वेबटिभी खबर
तनहुँ । जिल्लाको भिमाद नगरपालिका-५ र ६ का एक सयभन्दा बढी घरधुरी नदी कटानका उच्च जोखिममा रहेका छन् । भिमाद नगरपालिका-६ कुमार चोकमा सेती नदीका कारण करिब ८५ र भिमाद-५ अन्टेन खोलानजिक कपरादी दलित बस्तीका २२ घरधुरी जोखिममा परेका हुन् ।
वर्षायाममा खोला र नदीमा आएको बाढीले बस्ती क्षेत्र कटान गर्न थालेपछि जोखिम बढेको हो । अघिल्ला वर्षमा खोला र नदीमा आएको बाढीले कटान गरेको स्थानमा संरक्षण हुन नसक्दा पुनः वर्षायाम सुरु भएसँगै बस्ती क्षेत्रमा जोखिम बढ्न थालेको छ ।
सेती नदीले कटान गरेका कारण भिमाद-६ कुमार चोकका धेरै बासिन्दा विस्थापित हुने स्थितिमा पुगेका छन् । केही मानिस दिउँसो त्यही बसेर व्यापार गर्ने र साँझपख अन्यत्रै सुरक्षित स्थानमा गएर बस्दै आएको नगरपालिकाकी उपप्रमुख शारदा खनालले जानकारी दिए ।
नगरपालिकाको बजेटले मात्रै सम्बोधन गर्न नसकिने भएकोले नदी कटान नियन्त्रणका लागि आवश्यक पहल भइरहेको उनले बताए । सेती नदीको कटानका कारण जोखिम बनेको बस्ती जोगाउनको लागि डीपीआर गरिए पनि संरक्षण हुन सकेको छैन ।
उपप्रमुख खनालले भने, ‘बस्ती जोगाउन गण्डकी प्रदेश र संघीय सरकारसँग पनि समन्वय गरी अघि बढिरहेका छौं ।’ यस्तै भीमाद-५ का दलित बस्तीका करिब २२ घरधुरी जोगाउनका लागि अन्टेन खोलाले कटान गरेको स्थानमा पर्खाल लगाउने कार्य सुरु भइसकेको उनले जानकारी दिए ।
सेती नदीले कटान गरेको क्षेत्रमा नदीलाई छेकेर मर्निङ पार्क बनाउने योजना रहेको नगरपालिका कार्यालयले जनाएको छ । हाल नदी घुमेको उक्त स्थानमा चेक ड्याम निर्माण गरी बस्ती क्षेत्रलाई जोगाउने प्रयास भइरहेको बताइएको छ ।
बस्ती क्षेत्र संरक्षणका लागि जमिन तलबाट कंक्रिट ढलान निर्माण गर्नुपर्ने देखिएको र यसका लागि ठूलै बजेटको आवश्यक पर्ने नगरप्रमुख दधीराज सुवेदीले जानकारी दिए ।
नदीले भत्काउन नसक्ने गरी बस्ती संरक्षण गर्नुपर्ने देखिएकाले त्यसका लागि नगरपालिका सक्रियरूपमा लागि रहेको उनको भनाइ छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij