Logo

२०८३, कार्तिक २३ गते आइतवार

२०८३, कार्तिक २३ गते आइतवार

बाढीका कारण गाईघाटका अधिकांश पसल डुबानमा

बाढीका कारण गाईघाटका अधिकांश पसल डुबानमा

  • 436
    SHARES
  • बाढीका कारण गाईघाटका अधिकांश पसल डुबानमा

    प्रतिकात्मक तस्बिर

    काठमाडौं । वर्षाका कारण उदयपुर जिल्लाको सदरमुकामस्थित गाईघाट बजार  क्षेत्रका अधिकांश घर तथा पसल डुबानमा परेका छन् ।

    निरन्तर वर्षाका कारण बजार क्षेत्र र घर डुबानमा परेपछि त्यहाँका पसलमा बिक्रीका लागि राखिएका विभिन्न उपभोग्य बस्तु सबै नष्ट भएर ५० लाखभन्दा बढीको सामान क्षति भएको स्थानीय व्यापारीले बताएका छन् ।

    गाईघाट बजार असारी लाइन क्षेत्रका एक पसल सञ्चालक तीलक खड्काका अनुसार शुक्रबार साँझदेखि परेको भीषण वर्षाको कारण गएराति आफूहरुको टोलसहित पसल र घर डुबानमा परेको र आफ्नो पसल डुब्दा दशौँ लाखको उपभोग्य बस्तु नष्ट  भएको छ ।

    मुख्य गरेर गाईघाट  बजार क्षेत्रको शान्तिनगर टोल, ज्योति टोल, प्रतिभाटोल र मुख्य बजार क्षेत्रको पुरानो बसपार्क क्षेत्र तथा पिलचौक र सङ्गमटोलका अधिकांश घर र पसल डुबानमा पर्दा  पसलमा राखिएका अधिकांश उपभोग्य बस्तु नष्ट हुन पुगेको अर्का पसल सञ्चालक दीपक कार्कीले बताए ।

    अन्य स्थानीयवासीको पनि घरभित्र पानी प्रवेश गर्दा घरका अधिकांश सामग्री पानीले बिगारेको उनीहरुको गुनसो  थियो ।

    त्रियुगा उद्योग वाणिज्य सङ्घका अध्यक्ष रमेश विकले  शुक्रबार बेलुकीदेखि आएको निरन्तर भीषण बर्षाका कारण बजार क्षेत्रका घर र पसलभित्र पानी प्रवेश गरेर डुबानमा परेकाले  धेरै पसलका सामग्री नष्ट हुन पुगेको र आफूले बिहानैदेखि अनुगमन र स्थलगत अध्ययन सुरु गरेको जानकारी दिए ।

    क्षतिको विवरण संकलन गर्ने कार्य भइरहेको र धेरै क्षति भएका कारण सबै आँकडा संकलन नभएसम्म क्षतिको यथार्त विवरण आउन ढिलाई हुने उनको भनाइ थियो  ।

    नगरपालिकाका प्रमुख र उपप्रमुख  वसन्त बस्नेत र महेस्वरी राईले पनि बजार डुबानमा परेपछि गाईघाट बजारको डुबानको क्षतिको बारेमा आफूहरुले अध्ययन सुरु गरेको उपप्रमुख  राईले बताए । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij