वेबटिभी खबर
रसुवा । पर्यटकीय क्षेत्रअन्तर्गत उत्तरी रसुवाको ठूलो स्याफ्रुमा निर्माणाधीन पहिलो सिँचाइ योजनाले स्थानीय किसानमा उत्साहित भएका छन् ।
हिउँदको समयमा खाली रहने जमिनलाई सिँचाइ सुविधा पुर्याउन जिल्ला सिँचाइ सबडिभिजन कार्यालय रसुवाले पहिलोपटक नयाँ योजना स्वीकृत गरी निर्माण चरणमा अगाडि बढाएपछि कृषि उत्पादकत्व बढ्ने आशाले किसान उत्साहित भएका हुन् ।
यस वर्ष पूरा रकम विनियोजित नभएका कारण क्रमगतरूपले आगामी वर्षमा ठूलोस्याफ्रु सिँचाइ योजना सम्पन्न गराउने कार्यनीति बनाइएको छ । यस चालु वर्षमा जनश्रमदान गरेर ३२ लाख बराबरको काम सम्पन्न गरिएको सिँचाइ प्रमुख निर्मल दाहालले बताए ।
उक्त योजना स्थानीय उपभोक्ता समितिमार्फत निर्माण कार्य अगाडि बढेको हो । निर्माण उपभोक्ता समितिका अध्यक्ष करमदिन्डूप लामाका अनुसार पर्यटकीय क्षेत्र रहेको ठूलोस्याफ्रुको सिँचाइ व्यवस्थापनले वर्षायामको समयमा छामरूङ नामक लेकाली धान र हिउँद याममा आलु, मकै, गहुँ, करू मिश्रण तरकारीसमेत उत्पादन गराउन सहज हुनेछ।
हिमपात पग्लेर हिमाली छाँगाबाट निरन्तर प्रवाह हुने पानीको सिँचाइ कुलो योजनाले सिँचाइका साथसाथै खानेपानीको रूपमा उपभोग गराउन मद्दत पुग्ने बताइएको छ । करिब १ हजार ६०० मिटर लम्बाइ रहेको सिँचाइ योजनाको यस वर्ष पहिलो चरणमा पाइप बिछ्याउने काम ९०० मिटर निर्माण गरिएको बताइएको छ ।
आउँदो हिउँदबाट ठूलोस्याफ्रु पाखामा तरकारीको हरियाली बढ्न गई स्थानीयवासीका साथसाथै पर्यटक समेतलाई अग्र्यानिक सब्जी खुवाउन सहज हुने पर्यटन व्यवसायीले बताएका छन् ।
समुद्र सतहदेखि २ हजार १०० मिटर उचाइको क्षेत्र ठूलोस्याफ्रु क्षेत्रमा पहिलोपटक निर्माण चरणमा अगाडि बढेको सिँचाइ योजनाले १ हजार ५०० रोपनी जमिन सिञ्चित भई ८५० किसान लाभान्वित हुने उपभोक्ता समितिले जनाएको छ ।
सिँचाइ कार्यालय रसुवाले पछिल्लो चरण गरेको सिँचाइ विकासको दिगो र भरपर्दो तवरबाट डिजाइन गर्ने गरेकाले किसान सिँचाइ विकासमा आर्कषण भएका छन् ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij