वेबटिभी खबर
काठमाडौं । कोरोना संक्रमित बढ्दै गएपछि काठमाडौं उपत्यकामा निषेधाज्ञा जारी हुनुअघि घर फर्कन चाहनेलाई दुई दिनको समय दिइयो । स्थानीय प्रशासनले बिहीबारदेखि निषेधाज्ञा लगाउने भएपछि मंगलबार र बुधबार घर फर्कनेलाई समय दिएको थियो ।
घर फर्कने समय दिएपछि काठमाडौंको बसपार्कमा निकै भिड जुटेको थियो । उपत्यकाबाट बाहिरिनेलाई सवारी साधन नै अपुग भयो । प्रशासनले छुट दिएको दुई दिनभित्र जान नपाएकाहरुलाई निषेधाज्ञा लागेको दिन बिहीबार नाइट बसमा जान छुट दिइयो ।
यसपटक गाउँ फर्कनेको लर्काे बढेसँगै सामाजिक सञ्जालमा गाउँका बारेमा निकै भावुक स्टाटसहरुले स्थान पाए । सुख र दुःखमा भराेसा दिने गाउँलाई समुन्नत बनाउनु पर्छ भन्ने धेरै भए । आपत विपदमा आफ्नो गाउँको महिमा बढेर आउने गरेको काठमाडौं छाड्नेको लर्काेले देखाउँथ्यो । चाडवाडको सुख र भुकम्प, महामारीको दुःखमा गाउँले बलियो साथ दिइरहेको यही दृष्यले पनि बताउँछ ।
भुकम्प आउँदा पनि गाउँ फर्किनुपर्ने ,
नाकाबन्दीमा पनि त्यही गाउँ फर्किनु पर्ने ,
दशैँ आयो त्यहि गाउँ फर्किनु पर्ने ,
लकडाउन भयो गाउँ नै फर्किनु पर्ने,
अब सबै थोक गाउँमै पाउछ भने शहरमा किन बस्ने ?
राम्रो स्कुल गाउँमै खोलौँ, राम्रो अस्पताल गाउँमै खोलौँ,
राम्रो विमानस्थल प्रदेश भित्र खोलौँ ,रोजगार गाउँमै सृजना गरौँ।
सुख र दुःखको साथी बनेको गाउँलाई बेवास्ता नगरौं भन्ने भाव धेरैले व्यक्त गरेका छन् ।
कोरोना महामारी सुरु भएको बेला गतवर्ष पनि लकडाउन भएपछि उपत्यका छाड्नेको लर्काे सडकभरि देखिएको थियो । पैदल हिँडेर पनि धेरै मान्छेहरु घर फर्केका थिए । गतवर्षको समस्यालाई मध्यनजर गर्दै यसपटक प्रशासनले नै घर फर्कनेलाई समय दिएको हो ।
अरुबेला गाउँलाई वास्ता नगर्नेले पनि समस्या पर्दा गाउँलाई सम्झना गरेको प्रसंगलाई धेरैले कोट्याए ।
गाउँमा स्वास्थ्य, शिक्षाको उपयुक्त वातावरण बनाएर रोजगारीको अवसर सृजना गर्नका लागि यस्ता अवसरले मौका दिने गर्छ ।
गाउँ फर्काैं भन्ने भावाबाट तीन वर्षअघि सृजना भएकाे बज्जीका भाषको गीत यहाँ प्रस्तुत गरिएको छ
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij