Logo

२०७८, बैशाख ३१ गते शुक्रवार

२०७८, बैशाख ३१ गते शुक्रवार

ग्रिनभ्याली एकेडेमीको अन्तिम दिन

ग्रिनभ्याली एकेडेमीको अन्तिम दिन

  • बैशाख १८, २०७८ शनिवार ०९:२१ बजे
  • 1.2K
    SHARES
  • ग्रिनभ्याली एकेडेमीको अन्तिम दिन

    जीवनमा ससाना कुराको ठूलो महत्त्व हुँदो रहेछ । कुनै सन्दर्भमा खिचिएका तस्बिर दुई दशकपछि फर्किएर हेर्दा भावुक बनाउँदा रहेछन् । धेरै यादहरुको लहरो भेट्टाउँदा रहेछन् । भावनात्मक सम्बन्धहरु बिउँझाउँदा रहेछन् ।

    म इलाम क्याम्पसको विद्यार्थी थिएँ । विद्यार्थी छँदै नजिकैको ग्रिनभ्याली एकेडेमी स्कुलमा पढाउन थालेँ । मैले घरको आर्थिक अवस्थाका कारण पूर्णकालीन विद्यार्थी भएर शिक्षालाई निरन्तरता दिन पाइनँ । 

    त्यसरी शिक्षा लिन नपाए पनि शिक्षा दान गर्ने पेसा अपनाएँ । बेलैमा जिम्मेवार पेसाको यात्रा तय गरेँ । मग्रिनभ्याली पढाउन जाँदा त्यो विद्यालय जम्मा छ कक्षासम्म सञ्चालित थियो । त्यो विस्तारै मकार्यरत छँदै विकास भएर एसएलसी दिने ब्याचमा पुग्यो । 

    मैले मूलतः नेपाली विषयका साथै सामाजिक शिक्षा र संस्कृत पनि पढाएँ । त्यो स्कुलको निरन्तर विकास भइरहेकै बेला मेरो काठमाडौँ हिँड्ने दिन भयो । मलाई सुरुमा त प्रिन्सिपल र सञ्चालकहरुले केही समय काठमाडौँ नजान भनेका थिए । मलाई भने काठमाडौँमै पढ्ने तीव्र इच्छा थियो । उनीहरुले पनि मेरो इच्छा बुझिदिए । 

    मेरो इच्छाअनुसार मैले पढाउनु पर्ने सबै पाठ फागुन लाग्दा सकिसकेको थिएँ । त्यस शैक्षिक सत्रमा अर्को शिक्षक खोज्नु नपरोस् भन्नेमा उनीहरु सचेत थिए ।  मेरो स्नातकोत्तरको पढाइ धेरै नछुटोस् भन्नेमा म सचेत थिएँ । मेरो अनुरोध र राजिनामा अनुसार नै मैले ग्रीनभ्याली छोड्ने भएँ । 

    २०६९ फागुन ५ गते स्कुलले मलाई बिदाइ कार्यक्रमको आयोजना गर्यो । निजी स्कुलले शिक्षक बिदाइ गर्नु अलि नौलो कुरा थियो । मैले पछि पनि धेरै स्कुलमा पढाएँ । सबै स्कुलमा व्यापारिक उद्देश्यमूल देखियो । 

    शिक्षाको गुणस्तरभन्दा पनि कसले कम पैसामा काम गर्नेलाई महत्वदिने प्रवृत्ति पाएँ । यसका विपरीत त्यसबेला ग्रीनभ्यालीमा इलाम क्याम्पसमा प्राध्यापनरत सरहरु पनि पढाउँथे । विनोद सापकोटा, टीका फुयाँल सरहरु क्याम्पसबाट समय मिलाएर आएर पढाउँथे । विज्ञान विषय राम्रो बनाउन आदर्श उमाविका विज्ञान शिक्षकहरु पनि झिकाइएको थियो । 

    मत्यहाँ रहुन्जेल तीनजना शिक्षकहरु अलि फरक ढङ्गले थाहै नपाई गए । दुईजना शिक्षक अर्को स्कुलमा सरे । अरु कोही शिक्षक बिदा भएर गएको थाहा थिएन ।   सम्भवतः विना स्वार्थ औपचारिक बिदा मागेर हिँड्ने शिक्षक मै थिएँ । त्यसैले पनि होला विद्यालयले मेरोे भव्यबिदाइ गर्यो ।
     
    बिदाइमा मलाई एउटा शुभेच्छा पत्र दिइएको थियो । त्यसमा मलाई उच्च शिक्षाको कामना गरिएको थियो । केही त्यहाँ वस्ता पुर्याएका योगदानको अङ्कन थियो ।  एउटा उपहार र्यापिङ गरेर दिइएको थियो । पछिखोलेर हेर्दा त्यहाँ नेपाली बृहत् शब्दकोश रहेछ । मसँग दुईवटा ठूलाठूला शब्दकोश भएका थिए । 

    आफूले किनेको कोही शुभचिन्तकलाई उपहार दिएँ । ग्रिनभ्यालीले दिएको आफूसँगै राखेँ । अहिले पनि साथमै छ ।  विद्यार्थी र शिक्षक प्रतिनिधिकातर्फबाट पुष्पगुच्छा दिइएको थियो । केही साथीले कलम र डायरी दिएका थिए । 

    केही विद्यार्थीले वेस्ट विसेस लेखेर सादा कागजका पाता कोटका गोजीमा हाली दिएका थिए । ती कागजका टुक्रा र त्यो पुष्पगुच्छा मैले प्रेमपूर्वक काठमाडौँको डेरासम्म लिएर आएको थिएँ । त्यस दिन विद्यार्थीलाई रमेश सरको बिदा हुँदैछ भनेर दुई पिरियडको समय लगाएर मेरो बिदाई गरिएको थियो । 

    लाग्छ, त्यस कार्यक्रममा सर, मिसहरुले बोलेका कुराले र दिएका आशीर्वाद र कामनाले अहिले पनिमलाई अगाडि बढाइरहेका छन् । विद्यार्थीका शुभेच्छा र कामनाले मेरा अगाडिका बाटा चौडा बनिरहेका छन् । यहाँ रहेका तस्बिरमध्ये एउटामा मलाई विद्यार्थीका तर्फबाट कक्षा ५ मा पढ्ने शिल्पाश्रेष्ठ पुष्पगुच्छाबाट बिदाइ गर्दैछिन् । 

    subhecchu ramesh..jpg

    एउटा तस्बिरमा म बैठक हलको कुनामा छु । यहाँ म त्यस विद्यालयका सहकर्मी साथीहरुसँग अन्तिम पटक चिया, खाजा खाँदैछु ।

    khajaschool..jpg

    अर्को तस्बिर विद्यालयका सबै स्टाफहरुसँगको सामूहिक तस्बिर हो । पछाडि देखिएको ओम शान्तिको भवन विद्यालयको आँगनबाट समेटिएको पृष्ठभूमि मात्र हो ।

    school..jpg

    हामी विद्यालयको पश्चिम पट्टिको टहरो अगाडि उभिएका थियौँ । अर्को तस्बिरमा म विद्यालयका तर्फबाट दिइएको उपहार ग्रहण गर्दैछु । 

    ramesh..jpg

    अर्को तस्बिरमा प्रिन्सिपल राजन माइकल गुरुङ मन्तव्य राख्दैछन् । अर्को तस्बिरमा म बोल्दैछु भने अर्को तस्बिरमा प्रिन्सिपल गुरुङ मलाई खादा लगाएर र शुभेच्छापत्र दिएर बिदाइ गर्दैछन् । 

    ramesh1..jpg

    अर्को तस्बिरमा म विद्यार्थीसँग बिदा माग्दैछु । यी तस्बिरको पृष्ठभूमिमा भने विद्यालयको बोर्ड पनि देखिएको छ ।

    greenvally..jpg
     
    त्यसबेला अहिले जस्तो हातहातमा मोबाइल थिएनन् । क्यामरा पनि सबैसँग हुँदैन थियो । विद्यालयसँग अफिसियल क्यामेरा पनि थिएन । यो फोटोमा मैले क्यामेरा भिरिराखेको देखिन्छ । 

    कार्यक्रममा पनि कभर भिरिरहेका आधारमा त्यसबेला क्यामराको महत्त्व कति थियो भन्ने बुझिन्छ । यी सबै फोटोहरु प्रकाशजीले खिच्नुभएको थियो । मैले त्यही स्कुलको कमाइले किनेको सस्तो खालको क्यामेराबाट खिचिएका हुन् । 

    ramesh subhecchu..jpg

    क्यामराको क्वालिटी र लाइट नमिलेका कारण फोटोहरु त्यति सफा आउन सकेका छैनन् । यी तस्बिरहरु सफा नभए पनि मलाई बिदा गर्ने मनहरु सफा थिए । 

    लाग्छ, ती विद्यार्थीको माया र कामनाले आज म यहाँ  छु । त्यस दिन विद्यार्थी र शिक्षकका आँखामा देखिएका आँसुले छोडेको आत्मियताको रुणानुबन्धले नै हो सायद शिक्षा क्षेत्रभन्दा अन्तकतै जान नसकेको । 

    त्यहाँ बितेका आधादशक समयको हार्दिक माया उत्तिकै लागेर आइरहेको छ ।ग्रिनभ्याली इलामको नामी विद्यालय थियो । त्यस विद्यालयमा नेपालका र भारतका शिक्षकहरु सराबरी थियौँ । 

    केही भुटानी साथीहरु थिए । उनीहरु आफ्नो वास्तविक परिचय खुलाउँदैनथे । उनका आफ्नै कथाव्यथा थिए । शरणार्थी शिविरसँग पनि सम्पर्क नटुटाई काम गर्नु पथ्र्यो । मलाई ती कथाबारे बढी चासो थियो । एक्लै भएका बेला कोठामा भेटेका बेला भने उनीहरु आफ्ना कथाहरु नलुकाई सुनाउँथे ।

    दार्जिलिङ र सिक्किमका साथीहरुको बोली सुन्न खुब प्रिय लाग्थ्यो । उनीहरुको अङ्ग्रेजी भाषा राम्रो भएकाले विद्यालयमा लोकप्रिय पनि थिए । विद्यालयका प्रिन्सिपल राजन माइकल गुरुङ कालेम्पोङका बौद्धिक व्यक्ति थिए । उनका बुबा साहित्यकार एवम् बौद्धिक व्यक्तित्व भएकाले गुरुङ साहित्य र कलाप्रेमी थिए । 

    उनले मेरो साहित्यिक यात्रालाई नजिकबाट बुझ्न सक्थे । तारा वैद्य, जयावैद्य, मुक्ति बराल, हरि निरौला,शारदा पराजुली, हरि पराजुली, गुरु पौडेल, मीना गुरुङ, राधा पराजुली, गोपाल रिजाल आदिले बिदाईका लागि देखिएको सक्रियता आज पनि म झलझली सम्झिरहेको छु । 

    ramesh subhecchu..jpg

    गार्डदाइ र परिचर दाइको माया पनि उसरी नै लागिरहेको छ । कपडा धुने र सरसफाइ गर्ने दिदीहरु पनि उत्तिकै आत्मीय स्मृतिमा छन् । त्यहाँका सबै स्टाफको नाम अट्ने अर्को छुट्टै संस्मरण लेखिएकाले यहाँ उल्लेख गरिएन । हामी एकअर्कामा ज्यादै निकट थियौँ । 

    विशेष सीमाना पारिका साथीलाई म नेपालीका प्राविधिक शब्दहरु सिकाउँथेँ । उनीहरु मलाई अङ्ग्रेजी र हिन्दी सिकाउँथे । उनीहरुसँगको सम्पर्कले म सीमापारिका विषयवस्तु र समाज एवम् संस्कृतिबारे थुप्रै जानकार बनेको थिएँ ।
     
    त्यस विद्यालयको वातावरणले मलाई बहुमुखी ज्ञान दियो । सामाजिक शिक्षाको शिक्षक हुँदा म समाज सचेत बनेँ ।  त्यसबेला सामाजिक र अङ्ग्रेजी भाषामा पढाउने हुँदा अङ्ग्रेजी बोल्ने क्षमता पनि निकै राम्रो बनाएँ । 

    कक्षा छ र सातको संस्कृत पढाउँदा त्यस भाषाको विकासमा पनि सघाउ पुग्यो । सबैभन्दा धेरै मलाई त्यस संस्थाले कार्यालयीय व्यवहार गर्न सघायो ।

    जागिरे जीवनको अभ्यास गर्न सिकायो । साथीहरुबाहेक स्टाफसँग गर्ने व्यवहार सिकायो । इलामभरिका कार्यालय प्रमुख, क्याम्पसका प्राध्यापक, नेता, ठूला व्यापारी, समाजसेवी आदिका छोराछोरी पढ्ने भएकाले इलामेली समाजमा सामाजिक प्रतिष्ठा बढायो । 

    त्यस विद्यालयले सिकाएको कुरा आज आफूले काम गरेका संस्थामा जाँदा पनि सम्झि रहन्छु । त्यस विद्यालयले दिएको तलब सामान्य थियो होला । मसँग सिक्ने विद्यार्थीले मेरो पहिलो-पहिलो अनुभवबाट धेरै पाएनन् होला । 

    मैले भने धेरै कुरा सिकेर आएँ । आज पनि त्यहाँका विद्यार्थी सम्पर्कमा छन् । अभिभावक सम्पर्कमा छन् । सबै स्टाफ सम्पर्कमा छन् । प्रिन्सिपल, अध्यक्ष, निर्देशक सबैसँग सम्पर्क र आत्मिक सम्बन्ध छ । त्यसै विद्यालयले मलाई शिक्षण पेसामा बढी जिम्मेवार पेसा हो भन्ने सिकाएको थियो । 

    आज करिब दुई दशकपछि त्यस विद्यालयको बिदाईको दिन सम्झिएर निकै गम्भीर भएको छु । भावुक भएको छु । ती विद्यार्थी, सहकर्मी र विद्यालय परिवारको आरोग्य कामना गरिरहेको छु । विद्यालयको थप सफलताको कामना गरिरहेको छु । 

  • सम्बन्धित विषय:

  • # रमेश शुभेच्छु

  • सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology