Logo

२०८३, कार्तिक २५ गते मंगलवार

२०८३, कार्तिक २५ गते मंगलवार

प्रभावकारी बन्दै ‘अध्यक्षसँग सुत्केरी’ कार्यक्रम

प्रभावकारी बन्दै ‘अध्यक्षसँग सुत्केरी’ कार्यक्रम

  • 346
    SHARES
  • प्रभावकारी बन्दै ‘अध्यक्षसँग सुत्केरी’ कार्यक्रम

    तनहुँ । तनहुँको म्याग्दे गाउँपालिकाले सञ्चालन गरेको ‘अध्यक्षसँग सुत्केरी’ कार्यक्रम प्रभावकारी बन्दै गएको छ ।

    घरमा हुने जोखिमपूर्ण सुत्केरीलाई अन्त्य गर्न र स्वास्थ्य संस्थामार्फत सुत्केरी गराउन प्रेरणा दिने उद्देश्यले गाउँपालिकाले विगत दुई वर्षदेखि सञ्चालन गरेको ‘अध्यक्षसँग सुत्केरी’ कार्यक्रम प्रभावकारी बन्दै गएको हो ।

    कार्यक्रम सुरु भएपछि घरमा हुने असुरक्षित सुत्केरी संख्या घटेको र संस्थागत सुत्केरी गराउनेको संख्या बढेको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख तिलक घिमिरेले जानकारी दिए ।

    यसअघि वार्षिकरूपमा १५/२० जना मात्रै संस्थागत सुत्केरी हुने गरेकामा कार्यक्रम लागू भएपछि संस्थागतरूपमा सुत्केरी गराउनेको संख्या १४० रहेको उनले बताए । ‘अध्यक्षसँग सुत्केरी कार्यक्रममार्फत संस्थागत सुत्केरी गराउनेलाई ३ हजार पोषण खर्च बापतको रकम प्रदान गर्छौं,’ उनले भने, ‘यो कार्यक्रममार्फत असुरक्षित सुत्केरी गराउने क्रम घटेको छ।’

    गाउँपालिकाले घरमा हुने सुत्केरीलाई पूर्णरूपमा निस्तेज पार्दै संस्थागत सुत्केरी सेवालाई प्राथमिकतामा राखेको बताउँदै उनले भने, ‘यसले गर्दा घरमा हुने असुरक्षित सुत्केरीको कारण आमा र बच्चाको स्वास्थ्य हुने जोखिम न्यूनीकरणका पनि टेवा पुर्‍याएको छ ।’

    गाउँपालिकाले चालु आर्थिक वर्षमा संस्थागत सुत्केरी गराउने ९५ जना महिलालाई पोषण खर्चबापत ३ हजारका दरले प्रोत्साहन रकम प्रदान गरिसकेको छ । यसै क्रममा केही दिनअघि मात्रै १९ जनालाई पोषण खर्चबापत ३ हजारका दरले रकम वितरण गरिएको छ ।

    गाउँपालिकाले सुत्केरीका लागि घरबाट स्वास्थ्य संस्थासम्म र स्वास्थ्य संस्थाबाट घरसम्म जान निःशुल्क एम्बुलेन्स सेवा प्रदान गरिरहेको गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले जानकारी दिए ।

    साथै जोखिम अवस्थामा रहेका र स्थानीय स्वास्थ्य संस्थाबाट रिफर गरिएका ७० वर्षमाथिका ज्येष्ठ नागरिकलाई पोखरादेखि भरतपुरसम्म निःशुल्क एम्बुलेन्स सेवा प्रदान गरिएको उनले बताए ।

    मातृ शिशु मृत्युदर कम गराउन सञ्चालित यो कार्यक्रम प्रभावकारी बन्दै गएको र यसलाई निरन्तरता दिइने श्रेष्ठले बताए । ‘गर्भावस्थामा स्वास्थ्य परीक्षण नगर्ने र घरमै असुरक्षित सुत्केरी गराउँदा महिलाहरुको ज्यान जाने खतरा हुन्छ,’ अध्यक्ष श्रेष्ठले भने ।

    ‘त्यसलाई निरुत्साहित गर्दै स्वास्थ्य संस्थामा सुत्केरी गराउन प्रोत्साहन गर्ने नीति लिएका छौं ।’ उनका अनुसार पोषण भत्ता वितरण थालिएपछि स्वास्थ्य संस्थामा परीक्षण गराउन र सुत्केरी हुन आउनेको संख्या बढेको छ ।

    गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख घिमिरेका अनुसार गाउँपालिकाले दिने ३ हजार पोषण भत्ता लिनलाई गर्भवतीले कम्तीमा चार पटक स्वास्थ्य परीक्षण गराएको हुनुपर्छ ।

    उनका अनुसार म्याग्दे बाहिरका सरकारी स्वास्थ्य संस्थामा सुत्केरी हुनेले भने यो सुविधा पाउँदैनन् । सुरक्षित प्रसूति तथा कुपोषणमुक्त गाउँपालिका बनाउने उद्देश्यसहित यस्तो कार्यक्रम ल्याइएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद अधिकारीले जानकारी दिए ।

    ‘स्वास्थ्य क्षेत्र सुदृढ गर्न तथा सुरक्षित प्रसूति एवम् कुपोषणमुक्त बालबालिका बनाउन यो कार्यक्रम ल्याएका हौं,’ स्वास्थ्य शाखा प्रमुख अधिकारीले भने, ‘यसले मातृ मृत्युदर घटाउनाका साथै आमा र शिशुको स्वास्थ्यलाई समेत फाइदा पुग्छ ।’

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij