वेबटिभी खबर
काठमाडौं । भक्तपुर, स्याङ्जा, कञ्चनपुर प्युठानमा अविरल वर्षाका कारण घर र पर्खाल भत्किँदा तीन जनाको मृत्यु भएको छ ।
भक्तपुरको सूर्यविनायक नगरपालिका-१० चितापोल लाकुलीस्थित कान्छा श्रेष्ठको घरको आगनमा लगाईएको पर्खाल भत्किँदा एक जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा सोही ठाउँ बस्ने ६६ वर्षीया नारायणदेवी थापा रहेकी छिन् । उनको पुरिएर बुधबार साँझ मृत्यु भएको प्रहरीले जनाएको छ ।
पर्खाल नजिकै हिँडिरहेको अवस्थामा पर्खाल भत्किँएर पुरिएकी उनको स्थानीय र प्रहरी बृत्त जगातीबाट खटिएको प्रहरीले खोजी गर्ने क्रममा उनको शव फेला परेको हो ।
त्यस्तै स्याङजाको गल्याङ नगरपालिका-१० डुबिनडाँडा बस्ने ढाकाराम भट्टराईको धन्सार भत्किँदा पुरिएर धन्सारमा सुतिरेकी उनकी छोरी १२ वर्षीया रेखा भट्टराईको मृत्यु भएको छ । उनको बुधबार मृत्यु भएको हो ।
धन्सार भत्किँएर पुरिँदा गम्भीर घाइते भएकी उनको गल्याङ नगर अस्पताल स्याङ्जामा उपचारको क्रममा मृत्यु भएको हो ।
घाइते भएका उनकै छोरा १६ वर्षीय लक्ष्मण भट्टराईको सोही अस्पतालमा उपचार भइरहेको छ ।
कञ्चनपुरको बेदकोट नगरपालिका-५ पोलखरी बस्ने गोमा साउँदको घर भत्किँदा पुरिएर सोही घरमा बस्दै आएका लाल बहादुर खुनाकी एक वर्षीया छोरी करिष्मा खुनाको मृत्यु भएको छ ।
घर भत्किँदा गम्भीर घाइते भएकी उनको महाकाली प्रादेशिक अस्पताल महेन्द्रनगरमा उपचारको क्रममा मृत्यु भएको हो । साथै पुरिएर घाइते भएका बेदकोट नगरपालिका-५ पोलखरी बस्ने ४० वर्षीय मान्ते थारू र लाल बहादुरको छोरा ११ वर्षीय अर्जुन खुना उपचार पश्चात डिश्चार्ज भएका छन् ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij