वेबटिभी खबर
काठमाडौं । कोरोना भाइरस संक्रमणको ग्राफ उकालो लागेको छ । भारतमा संक्रमण बढ्नु तथा नेपालमा नै संक्रमण छैन जस्तो गरि स्वास्थ्यका मापदण्ड पालना नगर्नुजस्ता कारणले संक्रमण बढेको पाइएको हो ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा.समीरकुमार अधिकारीले भारतमा संक्रमण बढेसँगै नेपालमा पनि संक्रमण बढेको बताए । उनका अनुसार ०.५ प्रतिशतसम्म झरेको संक्रमणको दर अहिले ६ प्रतिशत पुगेको छ ।
उनले भने, ‘भारतमा जुन हिसाबले संक्रमण बढेको थियो । सोहीअनुसार नेपालमा अहिले संक्रमण धेरै नै बढेको हुनुपर्ने हो । तर नेपालमा भारतमा बढेको जस्तो भने बढेको छैन ।’
नेपालमा कोरोना भाइरसको संक्रमण सबैभन्दा कम चार जनामा देखिएको थियो । संक्रमण बढ्दा सक्रिय संक्रमित पनि बढिरहेका छन् । अहिले २९७ जना सक्रिय संक्रमित रहेका छन् ।
असार १ गते तीन हजार ९०५ जनामा परीक्षण गराउँदा २५ जनामा संक्रमण भएकामा हिजो असार १७ गते दुई हजार ८१४ जनामा परीक्षण गर्दा दोब्बरमा संक्रमण देखिएको छ । असार १७ गते ५० जनामा संक्रमण देखिएको छ ।
असार १६ गते ५५ जना, असार १५ गते ६२ जना, असार असार १४ गते ४४ जना, असार १३ गते ४१ जना, असार १२ गते २९ जना र असार ११ गते २७ जना संक्रमित रहेका छन् ।
अहिले २९१ जन होम आइसोलेशन, छ जना संस्थागत आइसोलेशन र तीन जना सघन उपचार कक्ष (आइसियु)मा रहेका छन् । इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका निर्देशक डा.चुमनलाल दासले भारतमा संक्रमण बढेका कारणले नेपालमा पनि बढेको जानकारी दिए ।
भारतबाट नेपालमा आउने मानिसमा संक्रमण देखिएको उनको भनाइ छ । उनले भने, ‘संक्रमण बढे पनि तर ग्राफमा ठूलो नदेखिएको हो । तर हामीले जनस्वास्थ्यमा मापदण्ड पालना गर्नुपर्दछ ।’
उनले अहिले देखिएको संक्रमणमा ओमिक्रोन भेरियन्ट वा प्रजातिको हो वा होइन भन्नेबारेमा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा अणु वाङ्शिक (जीन सिक्वेन्सिङं) अध्ययन भइरहेको बताए ।
अहिले देखिएका संक्रमणमा ओमिक्रोन भेरियन्ट नयाँ हो वा होइन भनेर हामीले जीन सिक्वेन्सिङ गरिरहेका छौँ । एक दुई दिनमा रिपोर्ट आएपछि थाहा हुन्छ । नेपालमा अहिलेसम्म ओमिक्रोनको प्रजातिको भेरियन्ट रहेको छ ।
उनका अनुसार अहिलेका बिरामीमा पहिलेका सङ्क्रमतिलाई जस्तै सामान्य लक्षण रहेको छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij