Logo

२०८३, कार्तिक २३ गते आइतवार

२०८३, कार्तिक २३ गते आइतवार

वडा कार्यालय, विद्यालयदेखि बस्ती पहिराेको उच्च जोखिममा

वडा कार्यालय, विद्यालयदेखि बस्ती पहिराेको उच्च जोखिममा

  • 414
    SHARES
  • वडा कार्यालय, विद्यालयदेखि बस्ती पहिराेको उच्च जोखिममा

    लमजुङ । लमजुङमा बाढीपहिरोले जिल्लाका विभिन्न स्थानका वडा कार्यालय, विद्यालयदेखि बस्तीसमेत जोखिममा परेको छ । दोर्दी गाउँपालिका-७ को वडा कार्यालय, महेन्द्र ज्योति प्राथमिक विद्यालयको भवन र फलेनी बस्ती जोखिममा परेको हो ।

    गत जेठ २३ गतेयता निरन्तर वर्षा हुँदा थप पहिरो जान थालेसँगै जोखिम बढेको वडाध्यक्ष रिसमाया गुरुङले बताए । ‘उपल्लो माझखर्कमा रहेको वडा कार्यालय भवनलाई पहिरोले घेरेको छ । उक्त भवनमाथि सडकबाट पहिरो खस्दा वडाको भित्तासम्म आइपुगेको छ । भवनको पछाडिको भागसम्म ढुंगामुढा र माटो थुप्रिएको छ भने वर्षा भइरहेमा भवन नै बगाउने स्थितिमा पुगेको छ’, उनले भने ।

    ‘वर्षा भएपछि पहिरोले जताततै लेदो माटो थुपारेको र लेदो फाल्दै कार्यालय सञ्चालन गर्दै आइएको छ ।’ वडाध्यक्ष गुरुङका अनुसार असार लागेपछि आजसम्म आइपुग्दा पानी पर्ने क्रम बढ्दै आएको र पहिरा पनि बढ्न थालेकाले सेवा प्रवाहसमेत डराइडराइ दिने गरिएको वडाका कर्मचारीहरूले बताए ।

    पहिरोले नजिकैको महेन्द्र ज्योति प्राविको भवनलाई पनि जोखिममा पारेको छ । उक्त विद्यालयको कक्षाकोठासम्म भल पस्ने गरेको वडा कार्यालयले जनाएको छ । लप्सीबोट जाने सडकबाट पहिरो झरिरहेको छ भने केही दिनअघि गएको पहिरोले विद्यालयको तारजाली पुरेको छ ।

    वडाध्यक्ष गुरुङले भने, ‘पहिरा निरन्तर गइरहन्छ, लेदो वडा कार्यालयभित्र  छिर्छ सर्फा गर्दै काम गछौं’, वडा कार्यालयको करिब २० मिटर माथि सडकबाट आएको पहिरो रोक्नलाई पहिलो पटक यही असार ५ गते गाउँपालिकाबाट २ लाख बजेट ल्याएर तारजालीसहित पर्खाल उठाइएको थियो तर पटक-पटक आएको पहिराेले थप क्षति पुर्‍याउनाका साथै अन्य दुईस्थानका सडक बगाएपछि आपत्कालिन परिस्थितिमा दुईघण्टासम्म हिंडेर छोटे खोलासम्म पुग्नुपर्ने बाध्यता भएको उनको भनाइ छ ।

    पहिरो गएयता कुलो सफा गर्ने क्रममा सर्पले टोकेर दुई जना घाइते भइसकेका छन् । त्यस्तै वडा कार्यालयभन्दा करिब २० मिटर परको निर्माणाधीन वडाको स्वास्थ्य चौकी भवन पनि आएको पहिरोले आधा पुरेको छ ।

    बस्तीमा पनि १० घर पहिराले जोखिममा पारेको छ । यही असार १ गतेको पहिरो र त्यसपछि  बेला–बेलामा खसेको पहिराले कोषलाल गुरुङ, प्रेम गुरुङलगायत अन्य व्यक्तिको घर जोखिममा पुर्‍याएको वडासदस्य लालबहादुर तामाङले बताए ।

    उनले भने, ‘जोखिममा रहेका स्थानीयवासी दिउँसोभन्दा रातको समयमा पानी पर्दा डराइडराइ सुत्दै आएका छन् ।’

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij