वेबटिभी खबर
काठमाडौं । भारी वर्षाका कारण झापाका अधिकांश स्थान डुवानमा परेको छ । सोमबार रातिबाट आएको अविरल वर्षाले झापाका अधिकांश क्षेत्र डुवानमा परेको रेडक्रस सोसाइटी झापाका सभापति लोकराज ढकालले बताए ।
जिल्लाका कनकाई माई, बिरिङ रतुवा, मेची, कमल, बनियानीजस्ता साना-ठूला नदीको बहाव बढेको छ । नदी कटान तीव्र भएकाले नदी गाउँमा पस्ने खतरा रहेको उनले बताए ।
उनले भने, ‘राजमार्ग दक्षिणका अधिकांश भू-भाग ढुवानमा परेका छन् । विस्थापितको संख्या कम भएपनि हजारौं घर ढुवानमा परेका छन् । केही नदी बस्तीमा पस्ने खतरा छ ।’
झापाका प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले अधिकांश नदी बस्तीमा पस्ने खतरा रहेकाले सतर्क रहन आग्रह गरेका छन् । उनले हालसम्म गौरीगञ्ज-१ महाभारामा ४ घरपरिवार विस्तापित भएको बताए । बाँकी ठाउँबाट विस्तापित भएको सूचना नआएको उनको भनाइ छ ।
उद्धारका लागि सुरक्षा निकायको टोली तयारी अवस्थामा रहेकाे रिजालले बताए ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij