Logo

२०८३, कार्तिक २४ गते सोमवार

२०८३, कार्तिक २४ गते सोमवार

लक्ष्यअनुसार सडक निर्माणकाे काम सम्पन्न भएन : मन्त्री यादव

लक्ष्यअनुसार सडक निर्माणकाे काम सम्पन्न भएन : मन्त्री यादव

  • 395
    SHARES
  • लक्ष्यअनुसार सडक निर्माणकाे काम सम्पन्न भएन : मन्त्री यादव

    काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणुकमारी यादवले निर्माण व्यवसायीको ‘कन्स्ट्रक्सन होलिडे’ र कोभिड संक्रमणलगायत कारणले लक्ष्यअनुसारको सडक निर्माण नहुने देखिएको बताएकी छिन् ।

    सोमबार बसेको राष्ट्रियसभा बैठकमा विनियोजित बजेटमाथि सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै उनले सबै किसिमका सडक र पुल निर्माण लक्ष्यभन्दा कम निर्माण हुने देखिएको बताएकी हुन् ।

    चालु आ.वमा एक हजार ८०० किमी सडक निर्माण गर्ने लक्ष्य लिइएकामा ६००किमी मात्र सम्पन्न भएको मन्त्री यादवले जानकारी दिइन् । ग्राभेल सडक ८०० किमी निमार्ण गर्ने लक्ष्य लिइएकामा २९२ किमी र ३५० किमी कच्ची सडक निर्माणको लक्ष्य लिइएकामा १६५ किमी निर्माण भएको उनको भनाइ छ ।

    चालु आवमा ३०० वटा पुल निर्माण गर्ने लक्ष्य लिईएकामा १०१ वटा निर्माण भइसकेको र १०० वटा निर्माण  हुने क्रममा रहेको मन्त्री यादवले बताइन् । नीति तथा कार्यक्रमको मर्मअनुसार नै कार्यक्रम ल्याउन प्रयास गरिएको उनको भनाइ छ ।

    विगत वर्षभन्दा काठमाडौं तराई द्रुतमार्गमा धेरै बजेट छुट्याइएको मन्त्री यादवले बताइन् । यो आयोजनाको जिम्मेवारी लिएपछि सेनाले कसरी समयमै गर्छ भनी सबैले हेरिरहेको उनको भनाइ छ ।

    उनका अनुसार राष्ट्रिय गौरवका आयोजना र प्राथमिकता प्राप्त आयोजनालाई प्राथमिकता दिइएको छ ।

    त्यस्तै महाकालीमा दोधारा–चाँदनी पुल अन्तिम चरणमा पुगेको,  नागढुङ्गा सुरुङमार्ग निर्माण अघि बढेसँगै नेपाल सुरुङमार्गको युगमा प्रवेश गरेको र गत आवसम्म १४ प्रतिशत प्रगति रहेकामा हाल ५४ प्रतिशत प्रगति पुगेको मन्त्री यादवले बताइन् ।

    सिद्धबाबा सुरूङ डिजाइनको क्रममा रहेको र  काठमाडौं उपत्यकाको जाम घटाउन पहिलो चरणमा ग्वार्खोमा ठेक्का सम्झौता भएर डिजाइनको क्रममा पुगेको उनले बताइन् ।

    पैँतिस किमी लामो जयनगर–कुर्था रेलमार्ग सञ्चालनमा आइसकेको बताउँदै मन्त्री यादवले १०÷१५ किमीभन्दा लामो सडक संघमा राख्नुपर्ने मान्यता रहेको बताइन् । प्रदेशमा जनशक्ति कम भएकाले पनि हस्तान्तरण भएका आयोजना अलपत्र पर्नसक्ने देखिएको उनले बताइन् ।

    समयमा काम नगर्ने निर्माण कम्पनीलाई कारबाही गर्न चाहे पनि अदालतको रोकावटका कारण गर्न नसकिएको मन्त्री यादवको भनाइ छ । आफूले १२/१५ योजनाका ठेकेदारलाई कालोसूचीमा राखे पनि अदालतको अन्तरिम आदेशका कारण अघि बढ्न नसकेको उनले बताइन् ।

    पुल निर्माणले एक गाउँ अर्को गाउँसँग र एउटा जिल्ला अर्को जिल्लासँग जोड्ने चर्चा गर्दै मन्त्री यादवले बजेट विनियोजन गर्दा कुनैकुनै क्षेत्र छुट्न पुगे पनि कुनै पनि जिल्ला नछुटेको बताइन् । 

    पूर्वपश्चिम राजमार्ग स्तरोन्नतिका लागि पर्याप्त रकम छुट्याइएको, केही साना तथा महत्वपूर्ण योजनामा बजेट प्रस्ताव गरिएको, राष्ट्रिय र स्थानीय पुल धेरै आवश्यक भए पनि नयाँ योजनामा हाल्ने मात्रै नभएर विगतका योजना पूरा गर्न बजेट छु्याइएको उनको भनाइ छ ।

    एउटै जिल्लामा १०० पुल आवश्यक भए पनि राम्रो तयारी नगरी बजेट छुट्याउनु नहुने उनले बताइन् । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij