Logo

२०८३, कार्तिक २२ गते शनिवार

२०८३, कार्तिक २२ गते शनिवार

पर्यटकको पर्खाइमा जुम्लाका होटल व्यवसायी

पर्यटकको पर्खाइमा जुम्लाका होटल व्यवसायी

  • 446
    SHARES
  • पर्यटकको पर्खाइमा जुम्लाका होटल व्यवसायी

    जुम्ला । आन्तरिक पर्यटनको प्रमुख गन्तव्यमध्ये मुगुस्थित राराताल पनि एक हो । रारा ताल पुगेर जुम्ला सदरमुकाम खलंगा आउने आन्तरिक तथा बाह्य पर्यटकको पर्खाइमा यहाँका व्यवसायी रहेका छन् ।

    यो मौसममा पर्यटक नआउँदा यहाँका होटल व्यवसाय संकटमा परेका हुन् । कोरोना महामारीअघि रारा आएका अधिकांश पर्यटक जुम्ला आउने गरेका थिए । पर्यटक बढ्दै गएपछि व्यवसायीले होटलमा लगानीसमेत बढाएका थिए । तर, अहिले अधिकांश होटल रित्तै बनेका छन् ।

    त्यसो त हिउँदका तीन महिना जुम्लामा पर्यटन आवागमन ठप्प हुन्छ । अत्यधिक हिमपात हुने भएकाले उक्त सिजनमा पर्यटकहरू आउँदैनन् । क्षेत्रीय होटल संघ जुम्लाका अध्यक्ष दिलबहादुर महतले हिउँदमा बन्द नै गर्नुपर्ने होटल अहिले पनि पाहुना नआउँदा रित्तो बनेको बताए ।

    उनका अनुसार अहिले ठूला लगानीका होटलमा पाँचवटा कोठा भरिन पनि मुस्किल भएको छ । उनले भने, ‘कुनै महिनामा त खर्चसमेत उठाउन मुस्किल हुन्छ ।’ उनका अनुसार जुम्लामा ५० लाखदेखि २ करोडसम्म लगानी गरेका होटल मात्रै झण्डै १५ वटा छन् ।

    अहिले ठूला लगानीका होटलमा १० देखि २० जनासम्म पाहुनामात्र आउने गरेको उनले बताए । ती होटलहरूमा दैनिक ५० जनासम्म पाहुना राख्न सकिने सुविधा छ । होटल दौंतरीका सञ्चालक पदमबहादुर महतले आफूहरूसँग भएका आधा कोठा पनि नभरिँदा व्यवसाय नै धरापमा पर्न थालेको जानकारी दिए ।

    उनको होटलमा १६ कोठा भएपनि दैनिक आठ कोठा भरिन मुस्किल हुन्छ । कोरोना महामारी अघिसम्म पर्यटकलाई कहाँ राख्ने होला भन्ने चिन्ता हुन्थ्यो, एक साताअघि नै सबै कोठा भरिभराउ हुन्थे ।

    ‘अहिले त व्यवसायीले नै पाहुना खोज्नुपर्ने बाध्यता छ’, उनले भने । साउनदेखि भने पर्यटक बढ्ने आशा रहेको संघका अध्यक्ष महतले बताए । उनका अनुसार साउन, भदौ, असोज र कात्तिक महिना रारा र जुम्ला घुम्न आउने पर्यटकका लागि उपयुक्त मौसम हो ।

    पर्यटकको संखया बढ्दै गएपछि साना होटलले लगानी बढाए भने कुनै समय पर्यटकीय होटल बनाउने होडबाजी चल्यो । उनले भने, ‘जब कोरोना महामारी सुरु भयो, त्यसबेलादेखि ओरालो लागेको व्यवसायले अझै पनि गति लिन सकेको छैन’, संघको तथ्यांकअनुसार कोरोना महामारीअघिसम्म एकै महिनामा ३७ हजारसम्म पर्यटक जुम्ला आएका थिए ।

    जुम्लामा होटल व्यवसायमा झण्डै २ अर्ब लगानी भएको संघको अनुमान छ । संघका अनुसार यो व्यवसायबाट कम्तीमा ३०० ले रोजगारी पाएका छन् ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij