वेबटिभी खबर
हेटौंडा । हेटौंडा अस्पतालमा सघन उपचार कक्ष ‘आइसीयु’ र भेन्टिलेटर सेवा सुरु भएको छ ।
वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले कोरोना भाइरस संक्रमित बिरामीहरुको उपचारमा सहजता ल्याउनका लागि मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानले हेटौंडा अस्पतालमा स्थापना गरेको आइसीयु र भेन्टिलेटर सेवाको आज शुभारम्भ गरेका हुन् ।
यसैगरी मुख्यमन्त्री पौडेलले हेटौंडा उपमहानगरपालिका–६ गौरीटारस्थित कोभिड–१९ संक्रमित बिरामीहरुका लागि स्थापना गरिएको क्वारेन्टिन कक्षको पनि आज स्थलगत अनुगमन गरे । सो कक्षमा १२० शैय्या रहेको जिल्ला स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ ।
सो अवसरमा मुख्यमन्त्री पौडेलले कोभिड–१९ संक्रमित बिरामीहरुलाई तत्काल उपचार गर्न आइसियू, भेन्टिलेटर र दक्ष चिकित्सकसहित स्वास्थ्यकर्मीहरुलाई प्रदेश सरकारले उच्च प्राथमिकताका साथ उपलब्ध गराउने बताए । उनले उपचार सेवालाई अझ प्रभावकारी र गुणस्तरीय बनाउन चिकित्सकलाई निर्देशन दिए ।
प्रतिष्ठानले हेटौंडा अस्पताल परिसरभित्र १६ शैय्याको सघन उपचार कक्ष र ६ शैय्याको भेन्टिलेटर कक्षको स्थापना गरिएको हेटौंडा अस्पतालका डा सागर काफ्लेले जानकारी दिए ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij