वेबटिभी खबर
काठमाडौं । एमाले स्थायी कमिटी सदस्य योगेश भट्टराईले एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाललाई एक वर्षअघिको घटना स्मरण गराएका छन् ।
एकीकृत समाजवादीका १० सांसदले मन्त्री फेर्ने पार्टी निर्णय अवज्ञा गर्ने चेतावनी दिएलगत्तै एमाले नेता भट्टराईलाई एक वर्षअघिको घटना स्मरण गराएका हुन् ।
भट्टराईले आफुहरूले त्यतिबेलै चिनेका खेलाडीहरूलाई माधव नेपाल र झलनाथ खनालले बल्ल चिन्न थालेकाे बताएका छन् ।
‘हेर्दै जाउँ हामीले त्यतिबेला नै चिनेका खेलाडीहरू कमरेड माधव नेपाल र कमरेड झलनाथ खनालले बिस्तारै चिन्दै जानुहुनेछ ।’ उनले सामाजिक सञ्जाल फेसबुकमा उल्लेख गरेका छन् ।
नेता भट्टराईले नेपालको कम्युनिस्ट आन्दोलनलाई तहसनहस पार्ने षड्यन्त्रको सिकार नबन्न पनि त्यतिबेला माधव नेपाललाई अनुनय बिनय गरेकाे उल्लेख गरेका छन् । आग्रहलाई वेवास्ता गर्दै पार्टी फुटाएपछि कुनै दिन परिस्थिति तपाईको काबुभन्दा बाहिर जाने छ भनेर आफु छुट्टिएको पनि उनले उल्लेख गरेका छन् ।
उनले एकीकृत समाजवादीमा अहिलेको जस्तो अवस्था आउँछ भनेर आफूले पहिल्यै भनेको पनि सामाजिक सञ्जालमा लेखेका छन् ।
उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘एकीकृत समाजबादी पार्टीको अहिलेको अवस्था देख्दा उबेला मैले पार्टी बिभाजन नगर्न कमरेड माधवकुमार नेपाललाई गरेको अनुनय, बिनय र एमाले बिभाजनको औचित्य छैन भनी दिएको तर्क अनि नेपालको कम्युनिस्ट आन्दोलनलाई तहसनहस पार्ने षड्यन्त्रको शिकार नबन्न गरेको अनुरोध र केहीभन्दा पनि वहाँले नमानेपछि कुनैदिन परिस्थिति तपाईको काबुभन्दा बाहिर जाने छ भनेर वहाँबाट छुट्टीएको पलको स्मरण भईरहेको छ । हेर्दै जाउँ हामीले त्यतिबेला नै चिनेका खेलाडीहरू कमरेड माधव नेपाल र कमरेड झलनाथ खनालले बिस्तारै चिन्दै जानुहुनेछ ।’
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij