Logo

२०८१, बैशाख ६ गते बिहिवार

२०८१, बैशाख ६ गते बिहिवार

बर्थिङ सेन्टरमा सुत्केरी हुनेलाई पाँच हजार भत्ता

बर्थिङ सेन्टरमा सुत्केरी हुनेलाई पाँच हजार भत्ता

  • 399
    SHARES
  • बर्थिङ सेन्टरमा सुत्केरी हुनेलाई पाँच हजार भत्ता

    नवलपरासी । नवलपरासी (बर्दघाट-सुस्तापूर्व)को गैंडाकोटमा रहेका सरकारी स्वास्थ्य संस्था तथा बर्थिङ सेन्टरमा सुत्केरी हुनेलाई ५ हजार सुत्केरी भत्ता दिइने भएको छ ।

    images

    गैंडाकोट नगरपालिकाले आर्थिक वर्ष २०७९/८० को साउन महिनादेखि लागू हुनेगरी भत्ताको व्यवस्था गर्न लागेको हो । नगर उपप्रमुख शान्ति कोइरालाले सरकारी स्वास्थ्य संस्थामा सुत्केरी हुने नगरवासी महिलाका लागि भत्ताको व्यवस्था गर्ने गरी नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए ।

    बिहीबार नगरसभामा प्रस्तुत नीति तथा कार्यक्रम कार्यान्वयनका लागि कार्यविधि तयार गरी भत्ता उपलब्ध गराइने गैंडाकोट नगरका स्वास्थ्य शाखा प्रमुख झलकराज पौडेलले जानकारी दिए । यस्तै नगरपालिकाले आमा घर कार्यक्रमलाई विशेष प्राथमिकतामा राखेको छ ।

    विशेषगरी गैंडाकोट ३ र १८ का गर्भवतीको सुविधाको लागि सुत्केरी हुने मितिभन्दा एकहप्ता पहिलेदेखि नै आमालाई त्यस्तो घरमा बस्ने व्यवस्था गरिने, सुत्केरी भएपछि पनि बस्न दिइने र पोषिलो खाना उपलब्ध गराइने उनले बताए ।

    उपप्रमुख कोइरालाले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा ‘सुत्केरी आमाः पोषिलो खाना’ कार्यक्रमलाई प्रभावकारी बनाउनाका साथै गर्भवती तथा सुत्केरीको स्वास्थ्य सेवामा पहुँच पुर्‍याउन प्रत्येक स्वास्थ्य संस्थाबाट गर्भवती र उत्तरप्रसूति सेवा प्रदान गरिने बताइएको छ ।

    गर्भवतीको सुविधाको लागि नगरपालिकाको वडा नं ३ र १८ स्थित नगर अस्पतालमा आमा घर सञ्चालन गरी सेवा दिइने उल्लेख गरिएको छ । सबैलाई स्वास्थ्य बीमा, सबल स्वास्थ्य प्रणाली, हरेक घरमा खानेपानीका धारा, जनस्वास्थ्यमा लगानी भन्ने नीति लिइएको छ ।

    उनले नेपाल सरकारको सबै जनतालाई निःशुल्क खोप लगाउने कार्यक्रम रहेकोले सबै प्रकारका खोप कार्यक्रमलाई नगरले प्राथमिकताका साथ अगाडि बढाउँदै पूर्ण खोप सुनिश्चित नगरपालिका घोषणा गरिने बताए ।

    कोभिड-१९ लगायत महामारी तथा अन्य संक्रमक रोग न्यूनीकरण कार्यक्रमलाई उच्च प्राथमिकता दिँदै यसको रोकथाम, नियन्त्रण, पूर्वतयारी र प्रतिकार्यको व्यवस्था गर्दै नगरपालिकाभित्र जीवन बचाउने औषधि, औषधिजन्य सामग्री तथा सुरक्षा सामग्रीको सहज आपूर्ति वा भण्डारणको व्यवस्था गरी जनतालाई सुरक्षित राखिने पनि उपप्रमुख कोइरालाले उल्लेख गरे ।

    नगर अस्पतालाई प्रादेशिक अस्पतालकोरूपमा स्तरोन्नति गर्न प्रदेश सरकारसँग आवश्यक समन्वय गरी गैंडाकोट स्वास्थ्य चौकीलाई नगर अस्पतालकोरूपमा स्तरोन्नतिका लागि पहल गर्ने र वडा नं-१६ मा रहेको अमरापुरी स्वास्थ्य चौकीलाई स्तरोन्नति पहल गरिने उनको भनाइ छ ।

    स्वास्थ्य बीमा कार्यक्रमलाई प्रभावकारी बनाउन गैंडाकोट स्वास्थ्य चौकीबाट बीमा सिफारिस कार्यक्रम अगाडि बढाउन पहल गरिने र नगर अस्पतालबाट प्रदान भइरहेको बाहिरंग सेवा निःशुल्क गरी नगर अस्पतालमा टेलिमेडिसिन सेवा स्थापना गरिने, गर्भ परीक्षणमा लाग्ने शुल्क निःशुल्क गर्दै पायक पर्ने स्थानमा बर्थिङ सेन्टर सञ्चालन गरिने र नेपाल सरकारबाट तोकिएका सम्पूर्ण औषधि निःशुल्क वितरण गर्ने व्यवस्थालाई व्यवहारमा लागू गरिने नीति तथा कार्यक्रममा उल्लेख छ । 

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology