोप छ ।  प्रदेश सरकारले राखेका मनलाग्दी योजना नसच्याए १२ गते पनि प्रदेशसभा बैठक नचल्ने उनले बताए । 

    अन्य प्रदेश सभा सदस्यहरूले पुस्तिका सच्चिएर नआएसम्म सभामा बजेटको छलफल अघि बढ्न नदिने प्रतिक्रिया दिएका छन् । प्रदेशसभा सदस्य भरत खड्काले बजेट भाषणमा समावेश नै नभएका कतिपय योजना रातो किताबमा राखिएका भन्दै ती योजना तत्काल हटाइनुपर्ने बताए । 

    ‘झ्यालबाट छिराइएका योजना तत्काल हटाइनु पर्छ,’ प्रदेशसभा सदस्य खड्काले भने, ‘अनि टुक्रे योजना र मन्दिरमा गरिएको लगानी कटौती गरेर गरिबका योजनामा बजेट राखिनु पर्दछ भन्ने हाम्रो भनाई हो।’ 

    सुदूरपश्चिम प्रदेश सरकारका मन्त्रीले मन्दिरलाई मात्रै लक्षित गरेर योजना राखिएको बोहराको आरोप छ । 

    प्रदेश सभा सदस्य मालामति रानाले रातो किताबको आवरण नै गलत रहेको बताइन् । उनले विगतमा रातो देखिने गरी किताब ल्याइने गरेकोमा अहिले नीलो बनाई ल्याइएको भन्दै सो पुस्तकलाई ‘ब्लु बुक’ को संज्ञा दिइन् । 


    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology